Comments Add Comment

बैकल्पिक पर्यटकीय केन्द्र बन्दै नवलपरासीको अमलटारी

८ जेठ, पोखरा । नवलपरासीको अमलटारी बैकल्पिक पर्यटकीय केन्द्र बन्ने देखिएको छ ।

चितवनबाट नजिकै पर्ने सांस्कृतिक र प्राकृतिक रुपमा भरिपूर्ण अमलटारी शान्त बसाइ र जंगल सफारी दुबै हिसाबले सौराहाको विकल्प बन्नसक्ने देखिएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज भित्रै पर्ने अमलटारी नवलपरासी जिल्लाको कावासोती नगरपालिका १५ बाघखोरमा पर्छ । जुन चितवनको मुग्लिन-नारायणगढ बाटो क्रस गरेलगत्तै आउने नारायणगढ बजारबाट सिजी ग्राम हुँदै ३७ किलोमिटर दक्षिण पश्चिम गएपछि दण्डा बजार आउँछ ।

दण्डाबाट ७ किलोमिटर दक्षिण पूर्व गएपछि अमलटारी पुगिन्छ । यो मध्यवर्ती ब्यबस्थापन क्षेत्र (बर्फजन)को महत्वपूर्ण क्षेत्र मानिन्छ । जहाँ पर्यटक बस्नका लागि टाइगर टप्सलगायतका उच्चस्तरका होटलदेखि होमस्टेसम्म ब्यबस्थित रुपमा सञ्चालित छन् ।

शुरुमा चितवन राष्ट्रिय निकुञ्ज ९३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको थियो । तर, पछि चितवनको पदमपुर गाउँ गाभिएर चितवन राष्ट्रिय निकुञ्ज ९५२ वर्ग किलोमिटरमा फैलियो ।

जंगल सफारी अमलटारीको प्रमुख आकर्षण

०५४ सालमा चितवनको ७५० वर्ग किलोमिटर र पर्साको वन्य जन्तु आरक्षमा रहेको ७३० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर मध्यवर्ती ब्यबस्थापन क्षेत्र बर्फजन घोषणा गरियो ।

बर्फजन क्षेत्रमा २२ वटा उपभोक्ता समिति गठन गरिएका छन् । जस मध्ये चितवनमा १२, नवलपरासीमा ८ तथा पर्सा र मकवानपुरमा एक/एकवटा उपभोक्ता समिति रहेका छन् ।

हो यही १२ उपभोक्ता समिति मध्ये ३ वटा उपभोक्ता समिति मातहत रहेको वन क्षेत्रलाई एउटै बनाएर जंगल सफारी गर्ने गरिएको छ ।

गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, कृष्णसार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र नमूना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह एकीकृत गरेर जंगल सफारी सञ्चालन गर्ने गरिएको स्थानीय अगुवा तथा अमलटारी थारु होमस्टेका ब्यबस्थापक धनीराम गुरौले जानकारी दिए ।

नवलपरासीको अमलटारी सबै हिसाबले पर्यटकीय गन्तव्य बन्नसक्ने प्रशस्त सम्भावना र पूर्वाधारको हिसाबले बलियो आधार बन्दै गएको छ । अमलटारी पर्यटकीय केन्द्र बन्नसक्ने मुख्य कारण अमलटारीमा पनि जंगल सफारी गर्न पाउनु हो । जहाँ अमलटारी र नमूना मध्यवर्ती २ नाकाबाट सफारी गर्ने गरिएको छ ।

घना जंगलको बीच बाटो हुँदै जंगल सफारी गर्न पाउँदा पर्यटक मख्ख पर्छन् । जहाँ प्रशस्त जंगली जनावर र चराचुरुङ्गी तथा जलचर भेटिन्छन् ।

२ वटा नाकाबाट गरिने जंगल सफारी १७ किलोमिटरको छ भने यो सफारीका लागि साढे २ घण्टादेखि करिब ३ घण्टासम्म लाग्छ ।

जंगल सफारी शुरु भएको केहिबेर देखिनै फाट्टफुट्ट रुपमा मृग, बाह्रसिंगे, कालिज तथा जलचरले पर्यटकलाई स्वागत गर्छन् ।

बर्फजन क्षेत्र भएर बग्ने नारायणी नदीको तिरैतिर सफारी अघि बढ्दै जाँदा बाक्लो मात्रामा मृग, हरिण, बँदेल देखिन्छन् भने मध्यभागमा पुगेपछि मृग र हरिणहरु बथानका बथान भेटिन्छन् । कतै बाह्रसिंगे त कतै मयुर भेटिदा सफारीको मज्जा छुट्टै हुन्छ । सो क्रममा कतै एकल त कतै जोडा बाँधेर बसेका गैंडाहरुपनि बीच बीचमा भेटिन्छन् । जसले जंगल सफारीमा छुट्टै आनन्द दिन्छ । जंगलमा चितुवा, भालुलगायतका अन्य बन्यजन्तु पनि भेटिने अमलटारी थारु होमस्टेका ब्यबस्थापक धनीराम थारुले बताए ।

उनका अनुसार गत वर्ष गरिएको बाघ गणनाका क्रममा सो क्षेत्रमा ६ वटा पाटे बाघसहित ३६ वटा बाघ भेटिएको थियो । सफारीका क्रममा प्रायः ६ देखि ८ वटा गैंडा देखिने गरेको भएपनि कहिलेकाहीं १४/१५ वटासम्म गैंडा भेटिएको रेकर्ड रहेको थारुले बताए ।

गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह कार्यालयका कर्मचारी दीपेन्द्रकुमार महतो भन्छन्,’जंगलमा चितुवा, भालुलगायतका बन्यजन्तु पनि छन्, तर संयोग पर्नुपर्छ ।’ उनले सफारीका क्रममा विहान भन्दा बेलुका बढी वन्यजन्तु भेटिने बताए ।

जंगल सफारीका दृष्टिकोणले अमलटारी दोश्रो सौराहा भइसकेको कर्मचारी महतोले दाबी गरे । सफारीका लागि आलमटारी र नमूना दुबैतर्फ सफारी भ्यान तैनाथ राखिएका हुन्छन् ।

हात्तीमा चढेर सफारी गर्नेलाई होमस्टे र होटल दुबैबाट सेवा दिईने गरिएको छ । अझ रोचक त के भने अमलटारीमा हात्तीको सुरक्षामा पैदलै सफारी गर्ने ब्यबस्था मिलाइने गरिएको छ ।

एनिमल राईट्सलाई मध्यनजर गर्दै हात्तीमाथी नचढी अगाडि र पछाडि दुबैतिर २ हात्तीको सुरक्षामा सफारी गर्ने ब्यबस्था मिलाइने गरिएको महतोले बताए । त्यसरी सफारी गर्दा एनिमल राइट्स सुरक्षित हुनुका साथै सफारीमा जानेको सुरक्षा पनि हुने र मनोरञ्जन पनि मिल्ने उनको भनाइ छ ।

मोहनी लगाउने अमलटारी होमस्टे 

अमलटारी थारु होमस्टेका ब्यबस्थापक धनीराम थारु पनि अमलटारी होमस्टे पर्यटकीय केन्द्र बन्दै गएको बताउँछन् । यसको प्रमुख कारक जंगल सफारी नै भएको उनले बताए ।

उसो त अमलटारी पर्यटकीय केन्द्र बन्दै जानुमा जंगल सफारी सँगसँगै होमस्टे र त्यहाँका होटलहरुको सेवाले पनि सघाएको छ ।

अमलटारीमा रहेको अमलटारी मध्यवर्ती होमस्टे र केहि पर रहेको थारु होमस्टेले पर्यटकको ध्यान खिचेको छ ।

ग्रामीण पर्यटनको अवधारणामा चलेको अमलटारी मध्यवर्ती होमस्टे गत वर्ष सरकारद्वारा देशकै उत्कृष्ट होमस्टेका रुपमा पुरस्कृत भएको थियो भने सरकारले अमलटारीलाई पर्यटन गन्तव्य गाउँसमेत घोषणा गरेको थियो ।

यो होमस्टेको प्रमुख विशेषता भनेको थारु संस्कृतिमा आधारित ग्रामिण र वातावरणमैत्री हुनु हो । २४ घर धुरीमा सञ्चालित यस होमस्टेमा प्रत्येक कोठा अट्याच बाथरुमसहितको डबल बेडका छन् ।

प्रत्येक घरमा २/२ वटा कोठा रहेको यस होमस्टेमा पुग्ने पाहुनालाई थारु संस्कृति अनुसार स्वागत र बिदाई गरिन्छ ।

होमस्टेमा पुग्ने बित्तिकै थारु भेषभुषामा चिटिक्क सजिएका थारु युवतीहरुले पाहुनालाई फुल दिएर स्वागत गर्दछन् । त्यसपछि कोठामा पुगेर एक छिनको आराम पश्चात साँझमा सांस्कृतिक कार्यक्रम शुरु हुन्छ । जहाँ थारु, बोटे र मुसहर जातीको सांस्कृतिक नृत्य प्रस्तुत गरेर पाहुनालाई प्रफुल्लित पारिन्छ ।

बेलुकाको खानामा लोकल भाले, हाँस वा माछा मध्ये पाहुनाको रोजाई अनुसार खाना खुवाईन्छ भने विहान चिचर -बाफमा पकाएका अनदीको चामल), सोझुवा रोटी, ढिक्री मध्ये कुनै एक पाहुनाकै रोजाईमा खुवाइन्छ ।

र्फकने बेलामा भने पुनः फुल दिएर थारु युवतीले पाहुनालाई फेरी र्फकन आग्रह गर्दै हँसिलो मुस्कानसहित बिदाई गर्ने चलन छ । यो होमस्टेले जो कसैलाई पनि मोहनी लगाउँछ र फेरीफेरी जान बाध्य गराउँछ । त्यसो त एक पटक पुग्नेले होमस्टेको प्रशंसा गर्दै अर्कोलाई सुनाएपछि दिन दुई गुणा र रात चौगुणा पर्यटक बढ्दो छ अमलटारीमा ।

होटलको गुणस्तरीय सेवा

होमस्टे मात्र हैन पर्यटकीय केन्द्र अमलटारीमा मझौला रेष्टुरेण्टदेखी ठूलठूला होटलसमेत खुलेर भरपर्दो सेवा दिदै आएका छन् ।

अमलटारीमा पहिले जंगलको बिचमा रहेका टाइगर टप्स, टेम्पल टाइगर, मचान कन्ट्री भिल्ला रिसोर्ट देखि नाना होलिडेज रिसोर्ट, आइल्याण्ड टाइगर क्याम्प रिसोर्टसम्मकाले सेवा दिदै आएका छन् ।

त्यस्तै त्यहाँ हिमालय सेञ्चुरी, आदिवासी थारु अतिथि गृहलगायतका मझौला होटलहरुले पनि गुणस्तरीय सेवा दिइरहेका छन् । जसले बिदेशी पर्यटक मात्र हैन स्ट्याण्डर्ड सेवा खोज्ने नेपाली पर्यटकलाईसमेत आकर्षण गरिरहेको छ ।

सस्तो पनि

अमलटारीको अर्को विशेषता भनेको सस्तो र सुलभ हो । प्राकृतिक र सांस्कृतिक हिसाबले भरिपूर्ण र वन्यजन्तु सजिलैसँग देख्न सकिने जंगल सफारी रहेको यो प्रमुख पर्यटकीय केन्द्र अमलटारी आर्थिक हिसाबले पनि सस्तो छ ।

होटलमा बस्नेलाई केहि महङ्गो भएपनि होमस्टेमा बस्नेले केवल ६ सय ५० रुपैयाँमै बेलुकाको डिनर, बस्ने कोठा र विहानको खाजासहितको प्याकेज पाउँछ । जुन अन्य ठाउँको तुलनामा अत्यन्त सस्तो हो ।

जंगल सफारी पनि प्याकेजमा समय अनुसार ५ हजारदेखि ६ हजार रुपैयाँमा गराइन्छ । विहान र बेलुका सफारी गराइने भएकाले पर्यटकले आफ्नो समय अनुसार त्यसको मज्जा लिन सक्छन् ।

पूर्वाधारमा सघाउन आग्रह

स्थानीयले अमलटारीलाई दिगो पर्यटकीय केन्द्रका रुपमा स्थापित गर्नका लागि सघाइदिन आग्रह गरेका छन् ।

दिगो पर्यटकीय केन्द्र बनाउने हो भने पर्यटकीय पूर्वाधार निर्माण गरिनुपर्ने र त्यसका लागि सरकारले सघाउनुपर्ने उनीहरुको भनाइ छ ।

अमलटारी मध्यवर्ती होमस्टेका ब्यबस्थापक धनीराम गुरौ बस्ती ब्यबस्थित पार्नेदेखी जंगल र वन्यजन्तुको संरक्षणका लागि जंगल वरिपरी पर्खालसमेत बनाउनुपर्ने बताउँछन् ।

उनी भन्छन्,’दिगो पर्यटनका लागि अमलटारी प्रवेश गर्ने बाटोमा पिच बाटो निर्माण, बर्खामासमेत आवतजावतमा कुनै समस्या नहुने बनाउनका लागि पक्की पुल, सिमसारको संरक्षण, वन्यजन्तु र जंगल संरक्षणका लागि वन वरिपरी पर्खाल निर्माण गर्नुपर्छ ।’

त्यस्तै पर्यटकले बसेर वन्यजन्तु हेर्नसक्ने खालको वाच टावरसमेत निर्माण गर्नसके पर्यटक बढ्ने उनले बताए ।

यसैगरी डण्डाबाट अमलटारीसम्म सबै ठाउँमा सोलार वत्ति जडान गरेर रातीपनि उज्यालो बनाएर झकिझकाउ बनाउने हो भने अमलटारी बैकल्पिक पर्यटकीय केन्द्र बन्नेमा कुनै सन्देह छैन ।

(अमलटारीको यात्राबाट फर्किएपछि )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment