Comments Add Comment

पप्पुको बदमासीः निर्माण नसकिँदै भत्काउनुपर्ने भयो टेकु पुल

१० असार, काठमाडौं । टेकुमा निर्माणाधीन पुलमा पप्पु कन्सट्रक्सनले गम्भीर लापरवाही गरेको भेटिएको छ ।

भर्खरै ढलान भएको ६० मिटर लामो पुलमा त्रुटी भेटिएपछि काठमाडौं दिगो शहरी यातायात आयोजनाले भत्काउन निर्देशन दिएको छ । आयोजनाको प्राविधिक परामर्शलाई अटेर गरी काम गरेको पाएपछि भत्काउन निर्देशन दिइएको आयोजनाका प्रमुख अनन्त आचार्यले अनलाइनखबरसँग बताए ।

आयोजनाकाअनुसार परामर्शदाता कम्पनीले पुल ढलानका क्रममा तारको ज्याकिङ नमिलेको रिपोर्ट दिएको छ ।

पप्पु कन्सट्रक्सन सांसद हरिनाराण रौनियार संस्थापक रहेको निर्माण कम्पनी हो । उसले धेरै पुलको ठेक्का पारे पनि समयमा काम नगर्नेदेखि भएका काम पनि गुणस्तरीय नभएको पाइने गरेको छ ।

अब यसमा टेकु पुल पनि थपिएको छ । झण्डै २० करोड खर्च गरेर बनेका दुबै पुलमा प्राविधिक ‘फल्ट’हरु देखिएका छन् ।

‘पहिलो त निर्माण सामाग्रीहरुको ल्याब टेस्ट नै गरिएन । हामीले पटक-पटक निर्देशन दिँदा पनि टेरिएन’ प्रमुख आचार्यले भने, ‘दुबै पुलको ढलान हामीलाई जानकारी नदिई राता-रात गरियो ।’

पुन निर्माणका क्रममा लापर्वाही भएको ठहर गर्दै आयोगले पत्र लेखेर ढलानको काम रोक्न भनेको थियो । तर, पप्पु कन्सट्रक्सनले काम रोकेर गल्ती सच्याउनुको साटो रातारात ढलान गर्‍यो ।

आयोजनाले सार्वजनिक सूचनामार्फत जवाफ पनि माग्यो । पुलको पक्की आधार संरचना (प्रि स्ट्रेस कंक्रिट गि्रडर र केबलको ज्याकिङ)को निर्माण गुणस्तहीन भएको आयोजनाको ठहर छ ।

आयोजनासँग परामर्श तथा सल्लाह नगरी पुलको डेक स्ल्याब निर्माण गरिएको छ । पटक-पटक चेतावनी दिँदा पनि काम नसुधारेको र झुक्याउने नियतका साथ काम गरेको आयोजनाका अधिकारीहरु बताउँछन् ।

प्राविधिक रुपमा गर्नुपर्ने महत्वपूर्ण काम नै नभएपछि काठमाडौं दिगो शहरी यातायात आयोजना पुल भत्काउनु पर्ने निष्कर्षमा पुगेको हो । ‘हामीले टेकु पुल भत्काउन निर्देशन दिएका छौं । डल्लुको पुलमा पनि समस्या छ । त्यसको प्राविधिक चेकजाँच पनि के गर्नुपर्ने भन्ने तय गर्छौं’ आचार्यले भनेका छन्, ‘पुल बलियो बनेको छैन । यसले चाँडै समस्या आउन सक्छन् ।’

दुबै पुल निर्माणमा पप्पु कन्सट्रक्सनसँगै चिनियाँ कम्पनी पनि जेडआईईसी संलग्न छ । तर, निर्माण काम भने पप्पु आफैंले हेरेको छ ।

आयोजनाले निर्माणाधीन पुल भत्काउन पत्र काटिएपछि पप्पुका सञ्चालकहरुले राजनीतिक दौडधुप सुरु गरेका छन् । आयोजनका अधिकारी भने पप्पु कन्सट्रक्सनले काठमाडौंकै पुल निर्माणमा समेत चरम लापरवाही गरेको भन्दै यसपटक कम्पनीलाई कालोसूचीका राख्ने पक्षमा छन् ।

पप्पु कन्सट्रक्सनले निर्माण गरेको बबई नदीको पुल पनि निर्माण पुरा हुन नपाउँदै भासिएर काम नलाग्ने भएको थियो भने तराईका विभिन्न पुलहरुमा पनि भासिने समस्या देखिएको थियो । ‘ठेकेदारले २ वर्षको काम चार वर्षमा पनि सकाएनन् । त्यही पनि यति लापर्वाही भएको छ’ आयोजना प्रमुख आचार्यले भने,’ केही दिनपछि छलफलमा बोलाएका छौं र कारवाहीको प्रक्रिया थाल्छौं ।’

यो पुल निर्माण्का लागि जुलाई २०१६मा सकिने गरी जुन, २०१४ मा सम्झौता भएको थियो । समयमै काम नभएपछि डिसेम्बर, २०१७ सम्म म्याद थपिएको थियो । २० करोड २३ लाख ७५ हजार ६९२ रुपैयाँ लागतमा काम भइहेको यो आयोजनाअन्तरगत टेकु र डल्लु पुल बनाउनुपर्ने थियो ।

हालसम्म आयोजनामा ६८.८ प्रतिशत प्रगति भएको छ पप्पुले यो कामका लागि १३ करोड ९२ लाख भुक्तानी पाइसकेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment