Comments Add Comment

बेसहारा तुइनबाजेः न ओत लाग्ने घर, न साहरा

११ असार, गोरखा । फूलेका कपाल । चाउरी परेको अनुहार । उमेरले ७० नाघिसकेका छन्, उनी । तर उनका दुःखका दिन कहिल्यै गएनन् । बुढेसकालमा समेत तुइनको लठ्ठामा झुण्डिएर जीविकोपार्जन गर्न बाध्य छन्, धादिङ धुसाका शुक्रबहादुर चेपाङ ।

गोरखाको घ्याल्चोक र धादिङको चरौदी जोड्ने त्रिशुली नदीमाथि रहेको तुइन चलाएरै उनले बिहान बेलुकीको छाक टार्दै आएका छन् । तुइन तानेरै चेपाङले २० वर्ष खर्चिसकेका छन् । तर रोजीरोटीको जोहो गर्ने अन्य विकल्प नभएपछि बुढ्यौलीपनले छोइसक्दा समेत तुइनको लठ्ठा तान्नबाट छुट्कारा पाउन सकेका छैनन् ।

‘एक जनाको २० रुपैयाँ लिन्छु,’ चेपाङले भने, ‘सामान पनि लिएर आउनुहुन्छ तर सामानको पैसा लिन्न ।’

‘बिहान १० बजेदेखि ३–४ बजेसम्म मान्छे हुन्छन्, उनीहरुलाई वारपार गराउँदैमा दिन जान्छ,’ उनले भने ।

तुइन तान्न सजिलो छैन । ‘हातभरि ठेला त कति हो कति,’ हातको ठेला देखाउँदै उनले भने, ‘फलामको लठ्ठा तान्दा तान्दा छाला नै मरिसक्यो, हात त कतिपटक काट्यो काट्यो ।’

गर्मीको समयमा लठ्ठा तातेर समाउन नसकिने उनी बताउँछन् । ‘गर्मीमा त लठ्ठा समाउँदा पनि आगो समाएजस्तो लाग्छ, तान्नै सकिन्न,’ उनले भने ।

आउँदा आरोलो परेर केही सहज भए पनि जाँदा उकालो पर्ने भएकाले सकस पर्ने उनको भनाइ छ । तुइन तान्नका लागि उनलाई यात्रुले पनि केही हदसम्म साथ दिने गर्छन् । तुइनको कोर्के पनि पुरानो भइसकेको छ । लठ्ठाको केही भाग पनि चुढिएका छन् । जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

दुई छोरा र श्रीमतीको परिवारबाट छुट्टिएर उनी अहिले एक्लो बसेका छन् । कान्छो छोरा लिएर श्रीमती अर्कैसँग विवाह गरेर हिँडेपछि सहाराविहिन बनेका हुन् ।

आफूसँग रहेको जेठो छोरा पनि वहिरो हुदाँ समस्या भएको उनले गुनासो गरे । उनलाई पकाएर खान दिने कोही छैनन् । दिनभर तुइनको लठ्ठा तानेर थकित भएको ज्यानले चुल्होमा आगो बालेर खानाको जोहो समेत गर्नुपर्छ । सहाराविहीन उनको ओत लाग्ने घरसमेत छैन । नदी किनारमै उनी रात गुर्जार्ने गर्छन् । जति दुःख झेले पनि बुढेसकालमा पनि उनले तुइनको लठ्ठा तानेर स्थानीयहरु लाई त्रिशूली नदि वारपार गराइरहेका छन् । पुल अभावमा सो क्षेत्रका स्थानीयहरु तुइनबाटै नदी वारपार गर्न बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment