Comments Add Comment

केन्द्रीय सचिवालय सदस्य परेनन्, नेताका आफन्तलाई मालामाल

नेकपा केन्द्रीय कमिटीलाई लिएर 'माओवादी'मा तीव्र असन्तुष्टि

फाइल तस्वीर

११ जेठ, काठमाडौं । टंक राई तत्कालीन माओवादी केन्द्रको केन्द्रीय सचिवालयको ३१ औं नम्बरमा थिए । तर, एमाले र माओवादी मिलेर माओवादी केन्द्र बन्दा उनी स्थायी कमिटी वा पोलिटब्यूरो मात्र होइन, केन्द्रीय समितिमा समेत अटाएनन् ।

३२ सालदेखि कम्युनिष्ट आन्दोलनमा रहेका उनी २०७० को चुनावपछि ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको उपाध्यक्ष छाडेर माओवादीमा आएका थिए । उनीसँगै तीन नेता केन्द्रीय सचिवालय सदस्य बने भने ३ नेता पोलिटब्यूरो र ७/८ जना केन्द्रीय कमिटीमा अटाएका थिए ।

एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बन्दा उनीहरु कोही पनि केन्द्रीय कमिटीमा समेत अटाएनन् ।

माओवादी नेताहरुका अनुसार टंक राई त प्रतिनिधि पात्र मात्र हुन् । नेकपामा माओवादीले पाएको २०० केन्द्रीय सदस्य छनोटमा केही नेता हावी हुँदा थुप्रै सिनियर नेताहरु छुटेका छन् भने गुटको टेकोमा केहीले छलाङ मारेका छन् ।

जबकी केन्द्रीय सचिवालयका सदस्य र आमन्त्रित सदस्य स्वतः नेकपाको केन्द्रीय कमिटीमा पर्ने भनिएको थियो । यो सबै जोड्दा ८८ जना हुन्छ । बाँकी पोलिटब्यूरोबाट ल्याउने र केही नयाँलाई पनि लैजाने नेताहरुको समझदारी थियो ।

तर, विना मापदण्ड अमुक नेताले चाहेका पात्र टिपेर नेकपाको केन्द्रीय सदस्य बनाएपछि तत्कालीन माओवादीमा ठूलै असन्तुष्टि देखिएको नेताहरु स्वीकार गर्छन् । धेरै असन्तुष्टि बादलको नेतृत्वमा एकतामा आएका नेताहरुमा छ ।
प्रचण्डले सूची नै देखाएनन्

केन्द्रीय सदस्य छनोट गर्न तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ प्रकाश र रामबहादुर थापा बादल ५ जेठमा ५ घन्टा छलफलमा बसे ।

२३५ जनाको सूची तयार भयो । अझै नाम छुटेको भन्दै नेताहरुको गुनासो थियो । प्रचण्डले ‘सूची बनाउँछु, बसेर फाइनल गरौंला’ भन्दै दुई नेतालाई आश्वासन दिए ।

तर, श्रेष्ठ र बादलले सूची हेर्नै पाएनन् । ७ जेठमा बसेको नेकपाको सचिवालय बैठकमा प्रचण्डले २०० केन्द्रीय सदस्यको सूची पेश गरेका थिए तर, श्रेष्ठ र बादलले त्यहाँ पनि हेर्न पाएनन् । सचिवालयले नाम टाइप गरेर पठाउँछ भनियो ।
श्रेष्ठ र बादलले पटक पटक ताकेता गर्दा पनि केन्द्रीय सदस्यहरुको सूची हेर्न पाएनन् ।

भोलिपल्ट केही सञ्चार माध्यममा आयो । फेरि पार्टी महासचिवले जारी गरेको सूचीमा केही हेरफेर भएको भेटियो ।

तत्कालीन माओवादीका एक नेता भन्छन्, ‘केन्द्रीय सदस्य छनोटलाई लिएर पार्टीमा असन्तुष्टि तीव्र बनेको छ ।’

नेता टंक राईले पनि तत्कालीन माओवादीबाट केन्द्रीय सदस्य छनोटमा धेरै नै समस्या देखिएको बताए तर, यसलाई लिएर सार्वजनिक वक्तव्यबाजी नगर्ने उनले बताए ।

उनले भने, ‘यसले हाम्रो पार्टी कति अव्यवस्थित रहेछ भन्ने ठूलो पाठ सिकाएको छ ।’

यद्यपि अब फेरि केन्द्रीय सदस्य थपेर असन्तुष्टि सम्बोधन गर्न नहुने उनको मत छ । भन्छन्, ‘यसले झन राम्रो गर्दैन ।नेताहरुले अहिले जे कमजोरी देखियो, त्यसका लागि क्षमा गर्नुस्, आगामी दिनमा सच्याउँछौं भन्न सक्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment