Comments Add Comment

एमाले-माओवादी पार्टी एकता घोषणा बिहीबार

केन्द्रीय कमिटीमा माओवादीलाई ४५ प्रतिशत

२ जेठ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार भएको वार्तामा एकतामा सहमति जुटेको हो ।

बिहीबार नै एकता घोषणा हुनेछ । बिहीबार नै निर्वाचन आयोगमा एकीकृत पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्ने सहमति पनि भएको छ ।

एमाले स्थायी कमिटी र माओवादी सचिवालयको विस्तारित बैठकले पार्टी एकता सहमति अनुमोदन गरेको छ । एमालेले बिहीबार केन्द्रीय कमिटीको बैठक पनि बोलाएको छ ।

विहान मदन मण्डारीलाई सम्झने, दिउँसो एकता घोषणा

भोलि मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस हो । एमालेका तत्कालीन महासचिव भण्डारी र जीवराज आश्रितको जेठ ३ गते दासढुंगामा भएको सवारी दुर्घटनामा निधन भएको थियो ।

मदन आश्रित स्मृति दिवसको अवसरमा एमालेले गर्ने कार्यक्रममा माओवादी शीर्ष नेताहरु पनि सहभागी हुनेछन् । लगतै पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ ।

अपराहृन पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा हुने दुबै दलका नेताहरुले बताएका छन् ।

केन्द्रीय कमिटीमा माओवादीलाई ४५ प्रतिशत

एमाले स्थायी कमिटीमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको ब्रिफिङअनुसार एकीकृत पार्टीको केन्द्रीय कमिटी ४४१ सदस्यीय हुनेछ । जसमा एमालेबाट २४१ जना हुनेछन् भने बाँकी २०० जना माओवादी केन्द्रबाट आउनेछन् ।

कार्यदलले २९९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको थियो । माओवादीले ५०-५० को माग गरेपछि विवाद पनि भयो तर, नयाँ सहमतिअनुसार केन्द्रीय कमिटीमा माओवादीले ४५ प्रतिशत पाएको छ ।

पोलिटब्यूरो तत्काल नबन्ने भएको छ । स्थायी कमिटी ४३ सदस्यीय बनाउने सहमति जुटेको छ । नेताहरुका अनुसार स्थायी कमिटीमा एमालेबाट २५ जना हुनेछन् भने माओवादीबाट १८ जना ।

केन्द्रीय कमिटी र स्थायी कमिटी मिलाउँदा एमालेका हालका नेताहरु घटुवा हुने छैनन् । तर, माओवादीमा नेताहरु छान्न मुस्किल छ । बुधबारको बैठकले यसबारे निर्णय गर्ने अधिकार तीन नेता प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’लाई दिएको छ ।

चुनाव चिन्ह सूर्य

एकतापछि पार्टीको चुनाव चिह्न सूर्य हुनेछ । यो हाल एमालेको चुनाव चिह्न हो । माओवादीको चुनाव चिह्न गोलाकारभित्र हसिया हथौडा छ । दुवैलाई मिलाएर नयाँ चुनाव चिह्न राख्ने छलफल पनि भएको थियो । तर, त्यसो गर्दा अर्को कुनै दलले सूर्य लिएर आफ्नो भोट तान्न सक्ने भएकाले सूर्य रोज्नुको विकल्प नभएको नेताहरुले बताएका छन् ।

पार्टीको निर्देशक सिद्धान्त मार्क्सवाद लेलिनवाद हुने छ । राजनीतिक कार्यदिशा ‘समाजवाद उन्मुख समावेशी लोकतन्त्र’ छ । एमालेले भन्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीले भन्ने गरेको २१ औं शताब्दीको बहुदलीय जनवादलगायतका वैचारिक मान्यताहरुबाट छलफल गर्दै जाने सहमति पनि दुई दलबीच भएको छ ।

यसरी सुरु भएको थियो एकता प्रक्रिया

एमाले र माओवादीको सम्वन्ध उतारचढावपूर्ण रहृयो । शान्ति प्रक्रियामा आएपछि पनि एमाले र माओवादीबीच कहिले सहकार्य त कहिले प्रतिस्पर्धा मात्र होइन, एकाअर्काका विरोधीसम्म भए ।

तर, १७ असोज २०७४ मा गठबन्धन बनाएर चुनाव लड्ने सहमति गर्दै सहकार्यको सुरुवात गरे । एमालेमा विष्णु पौडेल र माओवादीमा जनार्दन शर्मा ‘प्रभाकर’लाई एकताको सूत्रधार मानिन्छ ।

प्रदेश र प्रतिनिधिसभा चुनावमा ६०/४० को भागवण्डाका आधारमा उम्मेदवार उठाए । प्रतिनिधिसभामा बहुमत पाएको वाम गठबन्धनले ६ वटा प्रदेशमा पनि सरकार बनायो ।

केन्द्रमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गरे लगतै ७ फागुनमा दुई दलका शीर्ष नेताहरुले पार्टी एकतासम्वन्धी सात बुँदे सहमति गरे । एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त ‘मार्क्सवाद-लेलिनवाद’ हुने सहमति छ ।

दुई दलले कार्यदल बनाएर अन्तरिम राजनीतिक प्रतिवेदन र विधान पनि बनाएका छन् । तर, केन्द्रीय समितिको भागवण्डा लगायतमा सहमति हुन सकेन । बरु बेलाबेला दुई दलबीच खटपट देखियो ।

दुई अध्यक्ष ओली र प्रचण्डबीच थुप्रै ‘वान टु वान’ वार्ता भएपछि एकअर्काप्रति विश्वासको वातावरण नबन्दा एकता हुन सकेको थिएन । यही कारण वैशाख ९ मा गर्ने भनिएको एकता हुन सकेन । तर, बुधबारको बैठकमा ब्रेक थ्रू भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment