Comments Add Comment

‘इन्टुमिन्टु’ मा अल्झदा साम्राज्ञीको हातबाट गुम्यो २ ठूला फिल्म


यतिबेला नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएर चलचित्र बनाउन हरेक निर्माता चाहन्छन् । उनलाई लिदा चलचित्रको लगानी सुरक्षित हुन्छ भन्ने निर्माताहरुको सोच छ । तर, साम्राज्ञीलाई चलचित्रमा लिन त्यति सजिलो भने देखिएको छैन ।

साम्राज्ञी अहिले एउटै चलचित्रका लागि धेरै समय दिइरहेकी छिन् । रेनशा वान्तवा राईले निर्देशन गरिरहेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ मा उनी व्यस्त भएको धेरै भयो । यो चलचित्रको सुटिङ लन्डनमा भइरहेको छ ।

गत बर्षको साउनमै भिजा लागेको भए साम्राज्ञी त्यतिबेला बेलायत उड्ने थिइन् । तर, भिजा आउन ढिलाई हुँदा उनले चलचित्र ‘ए मेरो हजुर २’को प्रचारका लागि समय दिन भ्याइन् ।

भिजाको समस्या समाधान भएपछि साम्राज्ञी पहिलो चरणमा ५ दिन यो चलचित्रको छायांकन गरेर नेपाल फर्किएकी थिइन् । त्यसपछि, उनले चलचित्र ‘कायरा’को छायांकन भ्याइन् । यो चलचित्रको छायांकन फिलिपिन्समा भएको थियो ।

साम्राज्ञी अहिले फेरि ‘इन्टु मिन्टु लण्डनमा’को छायांकनका लागि बेलायतमा छिन् । यो चलचित्रका लागि लामो समय दिदा उनी दुई ठूला ब्यानरका चलचित्रसँग जोडिन पाइनन् । चलचित्र ‘जय भोले’को कथा उनले सुनेर पनि काम गरिनन् । यो चलचित्र बर्षकै प्रतिक्षित मानिएको छ ।
नायिका साम्राज्ञीलाई चलचित्र ‘छक्का पन्जा ३’मा खेलाउनका लागि यसका निर्माताद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले चाहेका थिए ।

कथावस्तु उनलाई नै सोचेर बनाइएको थियो । तर, साम्राज्ञीले यसपटक पनि ‘इन्टु मिन्टु लण्डनमा’लाई नै कारण देखाएर यो चलचित्र छोडिन् । साम्राज्ञीले यी दुई चलचित्रमा खेलेको भए पक्कै पनि उनको करिअर बुस्ट हुने थियो ।

अब, यी दुई चलचित्रको व्यापारले साम्राज्ञीलाई चुकचुक बनाउनेछ या ‘इन्टु मिन्टु लण्डनमा’को व्यापारले साम्राज्ञीको भाग्य चम्काउनेछ, यसका लागि त प्रतिक्षा गर्नैपर्छ । साम्राज्ञीले यसअगाडि चलचित्र ‘छक्का पन्जा २’को अफर पनि रिजेक्ट गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment