Comments Add Comment

रविन्द्र मिश्रले आफूविरुद्ध भोट मागेको चिया पसलमा पुगे प्रकाशमान

२८ वैशाख, काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंह शुक्रबार बिहानै नयाँबानेश्वरको एक चिया पसलमा भेटिए । नमस्कार गर्दै प्रकाशमान लक्ष्मी दिदीको चिया पसलमा प्रवेश गर्दा चिया पिउँदै गफमा मस्त भएका कतिपय अचम्मित परेर हेरिरहे, कतिपयले नमस्कार फर्काए ।

यो त्यही चिया पसल हो जहाँबाट प्रतिनिधिसभामा विवेकशिल साझा पार्टीका उम्मेदवार रविन्द्र मिश्रले प्रकाशमानविरुद्ध आफ्नो चुनावी अभियान सुरु गरेका थिए । काठमाडौं क्षेत्रनम्बर १ मा मिश्रले सिंहलाई कडा टक्कर दिएका थिए ।

नयाँबानेश्वरमा लक्ष्मी दिदीको चिया पसल चर्चित छ । यहाँ नेतादेखि सर्वसाधारणसम्म लक्ष्मी दिदीले बनाएको चियाको चुस्की लिन पुग्छन् । शुक्रबार बिहान करिब साढे सात बजे प्रकाशमान पनि पुग्दा पूर्वमन्त्रीहरु राजेन्द्र खरेल, होमनाथ दाहाललगायतले चिया पिइरहेका थिए । वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल र पूर्वसचिव खेमराज रेग्मी पनि त्यही चिया पसलभित्र थिए । सुरुमा सन्चो बिसन्चो सोधेर औपचारिकता पूरा गरेपछि सुरु भयो प्रकाशमानसँग राजनीतिक गफगाफ ।

कांग्रेस झन् खस्किने चेतावनी

प्रकाशमान सिंह कांग्रेसका पूर्वमहामन्त्री हुन् । उनी सरकारमा उपप्रधानमन्त्री र संसदमा संसदीय दलको उपनेता पनि बने । त्यसैले चिया पसलमा सहभागीहरुले प्रकाशमानसमक्ष वर्तमान राजनीतिक अवस्थामा कांग्रेसको भूमिकाको आलोचना मात्रै गरेनन् केही सुझावहरु पनि दिए ।

होमनाथ दाहालले भने, ‘आफूआफूमा लडेर कमजोर हुनुभयो तपाईंहरु, यस्तै अवस्था हो भने अहिले दोस्रो भएको कांग्रेस अर्को चुनावमा कहाँ पुग्ने हो थाहा छैन ।’

उनीहरुले प्रतिपक्षको जस्तो भूमिका खेल्न नसकेको भनेर आलोचना गरे । ‘न संसदीय दलको बैठक बस्छ, न समयमा उपयुक्त निर्णय लिन्छ, प्रतिपक्षमा भएको जस्तो पर्फमेन्स कांग्रेसको देखिएन,’ प्रकाशमानसँग कुराकानी गर्नेहरुको साझा भनाइ थियो, ‘सरकारले बाटो बिराउन खोजेमा प्रतिपक्षले सही बाटोमा ल्याउने भएकाले कांग्रेसको भूमिका सशक्त हुनुपर्छ ।’

प्रकाशमानले सही थप्दै कांग्रेसलाई सुधार गर्न आफू क्रियाशील रहेको बताए । उनले भने, ‘बीपी, गणेशमान, किसुनजीको पालाको जस्तै सशक्त कांग्रेस बनाउन हामी क्रियाशील छौं ।’

उनले भने, ‘म आफै कुनै विषयको विज्ञ होइन, त्यसैले तपाईंहरुको सुझाव लिएर अघि बढ्न आजबाट अभियान सुरु गरेको छु । मैले के गर्नुपर्छ, रचनात्मक सुझाव दिनुहोला र आलोचना पनि गर्नुहोला ।’

प्रकाशमान कालो चिया पिएर फर्किए । प्रतिनिधिसभा चुनावमा प्रकाशमानको प्रचार समिति संयोजक बनेका राधेश्याम अधिकारीले पैसा म तिर्छु भनेपछि प्रकाशमान त्यहाँबाट हिँडे ।

आजदेखि हप्ताको दुई दिन फिल्डमा

सार्वजनिक स्थलहरुमै पुगेर जनतासँग प्रत्यक्ष भेटवार्ता गर्ने अभियान सुरु गरिएको र नयाँबानेश्वरको चियापसलबाट त्यसको सुरुआत भएको प्रकाशमान सिंहका सहयोगी यूपी लामिछानेले जानकारी दिए ।

‘सधैं औपचारिक कार्यक्रममा गएर हुँदैन । वौद्धिक वर्गलाई प्रत्यक्ष भेटेर सुझाव लिने र जनताको, मतदातालाई पनि भेटेर उनीहरुका समस्या समाधान गर्न पहल गर्ने उद्देश्यले फिल्डमा जाने अभियान सुरु गरिएको हो,’ लामिछानेले भने ।

उनका अनुसार प्रकाशमानले हप्ताको दुई दिन सोमबार र शुक्रबार यसैगरी सार्वजनिक स्थलमै पुगेर भेटवार्ता गर्ने कार्यक्रमतालिका बनाएका छन् । उनले निर्वाचनको बेलामा जस्तै बिजुलीबजारस्थित सम्पर्क कार्यालयमा पुगेर कार्यकर्ताहरुसँग पनि प्रत्यक्ष भेटघाट गर्ने छन् ।

प्रकाशमानले लक्ष्मी दिदीको चियापसलमा करिब आधा घण्टा बिताएका थिए । उनले स्थानीयको विवादका कारण एभरेष्ट होटल पछाडिको आधा पिच भएको र आधा नभएको बाटोको अवलोकन पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment