Comments Add Comment

छापामा आजः सर्वोच्चको फैसला पनि कीर्ते, गाँजाभाङ खेती गरे अब जेल !

३० वैशाख, काठमाडौं । राजधानीबाट आज प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै वरिपरि घुमेका छन् । पत्रपत्रिकाले २ दिने भ्रमण सकेर मोदी शनिबार नै स्वदेश फर्किए पनि भ्रमणका विविध पाटापक्ष केलाएका छन् ।

नयाँ पत्रिका दैनिकले ‘आए मोदी, गए मोदी’ शीर्षक दिएर भ्रमणको उपलब्धी, पुराना प्रतिबद्धता कार्यान्वयनको अवस्थालगायतको विश्लेषण गरेको छ ।

कान्तिपुरले भ्रमणबाट आत्मीयता बढेको मोदीको भनाइलाई समेटेर मुख्य समाचार बनाएको छ भने नागरिक दैनिकले ‘सबै क्षेत्रमा उच्चस्तरको सहकार्य’ शीर्षक दिएर पहिलो पृष्ठमा खबर छापेको छ । अन्य पत्रिकाजस्तै राजधानीअन्नपूर्णले पनि मोदीको २ दिने भ्रमण समेटेर खबर लेखेको छ ।

यसका अतिरिक्त जलविद्युत्त आयोजना धमाधम निर्माण भइरहे पनि प्रसारण लाइनको निर्माण सुस्त भएको, इन्डियन प्रिमियर लिगको पहिलो खेलमै सन्दीप लामिछानेले विकेट लिएकोलगायत समाचारलाई आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् ।

प्रदेशको राजधानी र नाममा यस्तो छ तयारी

प्रदेश नामाकरण गर्न भइरहेका प्रयासबारे आज नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

समाचारअनुसार नाम र राजधानी टुंगो लगाउन प्रदेश ३ र ४ ले समिति बनाएका छन् । ३ को प्रदेश नाममा बागमती, राजधानी प्रदेश, नेवा ताम्सालिङलगायत चर्चामा छ भने ४ को नाम गण्डकी, हिमालय, गोरखा, मगरात, तमुवान, मुक्तिनाथलगायत राख्न छलफल भइरहेको छ ।

नयाँ पत्रिकाका अनुसार प्रदेश १, २, ५ र ७ अहिलेसम्म औपचारिक छलफलमा समेत जुटेका छैनन् ।

 

गाँजाभाङ खेती गरे पनि जेल

लागुऔषध मानिएका गाँजा, भाङ, धतुरो र चरेस खेती गर्नेलाई जेलसमेत हाल्नेगरी नयाँ नीति तथा योजना ल्याइने भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले लागुऔषध नियन्त्रण गर्न आवश्यक नीति तथा योजना बनाउन मन्त्रालय प्रशासनलाई निर्देशन दिएपछि यसको गृहकार्य थालिएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

सर्वोच्चको फैसला पनि कीर्ते

जेलमा रहेका एक कैदीले आफू मुक्त हुन सर्वोच्च अदालतको नक्कली फैसला गरेको पाइएको छ ।

लागूऔषध मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका सुनिल तामाङले सर्वोच्चबाट हुँदै नभएको फैसला बनाएर कारागार प्रशासनमा पेस गरेको नागरिक दैनिकमा खबर छ ।

सुनिललाई काभ्रे घर भई सामाखुशी बस्ने नानु तामाङ भेट्न गएका थिए ।

उनले सर्वोच्चबाट वैशाख २० मा अवकाश पाइसकेका न्यायाधीशले संयुक्त इजलासबाट फैसला भएको भन्दै फोटोकपी लगेर जेलमा रहेका दाजु सुनिललाई बुझाएका थिए ।

तामाङले आफू एक वर्षअघि नै छुट्न पाउनुपर्ने दाबी गर्दै कारागार प्रशासनमा पत्र बुझाएपछि नक्कली फैसला भएको खुलेको हो ।

तामाङले बुझाएको किर्ते फैसलामा न्यायाधीश प्रेम शर्मा र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले वैशाख २० गते फैसला सुनाएको उल्लेख छ ।

सवारीमा बढी भाडा लिनेमाथि अब कारवाही

लामो समयदेखि यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेजपछि सरकार अब सवारीमा बढी भाडा लिनेमाथि कारवाही गर्न केद्रित भएको छ ।

सार्वजनिक सवारीमा यात्रुसँग बढी भाडा लिने गरेको गुनासो आउन थालेपछि यातायात ब्यवस्था विभागले यस विषयमा अनुगमन गर्न थालेको हो ।

सार्वजनिक सवारीमा यात्रुसँग बढी भाडा लिनेमाथि कडा कारवाही गर्ने विभागले जनाएको आजको राजधानी दैनिकमा खबर छ ।

विभागका प्रवक्ता तुलसीराम अर्यालले सर्वसाधारणसँग बढी भाडा लिनेलाई कडा कारबाही गर्ने बताए ।

अनुगमनका क्रममा क्रमशः १३, १७ र १८ रुपैंयाँ भाडा कायम गरिएको दूरीमा खुद्रा पैसा छैन भन्दै फिर्ता नदिने गरेको पाइएको र त्यस्ता सवारीवालाई तुरुन्तै नियन्त्रणमा लिई कारवाही गर्ने गरेको विभागको भनाइ छ ।

निकुञ्जमा आफूअनुकूलको हाकिम पठाउन प्रचण्डको ताकेता

१२ निकुञ्जमध्ये आम्दानी र पर्यटक आगमन बढी हुने चितवन निकुञ्जको प्रमुख चयनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उनका भाइ नारायण दाहालसम्मले चासो देखाएका छन् । नारायण पूर्वसभासद हुन् ।

कान्तिपुर दैनिकका अनुसार, चितवनमा वार्षिक दुई लाख हाराहारी पर्यटक भित्रिन्छन् भने करिब २५ करोड रुपैयाँ राजस्व जम्मा हुन्छ । आम्दानीको ५० प्रतिशत रकम सीधै मध्यवर्ती क्षेत्रको विकासमा खर्च हुन्छ ।

दाहाल निकुञ्ज रहेको चितवन–३ का प्रतिनिधिसभा सदस्यसमेत हुन् । दाहालले चितवनमा आफूअनुकूल हुने गरी वार्डेन (प्रमुख संरक्षण अधिकृत) पठाउन आफूनिकट वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई ताकेता गरेको स्रोतको दाबी छ ।

माघ पहिलो साता निकुञ्ज प्रमुख बनाएर पठाइएका उपसचिव वेदकुमार ढकाललाई यसै साता चितवनबाट काठमाडौं फर्काइएको कान्तिपुरको समाचारमा उल्लेख छ ।

किसानलाई प्रोत्साहन गर्न भैंसी सुन्दरी प्रतियोगिता


नेपालमै पहिलोपटक इटहरीमा भैंसी सुन्दरी प्रतियोगिता हुने भएको छ ।

नयाँ पत्रिका दैनिकका अनुसार किसानलाई प्रोत्साहन गर्न यस्तो प्रतियोगिता गरिएको हो । प्रतियोगितामा इटहरी २ कि मिठुमाया कार्कीले पालेको हीरा भैंसी सुन्दरी घोषित भएको छ ।

प्रतियोगितामा भाग लिएका करिब ३ दर्जन भैंसीलाई उछिन्दै मिठुमायाले पालेको हीरा सुन्दरी घोषित भएको र हीराले नगद ११ हजार रुपैयाँसहित ८० हजार रुपैयाँको बीमा सुरक्षित गरेको समाचारमा उल्लेख छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment