+
+

वैद्य माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेल पक्राउ, मोदी फर्किएपछि रिहा

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २९ गते २०:०३
वैद्य माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेल प्रहरीको भ्यानमा । तस्वीर: शुलभ वैद्यको फेसबुक

२९ वैशाख, काठमाडौं । प्रहरीले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेलसहित ५४ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र अरुण तेस्रोको शिलान्यासको विरोध गर्दै रत्नपार्कमा जुलुश प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरी गजुरेलसहितका नेता कार्यकर्ताहरुलाई पक्राउ गरेको नेता परी थापाले जानकारी दिए ।

देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक समेत रहेका गजुरेल, पोलिटव्यूरो सदस्यद्वय कमल चौधरी, पवनमान श्रेष्ठसहित २९ जनालाई रत्नपार्कबाट पक्रेर टेकुमा लगेर राखिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएलगत्तै पक्राउ परेकाहरु सबै जना रिहा भएका छन् ।

यसैबीच पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले वक्तव्य जारी गर्दै विरोध प्रदर्शन गर्ने मौलिक अधिकारलाई कुल्चिएर सरकारले घोर फासीवादी क्रियाकलाप गरेको आरोप लगाएका छन् ।

शनिबार नै रुपन्देहीको बुटवलबाट पार्टी पोलिटव्यूरो सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा ५ नं. प्रदेश संयोजक केवी गुरुङ, कैलालीबाट देशभक्त जनगणतान्त्रिक मोर्चाका ७ नं. प्रदेश संयोजक रामबहादुर केसी र बाँकेको नेपालगन्जबाट जिल्ला सेक्रेटरी अर्जुनसहितका नेता कार्यकर्ताहरु पनि पक्राउ परेका थिए ।

शुक्रबार काठमाडौंको असनस्थित जिल्ला पार्टी कार्यालयबाट केन्द्रीय सदस्यद्वय अमिर महर्जन तथा हरिकृष्ण गजुरेल, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य गोर्की श्रेष्ठसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । शुक्रबार नै अरुण तेस्रो शिलान्यासविरुद्ध अनसनरत अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सचिव तथा काठमाडौंका संयोजक महेश श्रेष्ठसहित ९ जना पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?