Comments Add Comment

नारायणगढ–मुग्लिन सडक सहज भएसँगै सौराहामा पर्यटक बढे


३१ जेठ, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड बिस्तार भएसँगै चितवनको सौराहामा पर्यटकहरुको चहलपहल बढन थालेको छ । अहिले वर्षाको समयलाई ‘अफ सिजन’ मान्ने गरिएपनि सौराहामा पर्यटकहरुको चहल पहल भने बाक्लिएको छ । यसलाई व्यवसायीहरुले नारायणगढ–मुग्लिन सडकखण्डमा आएको सहजताको कारणका रुपमा अर्थाएका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्डमा घन्टौं जाममा बस्नुपर्ने भएपछि सौराहामा बाह्य एवम् अन्तरिक पर्यटक आउन असहज हुँदा व्यवसायीहरु समस्यामा परेका थिए । अहिले सडकखण्ड एक घण्टाभन्दा पनि कम समयमा सहजै पार गर्न सकिने भएपछि पर्यटकहरु बिस्तारै बढ्न थालेका छन् ।

सौराहामा अहिले भारतीय र चिनियाँ पर्यटकहरु बढी देखिन्छन् । होटलहरुको अकुपेन्सी दर बढेको क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष सुमन घिमिरेले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार गत वर्ष यहि समयमा १० देखि १५ प्रतिशत रहेको होटलको अकुपेन्सी दर अहिले २० देखि २५ प्रतिशत पुगेको छ ।

अब दशैं तिहार लगत्तै पर्यटकहरु सौराहामा बढ्ने आशा व्यवसायीहरुले गरेका छन् । अहिले बढ्दो गर्मी र वर्षाका कारण पर्यटकहरु त्यति आउँदैनन् । आउने सेप्टेम्बरदेखि सौराहामा पर्यटकहरु उल्लेख्य मात्रामा आउने विश्वास व्यवसायीको छ । ‘नारायणगढ–मुग्लिन सडकखण्ड सहज हुनु जिल्लाकै पर्यटन र होटल व्यवसायका लागि सकारात्मक सन्देश हो, हामी आशावादी छौं,’ क्षेत्रिय होटल संघ नेपाल सौराहाका अध्यक्ष घिमिरले भने, ‘चितवनको पर्यटनमा आन्तरिक पर्यटकहरुको नै भूमिका महत्वपूर्ण छ, अब पर्यटकहरुको चहलपहल बढ्छ ।’

उनले सौराहाका पर्यटन व्यवसायी पर्यटकहरुलाई सबै खाले सुविधा उपलब्ध गराउन र स्वागत गर्न आतुर रहेको बताए । ‘अब चितवन र सौराहा आउन बाटोका कारणले कुनै पनि समस्या छैन, राजधानी काठमाडौं, पोखरा, बुटवल लगायतका स्थानबाट ३–४ घण्टामा सजिलै सौराहा आउन सकिन्छ,’ अध्यक्ष घिमिरेले भने, ‘चितवनको पर्यटनलाई हवाईभन्दा सडकबाट आउने पर्यटकले सहयोग पुर्याउँछ ।’

विगतमा भूकम्प, नाकावन्दी, बाढी डुबान एवम् नारायणगढ–मुग्लिन सडकखण्डको कारण धरापमा परेको यहाँको पर्यटन व्यवसाय अब सुध्रिने दिशामा गएको भन्दै व्यवसायीहरु उत्साही भएको सौराहाका होटल व्यवसायी रामप्रसाद रिजालले बताए ।

पर्यटकलाई सौराहा भित्राउन यहाँका व्यवसायीहरुले विगतमा वैकल्पिक उपाय के हुन सक्छ भन्ने बारेमा समेत प्रयास नगरेका होइनन् । तर पनि भरपर्दो माध्यम नहुँदा व्यवसायी खुम्चिन बाध्य भएका थिए । तर अब सहज अवस्था आएको उनीहरु बताउँछन् ।

सौराहामा करिब १ सय १० होटल छन् । रेस्टुराँ तथा बार एसोसिएसन (रेवान)अन्तर्गत् ५२ वटा रेस्टुराँ आवद्ध छन् ।

निकुञ्जमा पनि बढे पर्यटक

चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्यासमेत वृद्धि हुन थालेको छ । निकुञ्जका अनुसार चालु आर्थिक वर्षको १० महिनामा एक लाख ३३ हजार १७१ पर्यटकले निकुञ्ज र मध्यवर्ती सामुदायिक वन घुमेका छन् । गत आर्थिक वर्षभरिमा एक लाख ३९ हजार ९७८ पर्यटकले निकुञ्ज घुमेका थिए । चालु आर्थिक वर्षको दुई महिनाको संख्यामा यसमा समावेश छैन ।

चालु आर्थिक वर्षमा निकुञ्ज आउने पर्यटकहरुमा तेस्रो देशबाट ८८ हजार ९३९, सार्क देशका १३ हजार ४०८ र नेपाली ३० हजार ८२४ रहेका छन् ।

पर्यटक बढेसँगै राजश्व पनि बढेको छ । यस अवधिमा २१ करोड ५० लाख ७१४ राजश्व संकलन भएको छ । गत आर्थिक वर्षमा २२ करोड ५१ लाख ६३ हजार ४०९ रुपैयाँ राजश्व संकलन भएको थियो । पर्यटकहरुको संख्या आगामी वर्षमा अझै बढ्ने विश्वास निकुञ्जले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment