Comments Add Comment

राजस्वको लक्ष्य भेट्न सरकारलाई मुस्किलः एक महिनामै उठ्ला एक खर्ब ?


४ असार, काठमाडौं । सरकारलाई चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व उठाउन मुस्किल हुने देखिएको छ । तर, सरकारी अधिकारीहरुले अहिलेसम्म लक्ष्य प्रभावित नहुने दावी गरिरहेका छन् ।  एक महिनामै एक खर्ब  राजस्व उठाएर लक्ष्य भेट्न सहज भने छैन ।

चालु आर्थिक वर्षमा सरकारले ७ खर्ब २८ अर्ब राजस्व संकलन गर्ने संशोधित लक्ष्य लिएको छ । तर, अब एक महिनाभित्रैमा झण्डै एक खर्ब राजश्व उठेमात्रै सो लक्ष्य पुरा हुने देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले असार २ गते (शनिबार)सम्म ६ खर्ब ३१ अर्ब राजस्व उठाएको छ ।

यसअनुसार ३० दिनमा सरकारले ३० दिनमा ९७ अर्ब राजश्व उठाउनुपर्ने देखिन्छ ।  दैनिक ३ अर्ब २ करोड राजस्व उठाउन सरकारलाई दबाव  छ । तर, लक्ष्य भेट्न मुस्किल भएपनि असम्भव भने  नरहेको राजस्व अधिकारीहरुदावी गर्छन् । अान्तरिक राजस्व विभागले अन्तम महिनामा ५० अर्ब बढी राजस्व उठाउने भएकाले अपेक्षा गर्ने ठाउँ बाँकी रहेको उनीहरूको तर्क छ ।

सरकारले यो वर्ष अघिल्लो वर्षकोभन्दा झण्डै ३० प्रतिशत बढी राजस्व उठाउने गरी लक्ष्य तय गरेको थियो । हचुवाका भरमा राजस्व लक्ष्य तय हुँदा लक्ष्य भेट्न नै मुस्किल हुने अवस्था आएको हो ।

अर्थ मन्त्रालयले राजस्व लक्ष्य भेटाउन चुहावट रोक्न प्रयास नगरेको पनि होइन । अर्थमन्त्रीका रुपमा युवराज खतिवडा आएपछि भन्सार मूल्यांकनमा सरकारले कडाइ गरेको थियो ।

सूचना मूल्यसूचीलाई आधार मानेर भन्सार उठाउन थालेपछि व्यवसायीले सरकारलाई राजस्व उठ्तीमा नै प्रभाव पर्ने गरी दबाव सिर्जना गरेका थिए । तर, बजेटको पूर्वसन्ध्यामा आयात हुने धेरै वस्तुमा भन्सार दर थपिने संकेत पाएपछि व्यवसायीले फटाफट समान छुटाएका थिए ।

राष्ट्र बैंकको आयात भुक्तानी प्रवृत्ति प्रतिवेदन अनुसार अहिले भारतबाट हुने कुल आयातमा ३५ प्रतिशतभन्दा धेरै राजस्व चुहावट हुने गरेको छ । न्यून विजकीकरण, चोरी-पैठारी लगायतका कारण पनि राजस्वको लक्ष्य भेट्न समस्या हुँदै आएको छ ।

जेठमा के भयो ? 

सरकारले बजेटमार्फत भन्सार, अन्तशुल्क लगायतका करका दर तथा दायरा बढाएपछि त्यसको प्रभाव जेठ महिनामा भने देखिएको थियो । भन्सार विभागले जेठ महिनामा तोकिएको लक्ष्यभन्दा ५ अर्ब बढी राजस्व संकलन गरेको छ ।

यो वर्षको तेस्रोपटक विभागले मासिक लक्ष्य भेट्न सकेको हो । जेठमा २९ अर्ब रुपैयाँ लक्ष्य लिएकोमा ३४ अर्ब बढी राजस्व उठेको छ ।

भन्सार विभागले लक्ष्यअनुसार राजस्व उठाउने हो भने ३० दिनमा ४२ अर्ब राजस्व उठाउनुपर्नेछ । ३२५ अर्बको राजश्व उठाउने लक्ष्य राखेको विभागले जेठसम्म २८२ अर्ब उठाएको छ । जेठसम्म भने भन्सार लक्ष्य २९३ अर्ब थियो ।

भन्सार राजस्व बढेपछि सरकारले समग्रमा जेठमा ६४ अर्ब रुपैयाँ राजस्व उठाएको छ । लक्ष्य भने ५८ अर्बको थियो । जेठमा लक्ष्यभन्दा ६ अर्ब बढी बढी राजस्व उठेपनि अझै समग्र लक्ष्यभन्दा असुली करिब ७ अर्ब रुपैयाँले कम छ ।

आन्तरिक राजस्व विभागले भने जेठसम्मको लक्ष्यभन्दा ७ अर्ब रुपैयाँ बढी असुली गरिसकेको छ । जेठ महिनामा मात्रै विभागले २ अर्ब बढी राजस्व उठाएको छ ।

गैरकर राजस्वको उठ्ती पनि त्यति सन्तोषजनक छैन । जेठमा लक्ष्य भेट्न नसके पनि गैरकर राजस्व जेठसम्म ५ अर्ब बढी उठिसकेको छ ।

भन्सार विभागका महानिर्देशक तोयम राय लक्ष्यकै हाराहारीमा भन्सार संकलन हुने दावी गर्छन् । जेठसम्म लक्ष्यभन्दा १० अर्ब कम भन्सार उठेपनि अन्तिम महिनामा त्यसलाई पूर्ति गर्न सकिने अपेक्षा रायको छ ।

‘विकासका काम भए आयात पनि बढ्छ । हामी लक्ष्यको हाराहारीमा पुग्छौं भन्नेमा छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment