Comments Add Comment

नेपालका लागि न्युजिल्याण्डका अवैतनिक वाणिज्य दूत लिजा चोग्याल सम्मानित

१६ जेठ, काठमाडौं । नेपालका लागि न्युजिल्याण्डका अवैतनिक वाणिज्य दूत एवं पर्यटन व्यवसायी लिजा चोग्याललाई न्युजिल्याण्डको सरकारले सम्मान गरेको छ ।

नेपालसँगको सम्वद्ध सुदृढ गर्न निर्वाह गरेको भूमिकाको कदर गर्दै न्युजिल्याण्डको सरकारले चोग्याललाई ‘न्युजिल्याण्ड अडर अफ मेरिट’ सदस्यको रुपमा सम्मानित गरेको हो ।

वेलिङ्टनमा जेठ ३ गते आयोजित एक समारोहमा न्युजिल्याण्डका गर्भनर जनरल डेम पेट्सी रेड्डीले चोग्याललाई ‘न्युजिल्याण्ड अर्डर अफ मेरिट’ सदस्यको तक्माले विभूषित गरेका थिए । यो न्युजिल्याण्ड सरकारले प्रदान गर्ने उच्चतम् पदकहरूमध्ये एक हो । चोग्यालका छोराहरू स्याङ्जे र रिन्छेन पनि समारोहमा उपस्थित थिए ।

चोग्यालले सन् २०१० देखि नेपालमा न्युजिल्याण्डको अवैतनिक दूतको भूमिका निर्वाह गर्दै आएकी छिन् ।

२०७२ वैशाख १२ गते नेपालमा आएको विनाशकारी भूकम्पमा फसेका न्युजिल्याण्डका नागरिकहरूको खोजी र उद्धारमा चोग्यालले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । उनले भूकम्पपछिको पुनर्निर्माणका लागि न्युजिल्याण्डले नेपाललाई उपलब्ध गराएको सहयोगको परिचालनमा पनि सहजीकरण गरेकी थिइन् ।

दिगो पर्यटन, हिमालमा फसेका पर्वतारोहीहरूको उद्धार र नेपालको सम्पदा संरक्षणम चोग्यालले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरिएको थियो । नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षाको अवसर प्रदान गर्न छात्रवृत्ति जुटाउने कार्यमा पुर्‍याएको योगदानको पनि प्रशंसा गरिएको थियो ।

सगरमाथा आरोहणको ६५ औं वार्षिकोत्सव मनाउन यसै साता नेपाल आएका न्युजिल्याण्डका राजदूत जोआना केम्प्कर्स्ले चोग्याल ‘न्युजिल्याण्ड अडर अफ मेरिट’ पदकको सही हकदार रहेको विचार व्यक्त गरिन् ।

‘लिजाले बितेको एक दशकमा अवैतनिक वाणिज्य दूतको रुपमा न्युजिल्याण्डलाई विशिष्ट सेवा पुर्‍याएकी छिन्’, राजदूत केम्प्कर्स्ले भनिन्, ‘न्युजिल्याण्ड र नेपालको सम्बद्ध सुदृढ गर्न पुर्‍याएको योगदानको कदर गर्दै न्युजिल्याण्ड सरकारले लिजालाई यो पदकले सम्मानित गर्दा म निकै सन्तुष्ट भएकी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment