+

कसैलाई चट्याङ लाग्यो, तुरुन्तै के गर्ने ?

२०८१ जेठ  ६ गते ७:५८ २०८१ जेठ ६ गते ७:५८
कसैलाई चट्याङ लाग्यो, तुरुन्तै के गर्ने ?

प्रि-मनसुनसँगै नेपालमा चट्याङका घटना बढेका छन् । राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणका अनुसार विगत ११ वर्षको तथ्यांकलाई हेर्दा नेपालमा प्रत्येक वर्ष सरदरमा चट्याङबाट मृत्यु हुनेको संख्या १०० हाराहारीमा छ ।

चट्याङ पर्दा के कस्तो सावधानी अपनाउने ? चट्याङले असर पारे के गर्न सकिन्छ भन्ने हेक्का नहुँदा चट्याङका कारणले धेरैले ज्यान गुमाउने गरेका छन् भने थुप्रै घाइते हुने गरेका छन् ।

किन बिजुली चम्किन्छ ?

मनसुनमा चट्याङ पर्नु प्राकृतिक मौसम चक्र हो । चट्याङ एक प्रकारको ‘इलेक्ट्रिक चार्ज’ हो । बादलका विपरीत दिशा एकापसमा जुधेपछि त्यहाँ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट ठूलो आगोको मुस्लो निस्किन्छ । यसैलाई ‘बिजुली चम्केको’ भनिन्छ ।

यसरी दुई बादल जुध्दा ठूलो आवाज निस्किन्छ । आकाशमा बादलहरूको हलचल र एकापसमा टकराव र घर्षणले एक किसिमको विद्युतीय करेन्ट उत्पन्न हुन्छ । यसरी उत्पन्न भएको करेन्टलाई वैज्ञानिक भाषामा विद्युतीय अणु प्रोटन भनिन्छ । उक्त प्रोटन अणुहरू पृथ्वीमा भएको न्युटल अणु प्राप्त गर्नका लागि जमिनतर्फ चुम्बकीय गतिले प्रहार हुन्छ ।

चट्याङले पार्ने असर

चट्याङ पर्दा टाउकोबाट करेन्ट प्रवेश गर्ने र खुट्टाबाट बाहिरिने हुनाले मानिसको टाउको र खुट्टा जल्न सक्ने, हड्डी भाँच्चिने, सुन्ने शक्ति वा हेर्ने शक्तिमा समस्या आउने हुनसक्छ । कसैमा भने मुटुको चालमा पनि अनियमितता आउन सक्छ ।

चट्याङबाट हुने आधाजसो मृत्युको घटना बिजुली चम्किन बन्द भइसकेको अवस्थामा हुने गर्छ । त्यसैले बिजुली चम्केको आधा घण्टासम्म पर्खनुपर्छ ।

प्राय: खेत, खुल्ला चौर, अग्लो ठाँउ, पोखरी, खोला, भीरपाखामा चट्याङको असर बढी हुन्छ । त्यसकारण बिजुलीको चम्किएको संकेत पाउनेबित्तिकै त्यस्ता स्थलबाट टाढा बस्नुपर्छ ।

चट्याङले असर गरेमा के गर्ने ?

– यदि आफ्नो वरपर नजिकै कसैमाथि चट्याङ परेको देखिहालेमा सम्भव भएसम्म तत्काल पहिले नजिकको अस्पताल लैजान एम्बुलेन्स बोलाउनुपर्छ ।

– एम्बुलेन्स आउने समयसम्म प्राथमिक उपचार गर्नुपर्छ ।

– कतिपयले पीडितलाई छुँदा करेन्ट लाग्ने भयले नछोइबस्न सक्छन्, जुन गलत हो । चट्याङ लागेका मानिसमा विद्युतीय करेन्ट बाँकी नहुने हुँदा उनीहरुलाई छुनु सुरक्षित नै हुन्छ ।

– चिकित्सक नआउने समयसम्म पीडितको अवस्था अवलोकन गरी चट्याङ लागेका व्यक्ति बेहोसीको अवस्थामा भए सास चलिरहेको छ कि छैन हेर्नुपर्छ । चट्याङ लागेको व्यक्तिको नाक र मुख छेउमा आफ्नो दुई औंला वा कान राखेर हावा आइरहेको छ कि छैन अनुभव गर्न सकिन्छ ।

– मुटुको धड्कनको गति पनि छामेर जाँच गर्न सकिन्छ ।

– सास फेरेको छैन जस्तो लाग्छ भने नाडी १० सेकेण्ड जति छामेर हेर्नुपर्छ । छाम्दा नाडी र गर्दनमा दुई औंला बलियोसँग राखी स्थिर भएर धड्कन अनुभव गर्नुपर्छ । यसले शरीरमा रक्तसञ्चार भइरहेको थाहा हुन्छ ।

– नाडी छाम्दा भेटिएन भने तुरुन्त सीपीआर दिनुपर्छ ।

– सीपीआर गर्न छातीको केन्द्रमा दुवै हातले बल लगाएर धक्का दिनुपर्छ । एक मिनेटमा लगभग १०० देखि १२० पटक धक्का दिनुपर्छ । यसरी धक्का दिंदा फोक्सोमा भरिएको पानी पनि बाहिर आउन सक्छ । यो बीचमा एम्बुलेन्स आइपुगेमा पनि सीपीआर जारी राख्नुपर्छ ।

– प्राय: चट्याङ पर्दा टाउकोबाट करेन्ट प्रवेश गर्ने र खुट्टाबाट बाहिरिने हुनाले टाउको र खुट्टा जलेको, हड्डी भाँच्चिएको, सुन्ने शक्ति वा हेर्ने शक्ति पनि नभएको हुनसक्छ । त्यसैले यी कुरा जाँच गर्नुपर्छ ।

– सामान्य चोटपटकले रगत बगिरहेको छ भने मलमपट्टी गर्नुपर्छ ।

चट्याङबाट कसरी बच्ने ?

– आकाशमा बिजुली चम्किनेबित्तिकै चट्याङ पर्न लाग्यो भन्ने बुझ्नुपर्छ, त्यसबखत थचक्क बस्नुपर्छ ।

– हातलाई घुँडामा टेकाएर टाउको निहुराएर होचो ठाँउको भुईंसतहमा बस्नु राम्रो हुन्छ ।

– यो समयमा छाता खोल्ने वा मोबाइल फोन प्रयोग गर्ने गर्नुहुँदैन । किनभने यी वस्तुमा भएका धातुले करेन्टलाई शरीरतर्फ तान्न मद्दत गर्छ ।

– चट्याङ पर्दा वा बादलबाट मेघ गर्जनको आवाज आउँदा घरभित्र हुनुहुन्छ भने विद्युतीय उपकरणबाट टाढै रहनुपर्छ ।

– यस्तो समयमा खेतबारीमा काम गर्न निस्किनुहुँदैन । खेतमै भएको अवस्थामा नजिकै रहेको पाटी वा छाप्रोमा बस्न सकिन्छ ।

– झ्याल र ढोका बन्द गर्नुपर्छ । बार्दली र कौसीमा बस्नु हुँदैन । यसबाहेक बिजुलीसँग जोडिएको वस्तु छुनु उपयुक्त हुँदैन । धातुबाट बनेका पाइप, धारा र हात धुने बेसिनलाई सम्भव भए केही समय टाढा रहनुपर्छ ।

– चट्याङ परेको बेला रुखमुनि, अग्लो भवन वा खुल्ला ठाँउमा उभिनुहुँदैन । अग्लो ठाँउमा बस्दा समूहमा उभिनुको सट्टा अलग्गै उभिनुपर्छ । सबैभन्दा राम्रो भनेको नजिकैको घरमा आश्रय लिनु हो ।

– यात्राको क्रममा चट्याङ परेमा गाडीमै बस्नुपर्छ । बाइकमा भए तुरुन्त रोकेर घर वा पार्टी भएको स्थानमा बस्न सकिन्छ ।

– बिजुली वा टेलिफोनको पोल र र कुनै पनि मेसिनबाट टाढा रहनुपर्छ । यदि पानीमुनि वा डुंगामा भएको अवस्था छ भने तुरुन्तै बाहिर निस्कनुपर्छ ।

चट्याङ डा. विमल चालिसे प्राथमिक उपचार
डा. विमल चालिसे
लेखक
डा. विमल चालिसे
प्रमुख कन्सल्टेन्ट फिजिसियन

डा. चालिसे काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन हुन् । इन्टरन मेडिसिनमा एमडीमा गरेका उनको नेपाल मेडिकल दर्ता नम्बर २६०९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय