Comments Add Comment

आईपीएलः क्वालिफायर-२ मा पुग्यो कोलकाता

राजस्थान रोयल्स २५ रनले पराजित

१० जेठ, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)को एलिमिनेटर राउन्डमा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सलाई २५ रनले हराएको छ । यो जितसँगै कोलकाता क्वालिफायर-२ मा पुग्न सफल भएको छ । अब कोलकाताले शुक्रबार सनराइजर्स हैदरावादसँग फाइनलमा पुग्नका लागि प्रतिस्पर्धा गर्ने छ ।

१७० रनको विजय लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १४४ रनमात्र बनाउन सक्यो । सन्जु स्यामसनले सर्वाधिक ५० रन बनाए ।

यसअघि इडन गार्डेनमा टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६९ रन बनाएको थियो । दिनेश कार्तिकले ५२ र आन्द्रे रसेलले नटआउट ४९ रन बनाए । बलिङ गर्ने क्रममा ३ ओभरमा २२ रन मात्र खर्चिएका रसेलले प्लेयर अफ दि म्याचको अवार्ड पाए ।

राजस्थानको टिमले इडन गार्डेनमा हालसम्म ८ म्याच खेलेको छ । उसले २००८ मा एकपटक जितेको राजस्थानले त्यसपछिका १० वर्षमा इडन गार्डनमा एउटा पनि जित निकाल्न सकेको छैन ।

राजस्थानका कप्तान अजिंक्य रहाणे र राहुल त्रिपाठीले सुन्दर शुरुआत गरेका थिए । दुवैले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरे । त्रिपाठी पियुष चावलाको बलमा २० रनमा आउट भएपछि सन्जु स्यामसन क्रिजमा आए र रहाणेसँग ६२ रनको साझेदारी गरे ।

रहाणे ४६ रनमा कुलदीप यादवको बलमा आउट भए । स्टुअर्ट बिन्नीले एक रन पनि बनाउन नसकेर पेभेलियन फर्किए ।

टस हारेर पहिले व्याटिङ गरेको कोलकाताको शुरुआत निकै खराब थियो । सुनिल नरेन ४ रन बनाएर आउट भए । उनी पहिलो ओभरमै कृष्णप्पा गौतमको शिकार भए । त्यसपछि गौतमले नै रोबिन उथप्पालाई ३ रनमा आउट गरे ।

चौथो ओभरमा जोफ्रा आर्चरले नितिश राणालाई ३ रनमा आउट गरे । चौथो विकेटको रुपमा क्रिस लिन आउट भए । उनी १८ रनमा श्रेयस गोपालको बलमा आउट भए । शुभमन गिलले २८ रन बनाउन सके ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment