Comments Add Comment

सरकारलाई थप प्रभावकारी बनाउने नेकपाको निर्णय

२ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धयले सरकारलाई सफल बनाउने दिशामा एकताबद्ध भएर अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको पहिलो स्थायी समिति बैठकले पार्टी एकता अदितिय र असाधारण भएको निष्कर्ष निकालेको छ । पार्टी एकताले कार्यकर्तासँगै जनतामा उत्साह छाएको पाइएको उसले बताएको छ ।

बैठकले एकतालाई थप सुदृढ गर्दै संगठनात्मक संरचनालाई छिटो अन्तिम रुप दिनु पर्नेमा जोड दिएको छ ।

स्थायी कमिटीको बैठकमा सरकारको कामकारबाहीबारे पनि छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सरकारको कामले जनतामा सकारात्मक प्रभाव परेको ठहर गर्दै बैठकले अझ राम्रो गर्न आत्मसमिक्षा गर्दै अघि बढ्ने निर्णय गरेको छ ।

बैठकमा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामलाई प्रभावकारी र परिणाममुखी बनाउने दिशामा अघि बढ्न निर्देशन दिएका छन् ।

स्थायी समिति बैठकले पार्टी नियमावलीबारे १० दिनभित्र सुझाव दिन स्थायी समिति सदस्यहरुलाई भनेको छ । त्यसका आधारमा सचिवालयले स्थायी कमिटीमा प्रस्ताव ल्याउनेछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्टमन्त्री प्रदीप ज्ञवालीले आसन्न चीन भ्रमणारे जानकारी गराएका छन् । यो भ्रमण ऐतिहासिक रुपले सफल हुने विश्वास लिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment