Comments Add Comment

प्रदेश ४ देशकै उत्कृष्ट सरकार : मुख्यमन्त्री गुरुङ

१३ जेठ, पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश ४ को सरकार देशकै उत्कृष्ट भएको दाबी गरेका छन् । सरकारको सय दिने कार्य प्रगति सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले सातवटा प्रदेशमध्ये प्रदेश ४ सरकार सर्वोत्कृष्ट भएको दावी गरेका हुन् ।

प्रदेश सरकारले जिरो लेवलबाट काम सुरु गरे पनि एक सय दिनमै राम्रो काम गर्न सफल भएको जिकिर गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘बजेट, नीति तथा कार्यक्रम र कानुन निर्माणमा देशका सातै प्रदेशमध्ये प्रदेश नम्बर ४ सबैभन्दा उत्तम छ ।’

नयाँ संरचना अनुसार भौतिक संरचनाको व्यवस्थापन, कर्मचारी व्यवस्थापन, नीति तथा कानुन र कार्यविधिको निर्माण गर्दै प्रदेश सरकारले आफ्ना कार्यहरु अघि बढाएको उनले बताए । सुरुमा काम धिमा गतिमा अघि बढे पनि प्रदेश सरकारले गति समातेको मुख्यमन्त्री गुरुङले बताए ।

प्रदेश सरकारले पेश गरेका ७ वटा विधेयक प्रदेश सभाबाट पारित भएको र १७ वटा विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिएको उनले जानकारी दिए ।

त्यस्तै सरकारले प्रदेश आकस्मिक कोष सञ्चालन सम्बन्धी विधेयक, स्थानीय तहको कानुन तर्जुमा सम्बन्धी विधेयक र प्रदेश दुग्ध विकास बोर्ड सम्बन्धी विधेयक मन्त्रिपरिषद्वाट स्वीकृत गरेको छ ।

सरकारले प्रदेशको विकासका लागि मुख्यमन्त्रीको अध्यक्षतामा प्रादेशिक विकास तथा सुशासन प्रवर्द्धन समिति र आन्तरिक मामिला तथा कानून मन्त्रीको संयोजकत्वमा कानुन मस्यौदा समिति गठन गरी काम अघि बढाएको छ ।

सरकारको काम चुस्त दुरुस्त बनाउन विद्युतीय सुशासन गुरुयोजना निर्माणका लागि आधार पत्रलाई स्वीकृत गरिएको, स्थानीय तहको केन्द्र विवाद, सीमा विवाद, प्राकृतिक दोहन आदि गुनासो सम्बोधन गर्न समिति गठन गरी प्रतिवेदन कार्यान्वनका लागि पठाएको पनि सरकारको सय दिने उपलब्धीमा उल्लेख गरिएको छ ।

त्यसैगरी प्रदेशको शान्ति सुरक्षालाई मजबुत बनाउन र सुरक्षा प्रणालीलाई जवाफदेही बनाउन प्रादेशिक सुरक्षा समन्वय समिति तथा विपद व्यवस्थापन समिति गठन भएको सरकारको १ सय दिनको कार्य प्रगतिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment