Comments Add Comment

सरकारलाई बाबुरामको प्रश्नः पछाडि फर्किन खोजेको त होइन ?

फाइल तस्वीर

१० जेठ, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकारको संघीयताको बुझाइमाथि प्रश्न उठाएका छन् । सरकारको नीति तथा कार्यक्रम विविधता भनिएपनि बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक भन्ने शब्द नै प्रयोग नभएको भन्दै उनले पछाडि फर्कन खोजेको त होइन भन्ने आशंका व्यक्त गरे ।

नीति तथा कार्यक्रममाथि छलफलमा बिहीबार भाग लिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले संघीयताको बुझाइमा समस्या देखिएको बताए । उनले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्, ‘ध्यान नपुर्‍याउनु भएको कि जानीबुझी संविधानको मर्मविपरित गर्नु भएको हो ?’

खसआर्य, किरात -आदिवासी जनजाति) र मधेसी गरी तीन क्लस्टर मिलेर इन्द्रधनुषी राष्ट्रियता बनेको भन्दै उनले विविधता मात्र भनेर नपुग्ने बताए ।

पहिचान र अधिकारसहित संघीयतामा जाने भनेर सहमति भएर नै संघीयतामा गएको भन्दै उनले भने, ‘फरक राष्ट्रियताको रुपमा ग्रहण गर्नुपर्छ । यो दस्तावेज हेर्दा पछाडि फर्किएको हो कि भन्ने लाग्छ ।’

सरकारको नीति तथा कार्यक्रममा विविधता भनिएको छ तर, संविधानले भनेको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक राज्य भन्ने शब्द परेको छैन । संघीय लोकतान्त्रिक गणतन्त्र  पनि भनिएको छैन ।

नीति तथा कार्यक्रममा ‘विविधता कुनै थिचोमिचो र आक्रमणको परीणाम होइन, सभ्यता, भाषा, संस्कृति, विकास एवं राष्ट्र निर्माण प्रक्रियामा हाम्रो भूगोल, इतिहास र विकासक्रमले दिएको यथार्थ हो’ भनिएको छ । नयाँ शक्तिका नेता डा. भट्टराईले भने, ‘यो संविधानको मर्म र भावना विपरित छ ।’

तीन समुदायले इतिहासको कालखण्डमा राज्य गरेको तर, पछिल्लो २०० वर्ष खसहरुको राज्य चलेकाले उनीहरु अगाडि आएको भन्दै उनले सबै उस्तै हुन्, पछाडि पारिएको होइन भन्न नमिल्ने बताए ।

उनले नीति तथा कार्यक्रममा संविधान संशोधन छुटेकोमा पनि असन्तुष्टि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment