२८ वैशाख, काठमाडौं । विवेकशील साझा पार्टीको बखुन्डोलस्थित केन्द्रीय कार्यालयमा अहिले पनि केही प्रहरी स्ट्यान्डबाई छन् ।
पार्टी कार्यकर्ताले एउटा ब्यानर कार्यालय अगाडि टाँग्ने र प्रहरीले त्यसलाई निकाल्ने क्रम जारी छ ।
कार्यालयमा केही दिनअघिदेखि ‘मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएका छैनौं’ लेखिएको कालो पृष्ठभूमिको ब्यानर टाँगिएको थियो ।
शुक्रबार दिउँसो २ बजे प्रहरीको एक टोली आएर सीडीओ कार्यालयको आदेश भन्दै उक्त ब्यानर च्यातचुत पारेर लग्यो ।
त्यतिबेला कार्यालयमा विवेकशीलको केन्द्रीय कमिटी वैठक चलिरहेको थियो । प्रहरीको हस्तक्षेपपछि वैठक स्थगित गरेर नेताहरु जिल्ला जिल्ला प्रशासन कार्यालय ललितपुरमा डेलिगेसन गए ।
तर, उनीहरुलाई धेरैबेरसम्म भित्र पस्न दिइएन । बल्लबल्ल भित्र पसे पनि प्रमुख जिल्ला अधिकारी कार्यालयमा थिएनन् । त्यसैले उनीहरुले सहायक सीडीओसँग कुरा गरे । उनीहरुले प्रहरीले लगेको व्यानर फिर्ता मागे ।
तर, सहायक सीडीओले ‘माथिको आदेशमा’ आफूहरुले ब्यानर हटाउन लगाएको बताएपछि पार्टीका नेताहरु झनै आक्रोशित बनेका छन् ।
विवेकशीलका अध्यक्ष मिश्रले सामान्य र शिष्ट भाषाको ब्यानर टाँग्न नदिएर सरकारले अधिनायकवादी चरित्र देखाएको बताए ।
यसले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद नांगिएको टिप्पणी गरे । ‘नाकाबन्दीका बेला त्यत्रो अडान लिएका प्रधानमन्त्रीले अहिले नाकाबन्दी शब्दसमेत सुन्न नचाहनुको कारण के हो ?’ उनले प्रश्न गरे ।
त्यतिबेला जनमत आफ्नो पक्षमा ल्याउनका लागि राष्ट्रवादी अडान लिएको र अहिले सत्ता टिकाउनका लागि लम्पसार परेको उनको विश्लेषण छ ।