Comments Add Comment

प्रचारका नयाँ काइदा, फिल्मको व्यापारमा कति फाइदा ?


यो बर्षको पहिलो महिना नेपाली चलचित्रको लागि उत्साहजनक रहेन । वैशाखको ७ गतेबाट वैशाखको अन्त्यसम्म हेर्ने हो भने चलचित्रको व्यापार कमजोर देखिएको छ ।

वैशाख ७ गतेबाट रिलिज भएको ‘स्वर्ग मेरो गाउँ’ आएको र गएको दर्शकले नै थाहा पाएनन् । वैशाख १४ गते २ वटा चलचित्र रिलिज भए । नायिका केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ र मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘ह्याप्पी डेज’ दर्शकमाझ आए ।

आफ्ना चलचित्र बिकाउनका लागि दुवै निर्माताले मौलिक प्रचार शैली अपनाए । नायिका केकी अधिकारीले घर-घरमा पिज्जा डेलिभर नै गरिन् । फुडमान्डुमा डिमाण्ड गर्ने उपभोक्ताको घरमा खाजा बोकेर उनी नायिकाद्वय पि्रयंका कार्की र ऋचा शर्मासँग पुगिन् । यो काइदाको प्रचारले चलचित्रलाई ठूलो फाइदा भने गरेको देखिएन । यद्यपि, केही मल्टिप्लेक्समा भने चलचित्रले दर्शक राम्रै तान्यो ।

यही मितिमा रिलिज भएको चलचित्र ‘ह्याप्पी डेज’को प्रचारका लागि निर्माता तथा निर्देशक मिलन चाम्सले ‘रथ यात्रा’ नै गराए । ललितपुरदेखि काठमाडौंसम्म उनले ‘रथ यात्रा’मा नायिका प्रियंका कार्की र कलाकार संजय गुप्तालाई राखे । तर, उनको यो काइदाको प्रचारले पनि चलचित्रलाई कुनै फाइदा भएन । चलचित्र डुब्यो ।

वैशाख २१ गते चलचित्र ‘डमरुको डन्डिबियो’ रिलिज भयो । यो चलचित्रको प्रचारका लागि ‘ठ्याक लाउने’ प्रतियोगिता आयोजना भयो । चलचित्रका लेखक तथा कलाकार खगेन्द्र लामिछाने टुँडिखेलमा दर्शकसँग बसेर डन्डिबियो नै खेले । तर, यो काइदाको प्रचार शैलीले कुनै फाइदा गरेन । यो चलचित्रको व्यापार पनि निराशाजनक रह्यो ।

वैशाख २८ गतेबाट रिलिज भएको चलचित्र ‘लम्फू’को प्रचारका लागि भाइरल गर्ल ‘तरकारीवाली’लाई अगाडि ल्याइयो । ‘तरकारीवाली’लाई चलचित्रमा ठिकठाक भूमिका दिइएको भए पनि उनलाई प्रचारमा सबैभन्दा बढी कुदाइयो । तर, सामाजिक संजालमा भाइरल ‘तरकारीवाली’ले दर्शक तान्न सकिनन् । चलचित्र असफल भयो ।

अब, जेठ ११ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सुनकेशरी’को प्रचारका लागि नायिका तथा निर्मात्री ऋचा शर्माले नयाँ शैली ल्याएकी छिन् । उनले आफ्नो स्कुटीमा केही यात्रुलाई उनीहरुको गन्तव्यसम्म पुर्‍याउने काम गरिन् । अब, ऋचाको यो प्रचार शैलीले चलचित्रलाई फाइदा पुग्ला या नपुग्ला, केही दिनमै थाहा हुनेछ ।

तर, वैशाखमा रिलिज भएका चलचित्रका निर्माताले प्रचारमा नयाँ-नयाँ स्टाइल ल्याए पनि त्यसले गतिलो रिजल्ट भने दिन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment