१८ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल, स्कट्ल्याण्ड, नेदरल्याण्ड्स र संयुक्त अरब इमिरेट्स (युएई) लाई एकदिवसीय टिमको वरियतामा समावेश गरेको छ ।
आईसीसीले एक दिवसीय क्रिकेटका उदाउँदा टिमको रुपमा चार देशलाई विस्तारित एक दिवसीय (ओडीआई) टिम वरियतामा समावेश गरेको हो ।
आईसीसीले जुन १ अर्थात शुक्रबारदेखि लागू हुने गरी नेपालसहित स्कटल्याण्ड, नेदरल्याण्डस र युएईलाई वरियतामा समावेश गरेको हो ।
यी चार देशलाई सहभागी गराउनका लागि आईसीसीले शीर्ष १२ टिमको वरियतालाई विस्तार गरेको छ ।
यसको अर्थ नेपालसहितका चार देशले अब खेल्ने एक दिवसीय खेललाई वरियता निर्धारणका लागि मान्य हुने खेलका रुपमा हेरिने छ । अर्थात अब हरेक एक दिवसीय खेलबाट वरियताका लागि अंक निर्धारण हुनेछ ।
नेदरल्याण्डसले गएको वर्ष आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि जितेर एक दिवसीय मान्यता पाएको थियो । यस्तै स्कटल्याण्ड, नेपाल र युएईले आईसीसी क्रिकेट विश्वकप छनोट, २०१८ मा शीर्ष तीनमा पर्न सफल एसोेसिएट राष्ट्रको रुपमा एक दिवसीय मान्यता पाएका हुन् ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा २८ अंकसहित स्कटल्याण्ड १३ औं स्थानमा छ । यस्तै युएई १८ अंकसहित १४ औं स्थानमा छ । नेदरल्याण्डससँग १३ अंक छ भने नेपालसँग रेटिङका लागि चाहिले अंक छैन ।
तर, नेपाल र नेदरल्याण्डसले अब चार वटा एक दिवसीय खेल खेलेपछि आईसीसीको एक दिवसीय वरियतामा आˆनो स्थान बनाउने छन् ।
एक अर्काविरुद्ध खेल्ने हरेक खेलबाट टिमले वरियताका लागि चाहिने अंक पाउने छन् । सन् २०१५ को मे १ देखि ३० अपि्रल २०१७ सम्मका खेलको अंक भार ५० प्रतिशत र सन् २०१७ को मे १ यताका खेलको अंक भार १०० प्रतिशत हुने आईसीसीले जनाएको छ ।
वरियतामा नयाँ थपिएका नेपालसहितका चार देशको वरियता क्रममले तालिकामा पहिलेदेखि नै रहेका टेस्ट मान्यता प्राप्त १२ देशको वरियतामा भने कुनै असर गर्ने छैन । नेपाल र नेदरल्याण्डसले वरियतामा पर्नका लागि चार खेल खेल्नु पर्नेछ । वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड रहेको छ ।
प्रतिक्रिया 4