Comments Add Comment

वीरगञ्जमा नागरिकस्तरबाट मनाइयो गणतन्त्र दिवस

जनताको गणतन्त्र नआएको गुनासो

१५ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका, जिल्ला प्रशासन लगायत अन्य सरकारी निकायबाट कुनै सार्वजनिक कार्यक्रमको आयोजना नगरिएपनि वीरगञ्जमा नागरिक स्तरबाटै गणतन्त्र दिवस मनाइ्एको छ ।

११ औं गणतन्त्र दिवसको अवसरमा वीरगञ्जमा नागरिक स्तरबाट मंगलबार बिहान प्रभातफेरिको आयोजना गरिएको हो ।

स्वतन्त्र मानव अधिकार समाज केन्द्रीय कार्यालय पर्साको आयोजनामा गणतन्त्र दिवसको अवसरमा प्रभातफेरिको आयोजना गरेको थियो ।

वीरगञ्जको घण्टाघरबाट निकालिएको प्रभातफेरि आदर्शनगर घडिअर्वा हुँदै पूनं घण्टाघरमा आएर कोण सभामा परिणत भएका थियो ।

घण्टाघर चोकमा भएको कोणसभामा बोल्ने वक्ताहरुले गणतन्त्रको अनुभूति आम सर्वसाधरणले गर्न नपाएको बताएका छन् ।

उनीहरुले आम सर्वसाधरणले समेत गणतन्त्र आएको अनुभूति हुनेगरी कामहरु देखिनुपर्नेमा जोड दिएका छन् ।

वीरगञ्ज महानगरपालिकाका प्रवक्ता सुमन श्रेष्ठले भने महानगरपालिकाले वर्षेनी गणतन्त्र दिवसमा कार्यक्रम गर्दै आएको तर यसपाली के कार्यक्रम गर्ने भन्ने तय नभएको प्रतिक्रिया दिए । ‘गणतन्त्र दिवसमा कार्यक्रम राख्ने गरिएको छ ।तर यसपाली के कार्यक्रम गर्ने भन्ने टुंगो लागेको छैन ।’ उनले भने ।

मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष कृष्णकुमार खनालले सबै मिलेर गणतन्त्र ल्याईएको भएपनि दिवस मनाउन कसैले चासो नदिने गरेको बताए । ‘राजनीतिक दलहरु, विद्यार्थी युवाहरु मिलेर गणतन्त्र ल्याएका छौं । तर सबै मिलेर गणतन्त्र दिवस मनाउनुपर्छ भन्ने भावना देखिएको छैन,’ अध्यक्ष खनालले भने ‘ गणतन्त्रमा जुन किसिमले नियम कानुनहरु लागू हुनुपर्ने हो त्यसो हुन सकेको छैन । जनताले गणतन्त्रको राम्रोसँग अनुभूति नै गर्न पाएका छैनन् ।’

नेपाल संघीय समाजवादी पार्टीका उपाध्यक्ष राजकुमार यादवले आंशिक रुपमा मात्रै गणतन्त्र स्थापना भएको बताए ।

‘सरकारले जनतालाई गणतन्त्र के हो ? संघीयता के हो ? समाजवाद के हो ? भनेर बुझाउन सकेको छैन । जनताको घर घरमा गणतन्त्र, संघीयता र समाजवादका बारेमा जानकारी पुग्नुपर्छ । तबमात्र जनताले त्यसबारे बुझ्छन र अधिकार खोज्छन्,’ उनले भने, ‘वर्तमान राजनीतिक अवस्था हेर्दा, नेतृत्वहरुको क्रियाकलाप हेर्दा उनीहरुले गणतन्त्रलाई पूर्ण रुपमा स्थापित गर्लान भन्नेमा आशंका छ । गणतन्त्र संघीयता र समाजवादाई कसरी स्थापित गराउन सकिन्छ ? भनेर दिर्घकालिन सोच बनाएर जानुपर्छ ।’

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछानेले जनताले अझै गणतन्त्र आएको अनुभूति गर्न नसकेको बताए । ‘संघीयताले अधिकारको सिर्जना गर्छ तर अझैपनि अन्योलता देखिएको छ ।

हामीलाई अधिकार प्राप्त भएन भन्ने कुरा जनप्रतिनीधिहरुबाटै सुनिन्छ । त्यसको अब अन्त्य हुनुपर्छ,’ उनले भने, ‘कुशलता पूर्वक व्यवहारिक हिसाबले अभ्यास गर्दै लैजाँदा यस्ता समस्या समाधान हुने अवस्था आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment