Comments Add Comment

एसियाका सत्तारुढ कम्युनिस्ट पार्टीका नेताहरु काठमाडौंमा भेला हुने

ओली र प्रचण्डले कार्यपत्र प्रस्तुत गर्ने, दर्जन देशका कम्युनिस्टको भेला

१४ जेठ,काठमाडौं । महान दार्शनिक कार्ल माक्र्सको दुई शतवाषिर्कीको अवसर पारेर विश्वका एक दर्जन बढी देशका कम्युनिस्ट नेताहरु काठमाडौंमा भेला हुने भएका छन् ।

कार्ल माक्र्स द्धिशतवाषिर्की अन्तर्राष्ट्रिय सम्मेलन कमिटीको आयोजनामा विश्वभरका कम्युनिस्ट पार्टीका नेताहरु नेपाल आउन लागेका हुन् ।

कार्ल माक्र्स जन्मिएको २ सय वर्ष पुगेको तथा कम्युनिस्ट घोषणापत्र लेखिएको १७० वर्ष पुगेको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी र नेकपा मसालले सो सम्मेलन आयोजना गर्न लागेका हुन् । जेठ १६ र १७ गते काठमाडौंमा हुने सम्मेलनमा १२ देशका कम्युनिस्ट पार्टीले भाग लिँदैछन् ।

सम्मेलनमा चीन, भियतनाम, उत्तर कोरिया र लाओसका सत्तारुढ कम्युनिस्ट पार्टीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक माधवकुमार नेपालले जानकारी दिए । यसका साथै अष्ट्रेलिया, बंगलादेश, श्रीलंका, दक्षिण अफि्रका, रसिया, भारत, जापान लगायतका देशका कम्युनिस्ट पार्टीका नेता सम्मेलनमा सहभागी हुनेछन् ।

नेपालको सत्तारुढ कम्युनिस्ट पार्टी नै सम्मेलनका आयोजक रहेको सम्मेलनमा एशियाका सबै सत्तारुढ कम्युनिस्ट पार्टीका नेता सहभागी हुँदैछन् । एसियामा चीन, उत्तर कोरिया, भियतनाम र लावसमा कम्युनिस्ट शासन छ । पछिल्लो पटक नेपालमा कम्युनिस्ट पार्टीको करीव २ तिहाई शक्ति सहितको शासन सन्चालन भइरहेको छ ।

कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

सम्मेलनमा ओलीले नेपालको कम्युनिस्ट आन्दोलन र क्रान्तिकारीप्रक्रियाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइयो ।

त्यस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको माक्र्सवाद र समाजवादका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा प्रत्येक देशका कम्युनिस्ट पार्टीका नेताले आआफ्नो देशका अनुभव आदान प्रदान गर्नेछन् ।

नेपालमा शक्तिशाली कम्युनिस्ट पार्टी गठन भए लगत्तै अन्तर्राष्ट्रिय सम्मेलन हुँदा एकताको सन्देश विश्वभर फैलिने पूर्व प्रधानमन्त्री नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment