Comments Add Comment

अपहरणमा परेका बालकको गोली हानी हत्या


२८ जेठ, गौर । रौतहटको कटहरीया नगरपालिका ९ बाट गत शनिवार राति अपहरणमा परेका १३ वर्षीय बालक युवराज साहको गोली हानेर हत्या गरेको अवस्थामा शव फेला परेको छ ।

कटहरीया ९ डुमरिया टोलका चिकित्सक दिलिप साहको छोरा युवराज शनिवार राति घरमा सुतिरहेकै अवस्थामा हराएका थिए । परिवारका सदस्यहरुसँगै सुतेका युवराजलाई अज्ञात समूहले ओछयानबाटै लगेका थिए । कटहरीया नगरपालिकाभन्दा १५ किलोमिटर टाढा गढीमाई नगरपालिका ५ को बाग्मती नदी किनारमा आज बिहान बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

बालक अपरहणमा परेपछि अपहरणकारीले बालकका बाबु दिलिप साहको मोबाइलमा फोन गरेर एक करोड रुपैयाँ फिरौती मागेका थिए । अपहरणकारीले १ करोड रुपैयाँ मागेको भोलिपल्ट नै बालकको शव परेको हो ।

बालक हराएको खबर पाएलगत्तै खोजतलासमा जुटेको प्रहरीले सोमबार बिहान युवराजको शव फेला पारेको थियो । बालकको कन्चटमा एक गोली प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा ल्याइएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वृन्दावन नगरपालिकाका विनोद कुमार पटेल, रवी कुमार पटेल, कटहरीया ९ डुमरियाका प्रविण राय यादव, शक्ति राय यादव र सुनिल कुमार यादव रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

प्रहरी नियन्त्रणमा रहेका पाँचै जनासँग घटनाबारे सोधपुछ तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment