Comments Add Comment

ट्रम्प-किम वार्तास्थलमा खटिए गोर्खा प्रहरी

२८ जेठ, काठमाडौं । सिंगापुरमा मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवार्ता हुँदैछ । यो वार्तालाई यो शताब्दीकै उच्च महत्वको कुटनीतिक वार्ता भनिएको छ । यसको सुरक्षाको जिम्मा गोर्खा प्रहरी पाएका छन् ।

खैरो बर्दी लगाएका, हतियारले सुसज्जित, राइफल बोकेका गोर्खा प्रहरी अफिसरहरु यो कुटनीतिक वार्ताको महत्वपूर्ण अंग बनेका छन् ।

सोमबार गोर्खा प्रहरीहरु उच्च सुरक्षा सतर्कताका साथ सेन्ट रेजिस सिंगापुरअघि देखापरे, जहाँ आइतबार दिउँसो किम आइपुगेका थिए।

ट्रम्प र किमले सुरक्षाका लागि आधुनिक हात हतियारले सुसज्जित सुरक्षाकर्मीहरु ल्याएका छन् । किमका सुरक्षाकर्मी गाडीमा यताउता हिँडिरहेका देखिन्छन् ।

सिंगापुरले नेपालका युवा र बलिया व्यक्तिलाई सन् १९४९ देखि सिगापुर पुलिसमा भर्ती गर्न थालेको हो । हालसम्म सिंगापुरमा १८०० गोर्खा प्रहरी अधिकृत छन् । उनीहरु नियमित रुपमा उच्च सुरक्षा कार्यमा खटिएका हुन्छन् ।

ट्रम्प र किमबीचको वार्ताको सुरक्षा गर्न पाउनुलाई गोर्खाहरुले आफ्नो महत्वपूर्ण जिम्मेवारीको रुपमा लिएका छन् । ‘यति महत्वपूर्ण कार्यक्रमको सुरक्षा गर्न पाउनु गोर्खाहरुका लागि धेरै नै गर्व गर्नलायक जिम्मेवारी हो’ बेलायती सेनामा ३७ वर्ष सेवा गरेका कृष्णकुमार आलेले भने ‘हामीलाई संसारका महत्वपूर्ण दुई व्यक्तिले आफ्नो सुरक्षाका लागि विश्वास गरेको देखियो ।’

सन् २०१५ मा सिंगापुरमा भएको सांग्रिला डायलगमा विश्वका धेरै देशका रक्षा मन्त्री र उच्च सुरक्षा अधिकारीहरु सहभागी थिए । त्यस क्रममा गोर्खा प्रहरीले गोली हानेर एक जना ड्राइभरलाई मारिदिएका थिए । ती ड्राइभरले सम्मेलनस्थलको बाहिर आफ्नो कारले बाटो अवरुद्ध गरेका थिए । यद्यपी त्यस घटना सुरक्षासँग सम्बन्धित नभइ लागू औषधसँग सम्बन्धित भएको पाइएको थियो ।

ट्रम्प र किमबीचको वार्तामा ५ हजार प्रहरी परिचालन हुने सिंगापुरका कानुन तथा आन्तरिक मामिला मन्त्री के सानमुगमले आइतबार बताएका छन् । सिंगापुर प्रहरीभित्र गोर्खा प्रहरी विशेष रुपमा रहनेछन् ।

गोर्खा नाम नेपालको पहाडी जिल्ला गोरखाबाट रहन गएको हो । १९ औं शताब्दीमा उनीहरुले ब्रिटिस आर्मीविरुद्ध युद्ध गरेका थिए । पछि पहिलो र दोस्रो विश्वयुद्धमा झण्डै २ लाख गोर्खाहरुले युद्ध लडेको अनुमान गरिएको छ । त्यहाँ उनीहरुले आफ्नो युद्धकला र बहादुरीमा ख्याती कमाएका थिए । उनीहरुको परम्परागत धारणा नै कायर भएर बाँच्नुभन्दा मर्नु निको हुन्छ भन्ने रहेको छ । गोर्खाहरुले फकल्याण्डको युद्ध, खाडी युद्ध, कोसोभो र अफगानिस्तानमा पनि लडाइ गरेका छन् ।

सन् १९४७ सालमा बेलायती उपनिवेशबाट भारत स्वतन्त्र भएपछि नेपाल र भारतबीच चार गोर्खा रेजिमेन्ट भारतीय सैनिकमा रुपान्तर गर्ने सहमति भएको थियो । कुनै बेला बेलायतको उपनिवेशमा रहेका सिंगापुर र मलेसियाले पनि गोर्खाहरुलाई प्रहरी र सेनामा जागिर दिने गरेका छन् ।

नेपालमा भने गोर्खा सैनिकमा भर्ती हुन विभिन्न देशमा जानु गरीबीबाट मुक्ति पाउने एउटा उपाय हो । गोरखा भूतपूर्व सैनिक संगठनका अनुसार एक वर्षमा २६० जना ब्रिटिश गोर्खाका लागि करिब १० हजारले प्रतिस्पर्धा गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment