Comments Add Comment

चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने राष्ट्रपति सीको विश्वास

६ असार, बेइजिङ । राष्ट्रपति सी जिनपिङले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गरेका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार भएको भेटमा राष्ट्रपति सीले नेपालको विकास यात्रामा साझेदार बन्न चीन तयार रहेको बताएका हुन् ।

पूर्वाधार विकास नेपालको प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री ओलीले रेल्वे र उत्तर दक्षिण जोड्ने सडक तथा नाका खुलाउनुपर्नेमा जोड दिएका थिए । जवाफमा राष्ट्रपति शीले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गरेका छन् ।

रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता पनि हुँदैछ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार रेल्वबारे भइरहेको पूर्वसम्भाव्यता अध्ययन अगष्टमा सक्ने समझदारी हुन लागेको हो ।

[sam_list] पूर्वसम्भाव्यता अध्ययनपछि डेढ वर्षमा डीपीआर तयार पार्ने र त्यसको ५ वर्षमा रेल निर्माण सक्ने योजना छ । तर,  रेल्वे निर्माणको मोडालिटी टुंगिएको छैन । नेपालले नेपालले अनुदानमा बनाइदिन आग्रह गरेको छ ।

चीनले पूर्ण अनुदानमा बनाउन नमाने केही अनुदान र केही सहुलियतपूर्ण ऋणमा भएपनि बनाउने सरकारको योजना छ । यो रेल नाफा घाटा भन्दा पनि रणनीतिक महत्वको भएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘मोडालिटीबारे हामी छलफलमै छौं । तर, हामी आफ्नो तर्फबाट पनि योगदान गर्न तयार छौं ।’

राष्ट्रपति सी नेपालले अघि सारेको प्राथमिकता र दृष्टिकोणको सानिध्यमा रहेको पाएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘छलफलबाट हामी उत्साहित छौं ।’

स्वागत गर्न आतुर छौं : ओली

भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताएका छन् । सीले एसियाका धेरै देशको भ्रमण गरेको उल्लेख गर्दै उनले नेपाली जनताले पनि स्वागतको चाहना राख्नु स्वभाविक भएको बताएका छन् ।

नेपालमा स्थायित्व भएको र यो उपयुक्त समय भएको भन्दै शीले दुबैतर्फ अनुकुल समय मिलाएर नेपाल आउने बताएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment