+
+

देशका लागि खेल्दा जस्तो उत्साह अरु खेलमा हुन्नः सन्दीप

'वर्ल्ड ११' का लागि आज बेलायत जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १५ गते १४:३०

१५ जेठ, काठमाडौं । वेष्ट इण्डिजविरुद्ध टी ट्वान्टी क्रिकेटका लागि आईसीसी ‘वर्ल्ड ११’ मा परेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आफूले अवसर पाए त्यसमा राम्रो खेल प्रदर्शन गर्ने बताएका छन् ।

केही दिन अघि इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर फर्किएका उनले त्यसमा राम्रा खेलाडीसँग खेल्न पाएको र नयाँ अनुभव लिएको बताए ।

तीन महिना सँगै दिल्ली टिममा पारिवारिक वातावरण रहेको र धेरै कुरा सिक्न पाएको उनले बताए । त्यो अवसर नेपाली खेलाडीको लागि नौलो भएको बताउँदै उनले भने, ‘सबैको माया मसँग छ । हरेक अवसरका लागि आफू योग्य छु भन्ने सोचेर दबाव महसुस नगरी खेलेँ । अगाडि पनि आएका अवसरमा आˆनो खेल देखाउने छु ।’

आफूले आफूमाथि विश्वास राखेर अघि बढ्दा सफलता मिल्दै जाने उनले बताए ।

आईपीएल र वल्र्ड ११ बीचमा धेरै फरक भए पनि मैदानमा हुने खेलमा कतै पनि भिन्नता नहुने र आफूले सक्दो राम्रो गर्ने उनले सुनाए । देशका लागि खेल्दा गर्व लाग्ने र केही प्रेसर महसुश हुने उनको भनाइ छ ।

देशको लागि पहिलो खेल खेल्दा जस्तो उत्साह र खुशी अन्य कुनै कुराले नदिएको अनुभव उनले बताए । ‘नेपालका लागि खेल खेल्ने अघिल्लो रात मलाई निन्द्रा लागेको थिएन । त्यस्तो उत्साह अरु कुनै पनि खेलका लागि हुँदैन’ उनले भने ।

‘हामी धेरै नै हतारिन्छौँ । कुनै पनि कुरामा त्यसरी हतारिनु हुँदैन । खेल्न पाए पनि नपाए पनि क्रिकेटको ठूलो लेभलमा पुग्नु, नयाँ अनुभव लिनु राम्रो कुरा हो ।’

खेल ३१ मेमा बेलायतको लड्र्समा हुनेछ । आज राति ९ बजे कतार एयरवेजबाट त्यसतर्फ प्रस्थान गर्ने उनले आˆनो नयाँ नयाँ अनुभवले क्रिकेटमा अझ राम्रो गर्दै अघि बढ्न सहयोग गरेको बताएका छन् ।

बंगलादेशका सकिल अल हसनले व्यक्तिगत कारण नाम फिर्ता लिएपछि सन्दीपले ‘वर्ल्ड ११’ मौका पाएका हुन् । उनका लागि यो ऐतिहासिक खेल हुनेछ ।

किनकी उनको टोलीको कप्तान इयान मोर्गान हुन् । यस्तै टिममा साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, शोयब मल्लिक, हार्दिक पाण्डेया, थिशारा परेरा, लुक रोन्ची जस्ता खेलाडी छन् ।

खेल वेस्ट इन्डिजको क्यारेबियनमा गएको वर्ष आँधिका कारण जीर्ण बनेको स्टेडियम पुनः निर्माणका लागि हुन लागेको हो ।

वेस्ट इन्डिज टी ट्वान्टी विश्वकप विजेता टोली हो । जसमा स्यामुअल बदि्र, कार्लोस ब्रेथवेट, क्रिस गेल, इभिन लुइस, मार्लोन स्यामुअल्स, एन्द्रे रसेल जस्ता टी ट्वान्टीको उत्कृष्ट खेलाडीहरु रहेका छन् ।

सन्दीपले सन् २०१६ जुलाईमा लडर्समै एमसीसीविरुद्ध नेपाली टोलीबाट खेल्दा २५ रन खर्चेर एक विकेट लिएका थिए । जसमा नेपाल विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?