Comments Add Comment

मेलम्चीको पानी दशैं अगाडि ल्याउन ठेकेदार सहमत, तीन महिना म्याद थप

सरकारको पक्ष लिने परामर्शदाताको टिमलिडर बर्खास्त

१० असार, काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसी दशैं अगाडि नै मेलम्चीको पानी काठमाडौं ल्याउन सहमत भएको छ । त्यसको बदलामा सरकारले ठेकेदार कम्पनीको म्याद तीन महिना थपिदिएको छ ।

इटालीको निर्माण व्यवसायी कम्पनी सीएमसीले सन् २०१३ देखि मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएर काम सुरु गरेको थियो । ठेक्काको म्याद यही जुन १४ तारिख अर्थात् जेठ ३१ मा सकिएको थियो । तर, गत शुक्रबार सीएमसी र खानेपानी मन्त्रालयबीच तीन महिना म्याद थप्ने र त्यो अवधिभित्रै काठमाडौंमा पानी ल्याउने सहमति भएको हो ।

त्यसको विस्तृत जानकारी दिन सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

यसअघि ठेकेदारले कम्पनीले काममा ढिलासुस्ती गरेपछि मन्त्रालयले इटालीस्थित केन्द्रीय कार्यालयमा पत्र लेखेर उच्चस्तरीय टोली नेपाल पठाइदिएर अनुगमन गर्न र छिटो काम सक्न भनेको थियो । सोही पत्रको आधारमा कम्पनीको बोर्ड डाइरेक्टरसहित दुई जना सदस्य नेपाल आएका थिए । उनीहरुले साइट अवलोकन गरेपछि ‘पुरानै डेटलाइनमा (दशैं अगाडि) पानी ल्याउन लिखित सहमति जनाएका’ खानेपानी मन्त्री बिना मगरले बताइन् ।

ठेकेदार कम्पनी सीएमसीले भूकम्पका कारण बढी समय काम गर्नुपरेको र लागत पनि बढेको भन्दै १ अर्ब ६५ करोड क्षतिपूर्ति र थप ५७० दिन म्याद थप्नुपर्ने दावी गरेको थियो । ठेकेदारको यो दावीमा डिस्प्यूट बोर्ड-डीबी (मेलम्ची खानेपानी आयोजना र ठेकेदारबीच आउने विवाद टुंग्याउन गठित समिति)मा गत ३० जेठमा छलफल भएको थियो ।

सो बोर्डले २१२ दिन म्याद थप्न उपयुक्त हुने प्रारम्भिक राय सुनाएको थियो । त्यसको पूर्ण फैसला भने आउन बाँकी छ ।

तर, इटालीबाट नेपाल आएको उच्चस्तरीय टोलीले भने आगामी तीन महिनाभित्रै काम सक्ने लिखित प्रतिवद्धता जनाएको छ । ‘यसबाट दशैं अगाडि नै मेलम्चीको पानी काठमाडौंमा आउने सम्भावना देखिएको छ,’ मन्त्री मगरले भनिन्, ‘यसबारे डिटेलमा जानकारी दिन इटालीको उच्चस्तरीय टोलीलाई समेत सँगै राखेर सोमबार पत्रकार सम्मेलन गर्दै छौं ।’

परामर्शदाताको प्रमुख इन्जिनियर बर्खास्त

यसैबीच मेलम्ची खानेपानी आयोजनास्थलमा क्रियाशिल परामर्शदाता इप्टिसाको टिम लिडर थोमस बारबिचलाई बर्खास्त गरिएको छ । यसअघि उनको काम चित्तबुझ्दो नभएको भन्दै इप्टिसाले २२ जेठमा निलम्बन गरेर स्पष्टिकरण सोधेको थियो ।

स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै थोमसलाई आइतबार पदबाट बर्खास्त गरिएको स्रोतले बतायो ।

इप्टिसा मेलम्ची खानेपानी आयोजना हेर्नका लागि नेपाल सरकारले छनोट गरेको परामर्शदाता कम्पनी हो । मेलम्चीलाई थोमस बारबिचले हेर्दै आएका थिए । थोमसले ठेकेदार कम्पनीले दावी गरेको क्षतिपूर्ति गलत रहेको भन्दै नेपाल सरकारको पक्ष लिँदै आएका थिए ।

ठेकेदारको कामअनुसार थप ८० दिन थप समय र २८ करोड क्षतिपूर्ति दिए पुग्ने राय थोमसले दिएका थिए । सोही अनुसारको रकम भुक्तानी र म्याद थप पनि गरिएको थियो ।

तर, परामर्शदाताको टिम लिडरलाई हटाउनुअघि नेपाल सरकारको पूर्वस्वीकृति लिनुपर्छ । तर, उनलाई हटाउँदा पूर्वस्वीकृतिसमेत नलिइएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment