Comments Add Comment

चुनावमा काठमाडौंका उम्मेदवारको खर्च ५९ लाखसम्म

तीन उम्मेदवारको खर्च ५० लाख माथि

४ जेठ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका क्रममा काठमाडौं जिल्लाका उम्मेदवारले ५९ लाख रुपैयाँसम्म खर्च गरेको पाइएको छ ।

शुक्रबार सार्वजनिक एक प्रतिवेदन अनुसार प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंका ३० उम्मेदवारको खर्च अध्ययन गर्दा ५८ लाख ९७ हजार रुपैयाँसम्म खर्च गरेका छन् ।

निर्वाचन आयोगले उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोके पनि तीन जना उम्मेदवारले ५० लाख भन्दा बढी खर्च गरेको पाइएको अध्ययनकर्ता सामूहिक अभियानले जनाएको छ । सामूहिक अभियानले गरेको उक्त अध्ययन प्रतिवेदन शुक्रबार निर्वाचन आयुक्त सुधीरकुमार शाहले सार्वजनिक गरे ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशनको दिनदेखि प्रचार प्रसार अन्त्य नहँदासम्म उनीहरुको खर्चको अनुगमन गरिएको सामुहिक अभियानले जनाएको छ । अभियानका १५ जना अनुगमनकर्ता काठमाडौंका दशवटा निर्वाचन क्षेत्रका ३० उम्मेदवारहरुको खर्चको निगरानी गर्न खटिएका थिए । उनीहरुले नेपाली कांग्रेस, वाम गठबन्धनका साथै विवेकशील साझा पार्टीका उम्मेदवारहरुले गर्ने खर्चको अनुगमन गरेका थिए ।

‘हामीले दिनभर उम्मेदवारहरुले गर्ने कार्यक्रम र त्यहाँ भएको खर्चको आधारमा यो तथ्यांकनिकालेका हौं तर प्रचार प्रचार अन्त पछि भएको खर्च तथा रातिको समयमा हुने खानपान तथा खर्चको अनुगमन गर्न सकिएन’ सामुहिकअभियानको तर्फबाट अध्ययन टोलीका सदस्य कपिल न्यौपानेले भने ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टीका नेता डा. सुरेन्द्रकुमार झाले मधेसमा ४, ५ करोड रुपैयाँ खर्च गर्न नसके चुनावमा उम्मेदवार हुन सक्ने अवस्था नरहेको भन्दै अनियन्त्रित निर्वाचन खर्च रोक्न निर्वाचन आयोगले पहल गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले काठमाडौंमा भन्दाबाहिरका जिल्लामा झनै ढंगबाट पैसा खर्च भएको बताए ।

निर्वाचन आयुक्त शाहले निर्वाचन प्रणाली सुधारका लागि यो अध्ययन कोशेढुंगा सावित हुने बताए । ‘निर्वाचन आयोग सरकारमै भर पर्छ, यसपटक हामीले सूक्ष्म अनुगमनकर्ताहरुको पनि व्यवस्था गरेका थियौं, पैसाको धेरै चलखेल शून्य समयमा हुन्छ भन्ने जानकारी पाए पनि प्रमाण सहितका केशहरु भने जम्मा तीनवटा मात्रै भेटेर कारबाही गरेका छौं, आगामी दिनमा निर्वाचन प्रणाली सुधारमा थुप्रै कार्य गर्नुछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment