Comments Add Comment

प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश ४ को जित, हरि गौचनको तारिफयोग्य खेल

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर ४ ले प्रदेश नम्बर १ लाई १२९ रनले हराएको छ ।

प्रदेश ४ को जितमा हरि गौचनको अलराउण्ड प्रदर्शन महत्वपूर्ण रहृयो । शतकीय पारी खेलेका उनैले ४ विकेट पनि लिए ।

त्रिवि मैदान कीर्तिपुर भएको खेलमा टस जितेर ब्याटिङ रोजेको प्रदेश नम्बर ४ ले पूरा ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको प्रदेश नम्बर १ ले ३५ ओभरमा १८१ रन बनाउँदा सबै विकेट खेल फाल्यो ।

प्रदेश १ का लागि सन्दीप ढुंगानाले ५५ बलमा ७१ रन, मिनास थापाले १३ बलमा १९ रन, श्रवण यादवले २९ बलमा १९ रन बनाउनु बाहेक अन्यले उल्लेख्य रन जोड्न सकेनन् ।

प्रदेश नम्बर ४ का हरि गौचनले ५ ओभरमा १९ रन दिएर ४ विकेट लिए । विपिन खत्री र राजु गुरुङले दुई/दुई साथै सन्तोष न्यौपाने र गोविन्द प्रधानले एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको प्रदेश ४ का लागि हरि गौचनले ११५ बलमा ८ चौका र १ छक्कासहित १०० रन बनाए । सुमा घिमिरेले ५३ बलमा ८३ रन बनाए । विपिन खत्रीले ९ बलमा २३ रन हाने । मञ्जिल न्यौपानेले ४३ बलमा २८ रन बनाएका थिए ।

प्रदेश नम्बर १ का पुष्प थापा र सन्दीप ढुंगानाले दुई/दुई विकेट लिए । मनोज तामाङ र मिनास थापाले एक/एक विकेट लिए ।

प्रतियोगितामा सात प्रदेशका ७ टिम र ३ विभागीय टिम गरी १० टिम सहभागी छन् ।

जेठ २९ गतेसम्म चल्ने प्रतियोगिताका लागि सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताका समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै म्यान अफ द सिरिजले एक लाख र विधागत उत्कृष्ट हुनेले जनही ५० हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताका खेलहरु मुलपानी मैदान र त्रिवि मैदानमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment