
१३ जेठ, पोखरा । पोखराको फेवातालमा डुबेर आइतबार एक युवक बेपत्ता भएका छन् । आइतबार अपराहृन सवा ३ बजे परेको चट्याङ लागेर घाइते भएका भक्तपुरकमा १८ वर्षीय सुप्रिल लामा डुबेर वेपत्ता भएका हुन् ।
उनी साथीहरुसँगै पोखरा घुम्न आएका थिए ।
फेवातालको उत्तर पश्चिमी क्षेत्रमा पर्ने खपौंदी र पामेको बीचमा डुङ्गा चलाउने क्रममा चट्याङ पर्दा लामा घाइते भएका थिए । चट्याङले लागेर घाइते भएका लामा तालमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । पोखरा घुम्न आएका ५ जना डुंगामा सवार रहेका बेला हावाहुरी, वर्षा र चट्याङ आएपछि डुंगा डुबेको थियो ।
लामासँगै तालमा अन्य ४ जनाको भने उद्दार गरिएको छ । सिन्धुली घर भई भक्तपुर बस्ने १८ वर्षीय विशाल थापालाई भने साथीहरुले तानेर उद्धार गरेका प्रहरीले जनाएको छ ।
उनीहरुसँगै रहेका भक्तपुरका १९ वर्षीय मन्दीप महत, सुशील कुँवर र काठमाडौं सीतापाइलाका १७ वर्षीय अनिल रोक्का भने डुङ्गामा रहेकाले सकुशल उद्धार गरिएको थियो । उद्दारमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी पनि खटिएको थियो ।
बेपत्ता लामाको खोजी भइरहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।
बेपत्ता लामासहित ५ जनाको टोली भक्तपुरबाट घुम्नका लागि पोखरा आएको र सो क्रममा डुङ्गा सयर गर्न गएको बताइएको छ ।
प्रतिक्रिया 4