Comments Add Comment

लाङटाङ: अँध्यारोबाट उज्यालोतिरको यात्रा


१ असार, काठमाडौं । भूकम्पलगत्तैको लाङटाङ, बीच अवधिको लाङटाङ र पछिल्लो अवधिको लाङटाङको एउटा सग्लो र सकारात्मक कथा झल्कने ‘लाङटाङ जर्नीः ट्रेजेडी टु इन्स्पिरेसन’ शीर्षकको कार्यक्रम राजधानीमा सम्पन्न भएको छ । लाङटाङ सदभावना दूत अशोक सिलवालको आयोजनामा भृकुटीमन्डपस्थित नेपाल पर्यटन बोर्ड (एनटीवी)को अडिटोरियम हलमा कार्यक्रम आयोजना गरिएका थियो ।

कार्यक्रममा सिलवालले उनी निर्देशित ‘घर फर्किरहेका मान्छे’ र ‘लाङटाङ अपडेटः वेकिङ एन्ड वाकिङ्’ शीर्षकका दुई वृत्तचित्र प्रदर्शनमात्र गरेनन्, भूकम्पपछि पटक पटक लाङटाङ जाँदाको रोचक र मार्मिक अनुभव सुनाएका थिए । ‘घर फर्किरहेका मान्छे’ शीर्षकको पहिलो वृत्तचित्रमा सिलवालले उनीसँगै लाङटाङ फर्किंदै गरेका स्थानीयको कथालाई समेटेका छन् । दोस्रो वृत्तचित्र ‘लाङटाङ अपडेटःवेकिङ एन्ड वाकिङ्’ भूकम्पपछि लाङटाङ ट्रेक गर्दै गरेको पहिलो विदेशी पदयात्री समूहको सुसांकेतिक कथा हो ।

‘मृत्युबाट जीवनमा फर्केको लाङटाङको लयलाई कार्यक्रममार्फत देखाउने मेरो प्रयास हो । भूकम्प र हिमपहिरोको वियोगबाट उठेको यो हिमालयको कथा अरु थुप्रै गाउँ र ठाउँका लागि प्रेरणा बन्नेछ’, कथावाचन र श्रव्यदृश्यसहितको कार्यक्रमको सुरुमा निकै भावुक भएर बोल्न समेत नसकेका सिलवालले भने, ‘तपाईंहरुको यो बेजोड उपस्थिति भूकम्पको भयानक त्रासदीबाट उत्रेर जीवनको उज्यालोमा फर्किएका लाङटाबासीप्रतिको सम्मान पनि हो ।’

‘भूकम्पले पुरै बगाएको लाङटाङ अहिले पुरानै स्वरुपमा आइसकेको छ । अझ त्यसभन्दा पनि बढी सुविधासम्पन्न भएको छ । पहिले बिजुली बत्ती थिएन, अहिले क्यान्जीङमा उत्पादित बिजुलीले क्यान्जीङ, सिन्धुम, मुन्डु, लाङटाङ गाउँ र गुम्बा डाँडा उज्यालिएको छ । क्यान्जीङमा वाइफाई सेवा पहिलो पटक सुरु भएको छ । भूकम्पमा श्रीमान गुमाएकी एकजना स्थानीयले श्रीमती गुमाएको अर्को पुरुषसँग विवाह गरेर मृत्युपछि पनि नयाँ व्यवस्थित जीवन सुरु गरेको भेटें’, सदभावना दूत सिलवालले दर्शक अतिथीलाई सोधे, ‘के यो अँध्यारोबाट उज्यालोतिरको यात्रा होइन ?’

उनले त्यसोभन्दा हलमा उपस्थित दर्शकले निकै बेरसम्म ताली बजाएका थिए ।

१२ वैशाख २०७२ को विनाशकारी भूकम्प र लगत्तैको हिमपहिरोपछि मानवविहीन बनेको पर्वतीय पर्यटनको एउटा विशेष केन्द्र लाङटाङमा पैदलै पुग्ने सिलवाल पहिलो पत्रकार हुन् । टुर/ट्रेकिङ गाइड एवम् प्रशिक्षक समेत रहेका सिलवालले वृत्तचित्र, आलेख, अन्तर्वार्ता आदिको माध्यमबाट भूकम्पपछिको लाङटाङको वस्तुस्थितिलाई प्रकाशमा ल्याई पदयात्रा पर्यटनमा आधारित त्यहाँको हिमाली जीवनलाई पुरानै लयमा फर्काउन महत्वपूर्ण योगदान पुर्याएका थिए ।

लाङटाङ क्षेत्रको पर्यटकीय पुनस्थापनाको लागि अभियानकै रुपमा लागिरहँदा उनलाई समग्र लाङटाङबासीको तर्फबाट लाङटाङ मेनेजमेन्ट एन्ड रिकन्स्ट्रक्सन कमिटीले लाङटाङ सदभावना दूतको उपाधिसहित सम्मान गरेर त्यस क्षेत्रको पर्यटकीय विकासमा सक्रिय हुन अझ ठूलो जिम्मेवारी दिएको थियो । लाङटाङ क्षेत्रको पुनःस्थापनामा विशेष योगदान पुर्याएको भन्दै टेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) र राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपाल (निट–नेपाल)ले पनि उनलाई पुरस्कृत गरेर अझ बढी सक्रिय रहन प्रोत्साहन गरेका थिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, कवि नवराज लम्साल, चिन्तक डम्बर खतिवडा, निट–नेपालका अध्यक्ष दीपक महत, स्थानीय तेम्बा लामा लगायतले सिलवालको लाङटाङ उत्खनन् र त्यसको लोभलाग्दो फलोअपको प्रशंसा गरे । कार्यक्रममा लाङटाङ सदभावना दूत सिलवालले पहिलो पटक आफुसँगै लाङटाङ गएका जनार्दन खतिवडा र बलराम न्यौपानेलाई सहयात्री सम्मान गरे भने पहिलो पटक लाङटाङ यात्राको आयोजना गर्ने निट–नेपाल, अन्तराष्ट्रिय लाङटाङ म्याराथुन प्रतियोगिता गर्दै आएको टान र भूकम्पलगत्तै गठित लाङटाङ मेनेजमेन्ट एन्ड रिक्न्सन्ट्रक्सन कमिटीका प्रतिनिधीलाई पनि सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment