+
+
Shares

आईपीएलमा सन्दीपको खेल हेर्न बुवा र दाइ गएका थिए दिल्ली मैदान !

'सन्दीप नेपालको छोरा हो, हजारौं सन्दीप जन्मिउन्'

सुवास पण्डित सुवास पण्डित
२०७५ जेठ ७ गते १५:५७

७ जेठ, चितवन । इन्डियन प्रिमियर लिग (आईपीएल) मा छोराको खेल हेर्न सन्दीप लामिछानेका बुवा चन्द्रनारायण जेठो छोरा मोहनसँगै दिल्ली फिरोज शाह कोट्ला मैदान पुगेका थिए । उनीहरु खेल हेर्ने आशमा मैदान गए पनि त्यो दिन सन्दीप प्लेइङ ११ मा परेनन् ।

२७ अप्रिलको दिन । कोलकाता नाइट राइडर्ससँग दिल्ली डेयरडेभिल्सको खेल थियो । ६ खेलमा १ खेल मात्र जितेको दिल्लीका कप्तान गौतम गाम्भीरले कप्तानी श्रेयस ऐयरका लागि छाडेका थिए । राम्रो खेलेर जित्नुपर्ने दबाबमा थियो दिल्ली । यसैले दिल्लीले नेपाली युवा लेग स्पिनर सन्दीपलाई मैदान उतार्ने आश लाखौं नेपालीमा जस्तै उनका बुवा चन्द्रनारायणमा पनि थियो ।

सन्दीपका दाइ मोहन लामिछाने र भारतमै बस्ने चन्द्रनारायणका तीन जना साथीसहित उनीहरु दिल्ली कोट्ला मैदानमा गएका थिए । ‘सन्दीपलाई भेट्न पनि हुन्छ र खेल हेर्न पनि हुन्छ भनेर त्यहाँ गएका थियौं । सन्दीप त त्यो खेलमा थिएन तर हामीले खेल आधाभन्दा धेरै समयसम्म हेर्‍यौँ’ त्यो दिन सम्झँदै चन्द्रनारायणले भने ।

बुवा स्टेडियममा आएको खेलमा सन्दीप मैदान उत्रन त पाएनन् तर राम्रो पारिवारिक माहोल भने बन्यो । खेल सुरु हुनु अघि झण्डै ३ घण्टा उनीहरु सँगै बसेर पारिवारिक कुराकानी गरे ।

‘हामीले खेलको बारेमा गर्ने कुरा त केही हुँदैन । त्यो त सबै उसलाई नै थाहा छ । पारिवारिक कुराकानी भयो । कहिले फर्कने भन्ने कुरा भयो’ चन्द्रनारायणले सुनाए ।

बुवा र दाइका लागि सन्दीपले नै टिकट मिलाइदिएका थिए । खेल सुरु हुनुअघि सन्दीपसँग पारिवारिक कुराकानी मात्रै भएन । बुवा चन्द्रनारायणले सन्दीपको फेरिएको शरीर पनि नियाले । ‘त्यहाँ राम्रो अभ्यास हुने,  जिम हुने भएकाले होला उसको ज्यान फेरिएको रहेछ । हुन त खेलाडी सबैको त्यस्तै हो । उसको ज्यान अहिले राम्रो भएको रहेछ’ उनले भने ।

स्टेडियममा गएर पहिले पहिले पनि क्रिकेट हेरेको भए पनि चन्द्रनारायणलाई त्यो दिनको खेल विशेष लाग्यो । दर्शकको हुटिङ मन पर्‍यो । मैदानको माहोल राम्रो लाग्यो । दिल्लीले ५५ रनले जितेको खेल अन्तिमसम्म नहेरे पनि उनलाई दिल्लीको ब्याटिङ राम्रो लाग्यो ।

‘दिल्लीले पहिले ब्याटिङ गरेर राम्रो रन बनाएको थियो । जित्ने त पक्का नै थियो । हाम्रो गाडी पनि जाने समय भएकाले दोस्रो इनिङ एकैछिन हेरेर फर्कियौँ’ चन्द्रनारायणले भने ।

सन्दीपले मौका पाएको पछिल्लो तीन खेल घरमा टीभीमा हेरेका उनलाई त्यो स्टेडियममा हेरेको खेलले भन्दा धेरै खुशी दियो । सन्दीपको बलिङको जादु चन्द्रनारायणले टीभीबाटै बुझे । सबैसँगै छोराको उपलब्धीले उनी पनि रमाए ।

‘टीभीमा हेर्दा पनि अलग्गै उत्साह भयो । नेपालको छोरो त्यो स्तरमा पुग्दा सबै नै रमाएका थिए’ उनले भने ।

सन्दीपलाई पहिल्यै मौका दिएको भए दिल्ली डेयरडेभिल्सले केही सफलता पाउन सक्थ्यो कि भन्ने चन्द्रनारायणलाई पनि लागेको छ ।

‘सायद सन्दीपलाई पत्याइएन होला, तर मौका आउँदा उसले आफ्नो क्षमता प्रदर्शन गरेरै देखायो, नेपाल र नेपालीलाई चिनायो’ चन्द्रनारायणले भने ।

‘लामिछाने निवास’ पुग्दा

पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. ८ चित्रसारी नजिक रहेको एक तले घरमा ‘लामिछाने निवास’ लेखिएको छ । उनै सन्दीपको घर हो यो ।

सोमबार बिहानीपखको घाम छिप्पिदै गर्दा सन्दीपका वुबा भित्र-बाहिर गरिरहेका थिए । घरभित्र थिए, सन्दीपकी आमा कोपिलादेवी लामिछाने, सानी आमा सावित्री पौडेल, भाउजु सीता र भतिजी लिजा लामिछाने । सन्दीपका बारेमा कुरा गर्न घर पुग्दा लामिछाने परिवार खुसीयाली माहोलमा थियो ।

बिहानीको समयमा विधि पुर्‍याएर पूजा गर्ने बानी रहेछ सन्दीपका ५७ वर्षका बुबा चन्द्रनारायणको । भारतीय रेल्वे सेवामा ३८ वर्ष सेवा गरेर फर्किएका चन्द्रनारायणले सन्दीपले पाएको सफलता र खुसीले गर्व लागेको बताए ।

‘छोरा हामीले पाए पनि सन्दीप नेपाल आमाकै छोरा बनेको छ’ वुवा चन्द्रनारायणले भावुक बन्दै भने । देश-विदेशमा रहेका ३ करोडभन्दा बढी नेपाली, सारा विश्वभरका क्रिकेटप्रेमीहरुका बीचमा सन्दीपले देश चिनाएकोमा गर्वले छाती फुकेको छ उनको । छोराले यतिको प्रगति गर्ला र देशको इज्जत राख्ला भन्ने कहिल्यै सोचका थिएनन् उनले । उनी त छोरालाई रेल्वेको इन्जिनियर बनाउन चाहन्थे ।

‘मैले त छोराले इन्जिनियरिङ पढोस् भन्ने चाहन्थेँ, तर छोराको ध्यान यता रहेछ । हामीले पनि खासै दवाव दिएनौं’ चन्द्रनारायणले भने ‘छोराछोरीको इच्छा विपरीत अभिभावकले दवाव दिनुहुँदो रहेनछ भन्ने उदाहरण सन्दीप भएको छ ।’

सन्दीपले आईपीएलमा उत्कृष्ट प्रर्दशन गरेपछि उनका बारेमा सोधीखोजी गर्दै घरसम्म आउनेहरु बढ्न थालेका छन् ।

हरेक दिनजसो सन्दीपको घर होइन ? भन्दैं मानिसहरु आउने गरेको सन्दीपकी आमा कोपिलादेवी लामिछानेले बताइन् ।

पाँच महिनाअघि मात्रै सन्दीपको परिवार यहाँ आएर बसेको हो । तर वरपरका सबैजसोले क्रिकेट खेल्ने सन्दीप लामिछानेको घर भन्ने थाहा पाइसकेका छन् ।

अन्तिम खेल खेल्नुअघि आइतबार बिहान ११ बजेतिर सन्दीपले वुवासँग फोनमा कुरा गरेका थिए । ‘आज म्याच छ भन्यो, हालखबर सोध्यो, अरु खासै कुरा भएन,’ चन्द्रनारायणले भने, ‘घरमा आउँदा पनि घरायशी कुरा मात्रै हुन्छन्, क्रिकेटका कुरा खास हुँदैन ।’

आईपीएलमा ३ खेल खेलका सन्दीपले ५ विकेट लिएर उत्कृष्ट खेल देखाए । उनी आगामी मे ३१ मा लर्ड्समा वेस्ट इन्डिजविरुद्ध विश्व ११ का तर्फबाट खेल्ने तयारीमा छन् । नेपाल आएर बेलायत जाने तयारीमा रहेको सन्दीपको परिवारले जनाएको छ ।

‘हजारौं सन्दीप जन्मिउन्’

सन्दीपको चर्चा र लोकपि्रयताले शिखर चुमिरहेका बेला उनका बुवा चन्द्रनारायणले देशमा अरु पनि हजारौं सन्दीप जन्मिउन् भन्ने शुभेच्छा प्रकट गरे । सरकारले हजारौं सन्दीपहरु जन्माउनका लागि उपयुक्त वातावरण तयार गर्नुपर्ने उनको भनाइ छ ।

‘वनका काँडा कसैले नतिखारे पनि तिखा हुन्छन् भनेर राज्यले सुख पाउँदैन,’ सन्दीपका वुवा भन्छन्, ‘राज्यले पूर्वाधारमा लगानी गर्नुपर्‍यो । खेलाडीलाई प्रशिक्षण, एक्स्पोजर र सुहिलियत दिनुपर्दछ ।’ राज्यले विनालगानी प्रतिफलको आशा गर्न नसुहाउने तर्क उनको छ ।

सन्दीपजस्तै अरु खेलाडीहरुले पनि अवसर पाउन् भन्ने चाहना पनि चन्द्रनारायणले व्यक्त गरेका छन् ।

आमा कोपिलादेवीले छोराको प्रगतिका बारेमा भनिन्, ‘म मात्रै होइन, आज नेपालका सम्पूर्ण जनता खुसी छन् ।’ टिभीमा ‘नेपालको युवा खेलाडी सन्दीप लामिछाने’ भन्दा मन गर्वले ढक्क फुल्ने गरेको कोपिलाले सुनाइन् ।

सन्दीपको बाल्यकाल र परिवार

सन्दीप लामिछानको जन्म स्याङजा जिल्लामा भएको हो । आरुचौर हाल अर्जुन चौपारी गाउँपालिकामा पर्दछ । २०२८ सालमा रोजगारीका लागि भारत प्रवासमा पुगे सन्दीपका बुवा चन्द्रनारायण ।

चन्द्रनारायणका ५ सन्तानमध्ये सबैभन्दा कान्छा हुन, सन्दीप । दुई छोरा मोहन र सन्दीप, तीन छोरीहरु इन्दु, दीपा, र सविता । दिदीहरु सबैको बिहेवारी भैसक्यो । दाजु मोहनले ३ वर्षअघि विवाह गरे । उनी वुवा चन्द्रनारायणले काम गरेकै भारतीय रेल्वेमा काम गर्दछन् । उनीहरुको एक सन्तान डेढ बर्षकी लिजा लामिछाने छिन् ।

पाँच बर्षको उमेरमा बुवा र आमासँगै भारतमै पुगे सन्दीप । सानो उमेरमा भारतमा नै सामान्य क्रिकेट खेल्थे । सानोमा सन्दीप ज्ञानी थिए । आमा कोपिलादेवी भन्छिन्, ‘खासै दुःख दिएन, कहिलेकाहीँ बिरामी त बच्चाहरु भै नै हाल्छन्, तर खास समस्या परेन ।’ चकचके पनि थिएनन् उनी । सबैसँग मिल्थे ।

सन्दीपको बाल्यकाल सम्झदै सन्दीपकी साहिँली आमा सावित्री पौडेल भन्छिन्, ‘कहि कतै बाहिर हिँड्दा बल नकिनी सुखै दिन्थेन ।’

किनेको बल लौराले हाँन्दै हिँड्थे सन्दीप । घरमा टिभी हेर्दा पनि उनी खेलकुद च्यानलहरु नै हेर्दथे । सन्दीपको परिवार नेपाल आउने-जाने गरिरहन्थ्यो । सो क्रममा सन्दीपलाई नेपालमा नै छाड्ने निधो भयो । उनी ठूली दिदी इन्दु न्यौपानेको रहजरस्थित घरमा बस्न थाले ।

क्रिकेटमा सानैदेखि क्रेजी भएका कारणले उनी १७ किलोमिटर टाढा नारायणगढमा रहेको चितवन क्रिकेट एकेडेमीमा आएर पूर्व राष्ट्रिय टोलीका कप्तान राजु खड्कासँग क्रिकेट प्रशिक्षण लिन्थे ।

सन्दीपका ४ जना ठूलीआमा सानी आमा र दुई दिदीहरु चितवनमा नै बस्छन् । सबैजना यतै भएकाले चितवनमा नै आएर बस्ने योजना बन्यो । ५ वर्षअघि रत्ननगर नगरपालिका वडा नं. ८ मा जग्गा किनेर घर बनाए चन्द्रनारायणले ।

सौराहा आसपास क्षेत्रमा आएर बस्ने सोच अनुरुप घर बनाए र कुरुवा राखी भारत नै गए । ५ महिना अघिदेखि मात्रै सन्दीपको परिवार यहाँ स्थायी रुपमा बसोवास गर्न थालेको छ । सन्दीपले नागरिकता जिल्ला प्रशासन कार्यालय चितवनबाट निकालेका छन् ।

भारतमा बस्न मन लागेन

३८ वर्षसम्म भारतीय रेल्वेसेवामा काम गरे पनि सन्दीपका बुवा चन्द्रनारायणलाई भारतमा बस्न पटक्कै मन लागेन । छोराछोरीले देश र माटो नभुलुन् भन्ने चाहन्थे उनी । त्यसैले कान्छी छोरी सविताको भारतमै विवाह गरे पनि अन्य दुई छोरी र छोराको भने नेपालमा नै विवाह गरे ।

‘सन्दीप भारतमा नै बसेर क्रिकेट खेलेको भए सायद नेपाल नफर्कन पनि सक्थ्यो होला’ वुवा चन्द्रनारायणले भने, ‘मैले नेपालमा नै गएर केही गरोस भनेर नै पठाएको हुँ ।’

भारतमा प्रवासी नेपालीहरुमाथि त्यति राम्रो ब्यवहार नहुने गरेको अनुभूति उनीसँग छ । त्यही कारण उनी सन्तानहरुलाई नेपाल नै फर्काउन चाहन्थे । ‘म पनि भारतमा नै बस्न सक्थेँ, तर जहाँ जन्मिएँ त्यहीँ मर्छु भनेर आएँ’ चन्द्रनारायणले थपे ।

यो पनि पढ्नुहोस्

वाह ! आईपीएलमा सन्दीपको सुपर प्रदर्शन

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?