+
+
Shares

तलेजु भवानीको दर्शन आज बिहान ५ बजेदेखि नै

आज बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म तलेजु मन्दिरमा पूजा तथा दर्शनको व्यवस्था मिलाइएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३ गते ६:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला हुँदा भक्तजन बिहानैदेखि लाइनमा बसेका छन् ।
  • हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार मन्दिरमा आज बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म पूजा र दर्शनको व्यवस्था मिलाइएको छ ।
  • आज राति मूलचोकमै महाअष्टमीको कालरात्रि पूजा ५४ बोका र ५४ राँगाको बलिसहित गरिनेछ ।
  • विजयादशमीका दिन बिहान १०:५१ बजे तुलजा भवानीलाई यात्रा गराई ११:५२ बजे मूल मन्दिरमा स्थिरासन गराइनेछ ।

३ कात्तिक, काठमाडौं । सर्वसाधारणका लागि वर्षमा एक दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिरमा दर्शन गर्न भक्तजनहरु बिहानैदेखि लाइन लागेका छन् ।

विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर आज कात्तिक ३ गते मङ्गलबार बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । तर त्यसभन्दा अघिदेखि नै दर्शनार्थीहरु लामबद्ध थिए ।

आज बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म मन्दिरमा पूजा तथा दर्शनको व्यवस्था मिलाइएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिइन् ।

यो मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला हुने गर्दछ । कोरोना महामारीका कारण २०७७ सालमा भने यो मन्दिर सर्वसाधारणका लागि पनि खुला गरिएको थिएन ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार तुलजा भवानीलाई गत असोज ३१ गते शनिबार बिहान ७:३७ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो । तुलजा भवानीलाई त्यसै दिन बिहान १०:३९ बजेको साइतमा स्थिरासनमा राखिएको थियो ।

तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमी आज राति कालरात्रि पूजा गरिँदैछ । कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित आराधना गरिने पनि हेरचाह अड्डाले जनाएको छ ।

विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । कात्तिक ४ गते बुधबार विजयादशमीका दिन बिहान समितिले दिएको साइतअनुसार बिहान १०:५१ बजे यात्रा गराइने छ । त्यसै दिन बिहान ११:५२ बजे तलेजु भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?