Comments Add Comment

नेपालमा काँठे पुँजीवाद मौलायो : भट्टराई


१४ जेठ, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुँजीवादको असरको रुपमा नेपालमा काँठे पुँजीवाद मौलाएको बताएका छन् ।

नेपालमा काँठे पुँजीवादको रुपमा कमिसनखोरबाट कमिसन लिने र राज्यसत्ताको दोहन गर्ने प्रवृत्ति देखिएको भन्दै उनले राजनीतिक पार्टीहरु यसकै शिकार भएको बताए ।

‘उत्तर र दक्षिणबाट नेपालमा पुँजीवादी छाल प्रवेश गरेको छ, तर त्यो नेपालमा काँठे पुँजीवादको रुपमा परिणत भएको छ’ सोमबार काठमाडौंमा नयाँ शक्ति पार्टीको युवा संगठनले गरेको कार्यक्रममा उनले भने ‘राज्य सत्तामा हिजोका क्रान्तिकारी मान्छेहरु पुगेका छन् । तर उनीहरु आसेपासे पुँजीवाद अर्थात् कमिसन खोरबाट कमिसन लिने, आफ्नो मान्छेलाई राज्यका विभिन्न ठाउँमा राख्ने, राज्यसत्ताको दोहान गर्ने प्रवृत्ति देखिएको छ यो काँठे पुँजीवादको अभिव्यक्ति हो ।’

काँठे पुँजीवाद (क्रोनी क्यापिटालिजम) को अन्त्यका लागि हिजोको उदारवाद र समाजवादले काम नदिने उनले बताए । ‘काँठे पुँजीवाद विश्व पुँजीवादको अंग हो । यसको अन्त्यका लागि हिजोको उदारवादले काम दिन्छ न समाजवादले काम दिन्छ । यस्तोमा नयाँ विचार खोजी गर्नुपर्छ’ भट्टराईले भने ।

नेपालमा राजनीतिक व्यवस्था फेरिएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि सामाजिक, आर्थिक र साँस्कृतिक अवस्था नफेरिएको भन्दै उनले यसलाई बदल्न हिजोको साम्यवाद वा समाजवादले काम नदिने टिप्पणी गरे । ‘हिजोको साम्यवादी र समाजवादी मोडल अब काम लाग्दैन, लोकतन्त्रमा आधारित समाजवादी ध्रुब अबको विकल्प हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment