Comments Add Comment

नेपाली फिल्ममा निकै लापरवाही छः शिल्पा मास्के(भिडियो कुराकानी)

‘राम्रो अभिनय गर्ने नायिकाको टप ५ मा पर्छु’

हलिउड, बलिउड सिनेमाको अनुभव संगाल्दै नेपाली चलचित्रमा प्रवेश गरेकी नायिका शिल्पा मास्के नेपाली चलचित्रको केही कुराबाट खुशी छिन् त केही कुराबाट दिक्क पनि । थोरै मात्र नायिका यस्ता हुन्छन्, जो यहाँको वास्तविकता खुलेर भन्न सक्छन् । शिल्पा त्यही सूचीमा पर्ने एक नायिका हुन् ।

लण्डनमा बसेर पढेकी शिल्पालाई ‘दि ब्रेकअप’ चलचित्रका लागि मुख्य नायिकामा अफर आउँदा उनलाई लाग्यो, म यसका लागि योग्य छु । शिल्पा खुलेरै भनिन्–‘मलाई चलचित्रमा अफर आउँदा म यसका लागि पूर्ण रुपमा लायक छु भन्ने लागेको थियो । किनकी, एउटा चलचित्रमा कलाकार हुनका लागि त्यती सहज छैन ।’

सबैभन्दा पहिले शिल्पाले अभिनय गरेको चलचित्र ‘कागजपत्र’को बारेमा चर्चा गरौ, जुन भोलीबाट रिलिज हुँदैछ । ‘कागजपत्र’ले के बोल्छ, शिल्पाले यो प्रश्नमा भनिन्–‘यसमा कमेडी धेरै छ । तर, यसले विदेश जानका लागि हुने फेक बिहेदेखि बनाउनुपर्ने थुप्रै कागजपत्रको कथा भन्छ । नेपाली समाजको वास्तविक चित्र उतारेर निर्देशक अपिल बिष्टले चलचित्र बनाउनुभएको छ ।’

अमेरिका वा अष्ट्रेलिया जानका लागि कागजमा बिहे गर्ने चलन नेपालमा ह्वात्तै छ । यही कुरालाई रमाइलो तरिकाले यसमा प्रस्तुत गरिएको शिल्पाको भनाई थियो । तपाइलाई ‘दि ब्रेकअप र कागजपत्र’ मध्ये कुन चलचित्रमा काम गर्दा रमाइलो लाग्यो, शिल्पाले भनिन्–‘मेरा लागि दुबै कथा विशेष थिए । दुबैमा फरक भूमिका पनि छ । दर्शकले कागजपत्र हेर्दा पनि मलाई दि ब्रेकअपकी नायिका भनेर संझिनुहुन्न । तर, मेरा लागि चुनौतीपूर्ण कागजपत्र थियो ।’

फलोअर्स धेरै हुने हिरोइन हुनु दुःखद
शिल्पाले पछिल्लो समयमा नेपाली चलचित्र बजारमा देखिएको एउटा संकारको पनि खुलेरै टिप्पणी गरिन् । अहिले, फेसबुक, इन्स्टाग्राम, टिकटकमा फलोअर्स धेरै हुनेलाई नायिका वा नायक बनाउने चलन बढेको छ । शिल्पा यो बिषयमा उदेक मान्दै भन्छिन्–‘म न्यू कमर भएकाले पनि यो कुरा गरिरहेको छु । मलाई थाहा छ चलचित्रमा अभिनय गर्नका लागि कती दुःख गर्नुपर्छ । मैले कती कुराहरु सिकेको छु । हाम्रोमा एजेन्सी छैन, अडिसनको संकार छैन । कुनै फलोअर्स धेरै भएको कलाकार ल्याउनु नराम्रो होइन । तर, उसलाई अभिनय सिकाउनुपर्छ । दर्शक हलमा गएपछि उदेक मान्दै फर्किनुहुन्छ, यसको प्रत्यक्ष असर राम्रो अभिनय गर्ने कलाकारमा पर्छ ।’

राम्रो कलाकार भन्दा तपाइलाई असर पर्छ कि पर्दैन भन्ने प्रश्नमा उनले ‘पर्छ’ भन्ने जवाफ दिइन् ।

लामो समयका लागि आएकी हुँ
लण्डनमा पढेकी यूवती, केही चलचित्रमा काम गरेर फेरि उतै बस्ने त होलिन् भन्ने पनि सोचिन्छ । के शिल्पा लामो योजनाका साथ यो क्षेत्रमा आएकी हुन् त ? शिल्पा भन्छिन्–‘ म यो क्षेत्रमा आउनका लागि केही बर्ष अगाडिदेखि नै तयार थिएँ । मैले जब चलचित्रको सेटमा अभिनय गरेँ, मलाई गर्न सक्छु भन्ने लाग्यो । मैले धेरै चलचित्रको सेटमा काम गरेकी छु, क्यामेरा अगाडि पनि गरेकी छु, पछाडि पनि गरेकी छु । नेपाली चलचित्रबाट अफर आउँदा म लामो समयसम्म काम गर्छु भन्ने सोच लिएर नै आएकी हुँ ।’

नेपाली फिल्म रोज्नुको कारण
हलिउड र बलिउडमा समेत घुलमिल भैसकेकी शिल्पा किन नेपाली चलचित्रमा आकर्षित भएकी होलिन् ? शिल्पा भन्छिन्–‘हो, म मान्छु यहाँ काम गर्न सजिलो पनि छ । यहाँ चाडै चर्चामा पनि आइन्छ भन्ने हो । बलिउड र हलिउडमा काम गर्न त्यती सहज छैन । किनकी, त्यहाँ कुनै कलाकारलाई हेरेर चलचित्र लेखिदैन । अर्कोतिर, मेरो परिवार पनि यही हुनुहुन्छ । मलाई पनि नेपाली चलचित्रमा काम गर्न मन लागेको थियो । अर्कोतिर, यो क्षेत्रमा नायिकाको कमी पनि छ भन्ने सुनेको थिएँ । म यहाँ काम देखाउन सक्छु भनेर आएकी हुँ ।’

हामी धेरै पछि छौ
शिल्पाले नेपाली चलचित्रमा लापरवाही बढी भएको बताइन् । प्रि प्रोडक्शनमा नेपाली चलचित्रकर्मीले निकै नै लापरवाही गरेको उनको तर्क छ । उनले भनिन्–‘यहाँ पनि कथा राम्रो हुन्छ । जब, कुनै कलाकारलाई यो भूमिका दिने भनेर भन्नुहुन्छ, मलाई रिस उठ्छ । सुहाउँदै नसुहाउने कलाकारलाई भूमिका दिएर हुन्छ ? प्राविधिक रुपमा हामी साउन्डमा एकदमै कमजोर छौ । पटकथा त हाम्रो झनै एकदमै कमजोर छ । दर्शकले आफ्नै दिमाग लगाएर वुझ्नुपर्छ कि चलचित्र र पात्रले के भन्न खोजेका हुन् । यी कुरामा हामीले ध्यान दिन आवश्यक छ ।’

शिल्पाले नेपाली चलचित्रले धेरै कुरामा सुधार गर्नुपर्ने तर्क गरिन् । उनी भोलीबाट रिलिज हुन लागेको चलचित्र ‘कागजपत्र’बाट निकै नै आशावादी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment