Comments Add Comment

एबी डी भिलियर्सले लिए सन्यास, भन्छन् – म थाकेँ


९ जेठ, काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् ।

अप्रत्याशित रुपमा आफ्नो सन्यास घोषणा गरेका भिलियर्सले आफू थाकेको र यही नै सही समय भएको बताउँदै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको एक भिडियो सन्देशमार्फत बताएका छन् ।

१४ वर्षे अन्तर्राष्ट्रिय खेल जीवन अन्त्य गरेको बताउँदै ३४ वर्षका भिलियर्सले भने, ‘मैले सबै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको छु । यो हतारमा गरिएको भए पनि मैले लामो समय सोचेर लिएको निर्णय हो । सही निर्णय हो ।’

११४ टेस्ट, २२८ एकदिवसीय र ७८ अन्तर्राष्ट्रि टी ट्वान्टी खेलेका उनले आˆनो खेलमा जमिरहेको बेला सन्यास घोषणा गरेर सबैलाई अचम्मित पारेका छन् ।

‘यो अरु कसैले जिम्मेवारी लिनुपर्ने समय हो । मैले मेरो पारी राम्ररी नै निभाएँ । नढाँटी भन्नुपर्दा म थाकेको छु’ उनले भने, ‘दक्षिण अफ्रिकाका प्रशिक्षक र सबै पदाधिकारीलाई उनीहरुको सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।’

भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार १४ रन बनाएका छन् । जसमा टेस्टमा ८ हजार ७ सय ६५, एकदिवसीयमा ९ हजार ५ सय ७७, टेस्टमा १ हजार ६ सय ७२ रन बनाएका छन् ।

भिलियर्स सन् २०१९ को विश्वकपसम्म मैदानमा रहने आश गरिएका बेला उनको सन्यासले समर्थकहरु चकित भएका छन् । भिलियर्सले आफ्नो खेल जीवनमा सँगै खेलेका सबै खेलाडी साथीहरुलाई पनि धन्यवाद दिए ।

‘हरेक कुराको अन्त्य हुन्छ । मेरो खेल जीवनको पनि अन्त्य गर्ने उपयुक्त समय आएको हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment