Comments Add Comment

मुख्यमन्त्रीलाई चेपाङ अगुवाले भने : हाम्रा सन्ततिले गिठाभ्याकुर खोज्नु नपरोस्

२३ जेठ, पोखरा । चेपाङ अगुवाहरुले आफ्ना सन्तानलाई गिठा भ्याकुर खोज्नुपर्ने अवस्थाबाट मुक्त गर्न प्रदेश ४ सरकारसँग आग्रग गरेका छन् ।

बुधबार नेपाल चेपाङ संघका पदाधिकारीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटेर चेपाङ युवाहरुलाई सीप सिकाएर गिठा भ्याकुर खोज्नु नपर्ने बनाइदिन आग्रह गरेका हुन् ।

‘हाम्रा सन्ततिलाई गिठाभ्याकुर खोज्ने होइन, सीप सिकाइदिनू’ उनीहरुले भने ।

चेपाङ विकास, जनता आवास र उच्च प्राविधिक शैक्षिक छात्रवृत्तिको माध्यमबाट आफ्ना समुदायको उत्थान हुने वातावरण बनाइदिन चेपाङ अगुवाहरुले मुख्यमन्त्रीलाई आग्रह गरे ।

भिरालो, पाखो, जंगल तथा नदी छेउछाउका ऐलानी र अव्यवस्थित जमिनमा बसोबास गरी ६ महिना अन्न र ६ महिना जंगलका गिठा, भ्याकुर, कन्दमुल, साग सिस्नु खाएर जीवन निर्वाह गर्नुपर्ने चेपाङ प्रतिनिधिको दुखेसो छ ।

गाउँगाउँमा सिंहदरबार भन्दै स्थानीय तह र प्रदेश सरकार निर्माण आए पनि चेपाङहरुले त्यसको अनुभूति गर्न नपाएको बरु पाइरहेको सुविधा पनि कटौती हुँदै गइरहेको उनीहरुले बताए ।

नेपाल चेपाङ संघका अध्यक्ष जितेन्द्र चेपाङले वर्षमा ३ देखि ६ महिनामात्र आफूले उब्जाएको अन्नले खान पुग्ने भएकाले सरकारले स्वरोजगारका कार्यक्रम ल्याउनुपर्ने र आफूहरुले भोगचलन गर्दै आएको अव्यवस्थित जमिनलाई व्यवस्थित गराइदिनुपर्ने बताए ।

चेपाङ जातिलाई जनता आवास कार्यक्रम अन्तर्गत उचित भूमिसहित बसोवासको ब्यवस्था र प्राविधिक विषयमा उच्च शिक्षाका लागि छात्रवृत्तिको कार्यक्रमहरु सरकारले तय गरेको भए पनि अन्योलमा रहेको उनले बताए ।

आयमूलक, सीपमूलक, क्षमता विकासजस्ता कार्यक्रम सञ्चालन गरी आफ्नो समुदायका जीवनस्तर उठाइ दिन नेपाल चेपाङ संघ गोरखाका उपाध्यक्ष बीलबहादुर चेपाङले जानकारी दिए ।

मुख्यमन्त्री गुरुङले आफ्नो प्रदेशका चेपाङ जातिहरुका बारेमा प्रदेश सरकारले चासोका साथ सम्बोधन गर्ने बताए ।

चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङको टोलीमा पूर्वसभासद गोविन्दराम चेपाङ, गोरखा सहिद लखन गाउँपालिका ४ का अध्यक्ष कृष्णबहादुर चेपाङले आˆनो समुदायको उत्थानमा सहयोग गर्न आग्रह गरे ।

गोरखा, धादिङ, मकवानपुर, चितवनलगायत ६ जिल्लामा बसोबास गर्ने चेपाङ समुदायका प्रतिनिधिले आफ्ना सन्तानलाई सीप सिकाएर आफूहरुले जस्तो दुख नपाउने व्यवस्था मिलाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment