Comments Add Comment

उद्योगमा अब हाइ भोल्टेज प्रसारण लाइनमार्फत् विद्युत्


२३ जेठ, काठमाडौं । अब उद्योगले ‘हाइ भोल्टेज’ लाइनबाट विद्युत् पाउने भएका छन् । नेपाल विद्युत प्राधिकरणले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरमा उच्च क्षमताका प्रसारण लाइन बनाउन लागेको छ ।

सञ्चालनमा रहेका औद्योगिक क्षेत्रमा हाल ३३ केभी प्रसारण लाइनबाट मात्रै विद्युत् आपूर्ति गरिरहेको प्राधिकरणले अब १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत् उद्योगलाई विद्युत दिन लागेको हो ।

यसका लागि प्राधिकरणले अहिले औद्योगिक तथा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना हुने सम्भावित जिल्ला सुनसरी, सिराहा, धनुषा, मकवानपुर, चितवन, नवलपरासी, रुपन्देही लगायतका जिल्लामा उच्च क्षमताका प्रसारण लाइन तथा सब स्टेसन निर्माण गरिरहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको निर्देशनमा प्राधिकरणले औद्योगिक क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या समाधान गर्न काम सुरु गरेको हो । यसका लागि सब स्टेसनको क्षमता स्तरोन्नती तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सब स्टेसन बनाउने लगायतका काम गरिरहेको छ । सरकारले पनि सिमेन्ट उद्योगमा लगानी आकषिर्त गर्न उद्योगसम्म सडक र विद्युत आपूर्तिका लागि पूर्वाधार बनाउने घोषणा गरिसकेको छ ।

४५६ मेगावाटको माथिल्लो तामाकोसी लगायतका जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएपछि आन्तरिक उत्पादनबाटै विद्युत आपूर्ति पुग्ने र उत्पादित विद्युत खपत गर्न नसकी खेर जान नदिन योजनाबद्ध रुपमा प्राधिकरण लागेको हो । अहिले प्रसारण तथा सब स्टेसनको क्षमताले नधान्ने भएकाले प्राधिकरणले मागअनुसार उद्योगलाई विद्युत दिन सकिरहेको छैन ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार, आइतबार, सोमबार र मंगलबार ती जिल्लामा निर्माणाधीन प्रसारण लाइन तथा सब स्टेसन आयोजनाको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।

‘जनकपुर, हेटौडा, चितवन, भैरहवा लगायतका क्षेत्रमा रहेका उद्योग तथा आगामी दिनमा विस्तार हुन सक्ने उद्योग र सेजलाई केन्दि्रत गरेर ती क्षेत्रमा १३२ केभीको प्रसारण लाइनको रिङ नै बनाउने गरी काम गरिरहेका छौं,’ घिसिङले भने, ‘यस्तो पूर्वाधार तयार भएपछि एकतर्फ मागअनुसारको विद्युत् आपूर्ति गर्न सक्छौं भने अर्कोतर्फ टि्रपिङ हुने लगायतका समस्या पनि समाधान गर्न सकिन्छ ।’

उनले उद्योगलाई विद्युत दिँदा खपत बढ्ने र चुहावट पनि नियन्त्रण हुने बताए । ‘लोडसेडिङ अन्त्य भएको छ, अब दुई वर्षमा धेरै आयोजनाको निर्माण सम्पन्न हुने भएकाले विद्युत् खपतका लागि माग बढाउनु छ’, घिसिङले भने । यसका लागि ‘थि्र फेज मिटर’ जडानलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

नवलपरासी र रुपन्देहीमा सञ्चालनमा रहेका र सम्भावित उद्योगलाई केन्दि्रत गरेर प्राधिकरणले प्रसारण लाइन तथा सव – स्टेसन निर्माण गरिरहेको छ । प्राधिकरणले चिनीयाँ लगानीमा सञ्चालन हुन लागेको होङसी शिवम् सिमेन्टलाई विद्युत् आपूर्तिका लागि नवलपरासीको बर्दघाटबाट सर्दीसम्म १३२ केभीको डबल सर्किट प्रसारण लाइन बनाउन सुरु गरिसकेको छ ।

एउटा लाइनबाट होङसीलाई विद्युत् आपूर्ति गर्ने र अर्को लाइनबाट त्यस क्षेत्रमा सर्वसाधारण उपभोक्ता तथा आगामी दिनमा खुल्न सक्ने उद्योगलाई दिने गरी प्रसारण लाइन बनाउन लागिएको हो । यसैगरी जोइकुटीबाट मैनैयासम्म १३२ केभीको प्रसारण लाइन निर्माण भइरहेको छ ।

मैनैयामा १३२/३३ केभीको सव स्टेसन निर्माण भइरहेको छ । यो बनेपछि अर्घाखाँची लगायतका सिमन्ट उद्योगले व्यहोरिरहेको विद्युत आपूर्तिको समस्या समाधान हुने छ । नवलपरासीमा स्थापना हुने सिमन्ट उद्योगलाई लक्षित गरी सुनौलीमा १३२/३३/११ केभीको सव स्ेटसन निर्माण हुन लागिरहेको छ ।

यसैगरि, नवलपरासीको बडेरामा नेपाल-र भारतबीच विद्युत व्यापारका लागि बन्न लागेको दोस्रो क्रस बोर्डर प्रसारण लाइन, कालिगण्डकी करिडोर प्रसारण लाइनका लागि २५ विघामा क्रमश ः ४४०/२२० र २२०/१३२ सव – स्टेसन निर्माण सुरु भइसकेको छ । यहाँबाट भैरहवा क्षेत्रमा स्थापना हुने उद्योगलाई विद्युत् आपूर्ति गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment