Comments Add Comment

मन्त्रीहरुलाई सत्तारुढ सांसदको प्रश्न-फेसबुकमा लोकप्रिय हुने कि जिम्मेवारी बहन गर्ने ?

नेकपाका सांसदले यसकारण मिस गर्दैछन् विष्णु पौडेललाई

३ असार, काठमाडौं । ‘समाजवाद पहिले मन्त्रीलाई आएपछि मात्र सांसदलाई आउने हो ? यही ताल हो भने जनतासम्म समाजवाद पुग्ला ?’ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को संसदीय दलको बैठकमा ओखलढुंगाका सांसद यज्ञराज सुनुवारले यो प्रश्न गर्दा धेरै सांसदले ताली बजाए ।

प्रतिनिधिसभामा सत्तापक्षकै सांसदहरुले विपक्षीको भन्दा चर्को स्वरमा मन्त्रालयगत बजेट बिनियोजनप्रति आक्रोश व्यक्त गरेपछि नेतृत्वले उनीहरुलाई सम्झाउन शनिबार संसदीय दलको बैठक डाकेको थियो । तर, सांसदहरु झन् चर्को स्वरमा प्रस्तुत हुन थालेपछि समय अभाव भन्दै शीर्ष नेताहरु बैठक नै स्थगित गरेर हिँडेका छन् ।

दुई तिहाइ बहुमत प्राप्त कम्युनिस्ट सरकार बजेटमा आफ्नै सांसदहरुको आलोचना झेलिरहेको छ । संसद र संसदीय दलमा मात्र होइन, शनिबार बसेको पार्टीको पहिलो स्थायी कमिटी बैठकमा पनि मन्त्रीहरुको कामकारवाहीप्रति असन्तुष्टि प्रकट भएको छ । संसदीय दललगत्तै बसेको स्थायी कमिटी बैठकमा पनि सरकारको काम कारवाहीबारे प्रश्न उठेपछि थप प्रभावकारी बनाउने निर्णय गरेर बैठक टुंगियो ।

पछिल्लो समय विशेष गरी आर्थिक वर्ष २०७५/७६ को बजेट आएपछि नेकपाभित्र असन्तुष्टि बढेको छ । जनतालाई ठूलाठूला आश्वासन दिएर आएका सांसदहरु निराशा र आक्रोश व्यक्त गर्न ठाउँ नभेटिएको भन्दै संसदमा बोल्न बाध्य भएका छन् । मन्त्रालयगत बिनियोजन माथिको छलफलमा सांसदहरुले मन्त्रीविरुद्ध आक्रोश व्यक्त गरेपछि हतार-हतार आवाज मत्थर पार्न दलको बैठक बोलाइएको स्रोतले जनाएको छ ।

दलको बैठकमा सुरुमै प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदमा बजेटको विरोध नगर्न निर्देशन दिएका छन् । उनले जायज कुराको सुनुवाई होस् भन्ने चाहेको हो भने संसदमा बोल्नुनपर्ने बताए । उनले दुई-चारजनाले आक्रोश व्यक्त गर्दैमा केही नहुने भन्दैमा अनुशासन र नियममा बस्न निर्देशन दिए ।

तर, ओलीको निर्देशनलगत्तै नेता भीम रावलले आपत्ति जनाए । उनले भने-प्रधानमन्त्री पहिले अनुशासनमा बस्नुपर्छ । नियम सांसदलाई मात्र होइन तपाईंलाई पनि लागू हुनुपर्‍यो ।’

रावलले असन्तुष्ट सांसदहरुको नेतृत्व गर्न खोजेको जस्तो देखिए पनि नेकपामा बजेट र मन्त्रीहरुको कार्यशैलीप्रति आक्रोश चुलिँदो छ । बजेटले घोषणापत्र र लोकपि्रय कार्यक्रम बिर्सिएको तथा मन्त्रीहरुले मन्त्रालयगत बजेट विनियोजन गर्दा आफ्नो निर्वाचन क्षेत्र र त्यसमाथि आफ्नो टोलमा केन्दि्रत भएको आरोप सांसदहरुले लगाएका छन् ।

संसदीय दलको बैठकमै यज्ञराज सुनुवारले विष्णु पौडेल अर्थमन्त्री हुँदा विपक्षले बजेटको आलोचना गर्ने ठाउँ नपाएर विज्ञहरु बोलाएको स्मरण गरे । नेकपाका सांसदहरुले यतिसम्म टिप्पणी गर्न थालिसके कि कांग्रेसलाई डाक्टरले डुबाए, हामीलाई पनि डाक्टरले नडुबाउन् । उनीहरुको टिप्पणी अर्थमन्त्रीको रुपमा डा. रामशरण महत र डा. युवराज खतिवडाको बजेट एकै प्रकारको भएको सन्दर्भमा हो ।

नेकपाका सांसदहरुले विष्णु पौडेललाई अर्थमन्त्रीको रुपमा मिस गरिरहेको डोटीबाट निर्वाचित प्रेम आलेले बताए । ‘हिजो विष्णु पौडेलले ल्याएको बजेटको बचाउ गर्दा हामीलाई गर्व लाग्थ्यो, आज हामी रक्षात्मक भएका छौं,’ उनले भने, ‘अर्थमन्त्रीप्रति कुनै गुनासो छैन । उहाँले विज्ञताका आधारमा ल्याउनुभयो तर, मन्त्रीहरुले गरेको मनपरी सैहृय भएन ।’

विष्णु पौडेलले ल्याएको बजेटलाई मात्र निरन्तरता दिएको भए पनि सांसदले जनतासमक्ष मुख देखाउने अवस्था हुन्थ्यो भन्दै बजेटले रक्षात्मक बनाइदिएको उनीहरुको गुनासो छ । तर, शीर्ष नेतृत्वले भने अर्थमन्त्रीले सल्लाह गरेर अर्थतन्त्र सही दिशामा ल्याउने बजेट ल्याएको जवाफ दिएको छ । शुरुका दुई वर्ष अर्थतन्त्र सही ठाउँमा ल्याएर त्यसपछि लोकपि्रय कार्यक्रम ल्याउने आश्वासन दिएर सांसदलाई थामथुम पार्न खोजिएको छ ।

तर, सांसदहरुको आक्रोश त्यतिमा सीमित छैन । मन्त्रीहरुले सांसदलाई बेवास्ता गरेको र भेट्नसमेत नपाएको आरोप लगाएका छन् । जनता र कार्यकर्ताको काम लिएर जाँदा मन्त्रीहरुले व्यक्तिगत काम नल्याउन भन्दै तनहुँका सांसद किसान श्रेष्ठले मन्त्रीहरु लोकपि्रयताका लागि विधि, पद्धति र जिम्मेवारीभन्दा बाहिर गएर काम गर्न थालेको आरोप लगाए । उनले संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितलाई ‘तपाईं त फेसबुके मन्त्री हुनुहँुदोरहेछ’ भनेर टिप्पणी गरेको प्रत्यक्षदर्शी एक सांसदले सुनाए ।

सांसदहरुले पर्यटनमन्त्री रविन्द्र अधिकारी र युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माप्रति बढी असन्तुष्ट जनाएका छन् । मन्त्रालयगत छलफल बाँकी रहेकाले अरु मन्त्रीहरुप्रतिको आक्रोश सुन्न बाँकी छ । तर, नेतृत्वले थप आक्रोश संसदमा पोखिन नदिन दलको बैठक बोलाएर सांसदको बोलीमा अंकुश लगाउन खोजेको छ ।

नेकपाका सांसदहरुले मन्त्रीको काम ‘सुखी नेपाली, समृृद्ध नेपाल’ निर्माण गर्नेतर्फ होइन, आफ्नो वडा र टोलमा केन्दि्रत भएको आरोप लगाएका छन् । मन्त्रीले जुन जिम्मेवारी हो । त्यो पूरा नगरेर अरु नै काम गर्दै फेसबुक र सामाजिक सन्जालमा ‘लोक रिझ्याई’ गरिरहेको भन्दै पार्टीका विभिन्न फोरममा असन्तुष्टि व्यक्त भइरहेको छ ।

उनीहरुले शीर्ष नेतृत्वलाई पनि मन्त्रीकै कारण पार्टी र सरकार असफल हुने चेतावनी दिइरहेका छन् । नेकपाको स्थायी कमिटी सदस्यसमेत रहेका एक सांसदले भने-मन्त्रीहरु स्टन्टबाजीमा लागे । एकछिनको लोकप्रियता कमाउन अन्यत्रै हात हालेर हिँडेका छन् । ठेकेदार, एनजीओ र व्यवसायीतिर हात हालेर फेसबुकमा चर्चा पाए पनि ऐन कानुन बदल्नेतिर चासो छैन । जिम्मेवारी बिर्सिएर सस्तो लोकपि्रयताको पछि दौडिए मन्त्रीहरु ।’

प्रधानमन्त्री ओली चीन भ्रमणबाट फर्किएपछि नेकपा संसदीय दलको बैठक पुनः बस्नेछ । बैठकमा सांसदमात्र होइन, बरिष्ठ नेताहरुकै तहबाट मन्त्रीलाई प्रचारमुखी होइन, परिणाममुखी बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइने एक स्थायी कमिटी सदस्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment