Comments Add Comment

७४ वर्षे कुन्जेडाले भने-गाउँमै गाडी देखेर मर्नु लेखेको रैछ

३ जेठ, डोटी । दिपायल सिलगढी नगरपालिका-७ कुन्जेडीका ७४ वर्षीय राइभान कुन्जेडा हातमा लौरो टेक्दै आए । आँगनमै गाडी पुगेपछि आफ्नो गाउँमा गाडी आउने सपना समेत नदेखेका राइभानका आँखा रसाए ।

‘कैलालीको धनगढीबाट नुन बोकेर खाएको थिएँ मैले,’ राइभान भन्छन्, ‘गाउँमा गाडी आउला भन्ने त सोचेको पनि थिएन, तर आयो ।’

दमका रोगी राइभानले अघि थपे, ‘गाउँमै गाडी आएको देखेर मर्नु भन्ने लेखेको रहेछ भगवानले, त्यसैले म रोगी बुढो आजसम्म बाँचेको रहेछु ।’

वल्लो पाकरीको डाँडामा गाडी गुडेको धेरै भयो, पल्लो लडागडाको डाँडामा पनि गाडी गुडेको धेरै भयो तर वल्ला-पल्लो डाँडामा गाडी गुडेको हेर्दै पसिना पुछ्दै उकालो चढेर जिल्ला सदरमुकाम पुग्ने कुन्जेडीवासीहरुका गाउँमा गाडी पुग्दा हर्षले आँखा रसाए । ‘तिम्रो माइत त कहिल्लै गाडी पुग्दैन भनेर हाम्रा छोरीबेटीहरुलाई समेत जिस्काउने गर्थे तर अब त गाडी पुग्यो’ स्थानीय कालीदेवी कुन्जेडा भन्छिन् ‘त्यस्तो भन्नेहरुलाई जवाफ दिन पनि सजिलो भयो हामीलाई ।’

दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको पाकरी-कुन्जेडी सडकको बिहीबार नगरप्रमुख मञ्जु मलासीले उद्घाटन गरेपछि कुन्जेडी गाउँमा सडक पुगेको छ । करिब १८ लाख रुपैयाँको लागतमा निर्माण भएको सडकको लम्वाई चार किलोमिटर रहेको दिसिनपा-७ का वडाध्यक्ष कर्ण बिष्ट बताउँछन् ।

सडक पुगेपछि आफूहरुलाई नगरपालिकाको कार्यालयसम्म आउजाउँ गर्न सहज हुने बताउँछन स्थानीय प्रेमसिंह कुन्जेडा । उनी भन्छन् ‘गाउँमा कोही बिरामी हुँदा स्ट्रेचरमा बोकेर जिल्ला अस्पताल पुर्‍याउनु पर्ने बाध्यता थियो, तर अब एम्बुलेन्स मगाएर लैजान सकिन्छ,’ बिरामी बोकेर लैजाने क्रममा बाटोमै मृत्यु भएका आफन्तहरु सम्झदै प्रेम भन्छन्, ‘अब कम्तीमा समयमै अस्पताल पुर्‍याउन सकिनेछ ।’

बाचा पूरा गरे बाटो बिर्सेका उपप्रमुखले

गत असारमा भोट माग्न कुन्जेडी जाने क्रममा बाटो बिर्सेका उपप्रमुखका उम्मेदवार शिवराज खड्काले आफू चुनाव जित्यो भने पहिलो काम यस गाउँमा सडक पुर्‍याउने सोच बनाएका थिए । ‘गाउँगाउँ हिड्दै गर्दा राती भइसकेको थियो, अप्ठेरो बाटो थियो, बिर्सेर हामीहरु जंगलतिर लागेका रहेछौं’ उपप्रमुख खड्का भन्छन् ‘मैले त्यसैदिन गाउँमा अव अर्को पल्ट म आउँदा गाडी चढेर मात्रै आउँछु भनेको थिएँ, आज गाडी चढेरै आएँ ।’

उनी केही ढिलो भएकोप्रति क्षमा माग्दै स्थानीयलाई भन्दै थिएँ, ‘अलि ढिलो भएपनि मैले मेरो बाचा पूरा गरे ।’ उनी त्यो बाटो सम्झदै भन्छन् ‘यस्तो बाटोमा यस गाउँमा मान्छेहरु कसरी हिड्छन् होला भन्ने लागेको थियो, म यो गाउँ बिर्सेको थिएन ।’

उपप्रमुखका उम्मेदवारले यस्तो बाचा गर्दा स्थानीयले चुनावी बाचा भन्दै अविश्वास गरेका थिए तर गाउँमै गाडी पुगेपछि उनीहरु हषिर्त भए । ‘उहाँले बोलेको कुरा पूरा गर्नु भएको छ’ स्थानीय दिलवहादुर कुन्जेडा भन्छन् ‘नेतामा हुनु पर्ने गुण उहाँमा रहेछ ।’

स्थानीयद्वारा सम्मान

गाउँमा सडक पुगेपछि सडक उद्घाटन गर्न पुगेको नगरप्रमुख मलासीसहितको टोलीलाई स्थानीवासीले फुलमाला र दोसल्ला ओडाएर सम्मान गरेका छन् ।

जनप्रतिनिधि भइसकेपछि आफ्ना पिरमार्का बुझि काम गरेको भन्दै नगरपालिकाको टोलीलाई सम्मान गरिएको हो ।

नगरप्रमुख मलासी, उपप्रमुख खड्का, प्रमुख प्रशासकीय अधिकृत भोजराज शर्मा र ईन्जिनियर डम्मर जोशीलाई दोसल्ला ओडाएर सम्मान गर्दै स्थानीय तेडी आधारभुत बिद्यालयका प्रधानाध्यापक दिलबहादुर कुन्जेडाले भने ‘जनताको आवश्यकता अनुसार काम गर्दै जानु होला भन्ने अुनरोध छ ।’

अबको लक्ष्य खानेपानी

‘सडक त पुग्यो नेता ज्यू, खानेपानीका धेरै दुःख छन्, अब खानेपानी पनि बनाइदिनु पर्‍यो’ स्थानीय एक महिलाले नगरप्रमुख मलासीलाई बिन्ती गरिन् । स्थानीय भाषा प्रयोग गर्दै उनले थपिन् ‘तपाई पनि महिला हुनुहुन्छ, महिलाहरुका दुःख बुझ्नु भएको छ, हामीलाई एक गाग्री पानी ल्याउन एक घण्टा लाग्छ ।’

९५ परिवार रहेको कुन्जेडी गाउँमा खानेपानीको समस्या भएका कारण स्थानीय बिद्यालयमा समेत सरसफाइ हुन नसकेको प्रधानाध्यापक कुन्जेडाले वताए ।

स्थानीयको आग्रहपछि नगरप्रमुख मलासीले भनिन्, ‘आज म सडकको उद्घाटन गर्न आएँ, अर्को पल्ट खानेपानीको उद्घाटन गर्न आउँछु ।’ आफू झुटा आश्वासन दिने भन्दा पनि काममा विश्वास गर्ने बताउँदै उनले भनिन्, ‘यो गाउँमा खानेपानीका लागि सम्भाव्यता अध्ययन गर्न म आजैदेखि सरोकारवालाहरुसंग छलफल चलाउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment