Comments Add Comment

प्रचण्डसँग रिसाए हितमान, कुनै जिम्मेवारीमा पनि नबस्ने घोषणा


१२ असार, काठमाडौं । नेकपाका नेता हितमान शाक्यले पार्टी एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेका छन् । एकीकृत पार्टीको स्थायी कमिटीमा नपारेपछि प्रचण्डसँग रिसाएका उनले पार्टी अध्यक्षको फोनसमेत उठाउन छाडेको नेताहरु बताउँछन् ।

पार्टी एकता कार्यदलका सदस्यसमेत रहेका शाक्य बैठकहरुमा उपस्थित हुन छाडेपछि विकल्पसमेत खोज्न थालिएको छ ।

तत्कालीन एमाले र माओवादीबीच जेठ ३ गते एकता भए पनि प्रदेशस्तरमा र जनवर्गीय संगठनस्तरमा भने एकता भइसकेको छैन । अहिले एकताको लागि कार्यदलस्तरमा छलफल जारी छ । यही क्रममा सोमबार अनेरास्ववियु र अखिल क्रान्तिकारीको एकता कार्यदलको पहिलो बैठक बसेको थियो । तर, बैठकमा कार्यदल सदस्य एवम् तत्कालीन माओवादी विद्यार्थी संगठनको फ्रयाक्सन इन्चार्ज हितमान शाक्य नै उपस्थित भएनन् ।

बैठकमा कार्यदल सदस्यहरु तत्कालीन एमाले विद्यार्थी फ्रयाक्सन इन्चार्ज रविन्द्र अधिकारी, अनेरास्ववियु अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ मात्र उपस्थित थिए । त्यसपछि हितमानको सट्टा अर्को नेतालाई कार्यदलमा पठाइदिन नेकपालाई पत्र लेख्ने निर्णय गर्दै बैठक स्थगित गरिएको थियो ।

अखिल क्रान्तिकारीका अध्यक्ष तामाङले भने, ‘हितमान दाइ बैठकमा उपस्थित हुन असमर्थ रहेको जानकारीमा आएकाले उहाँको स्थानमा अर्को कुनै कमेरडलाई कार्यदलमा पठाइदिन पार्टी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेका छौं ।’

अनेरास्ववियु र अखिल क्रान्तिकारीको एकता कार्यदल बैठकले विधान मस्यौदा, राजनीतिक शैक्षिक दस्तावेज र संगठनात्मक विवरण निर्माण उपसमिति गठन गरेको छ । साथै यही असार १४ गते अनेरास्ववियु र अखिल क्रान्तिकारीका पदाधिकारीहरुको संयुक्त बैठक बोलाउने निर्णय पनि बैठकले गरेको छ ।

नेकपाको स्थायी समितिमा नपरेपछि असन्तुष्ट

यसअघि हितमानलाई तीन नम्बर प्रदेशको पार्टी एकता कार्यदलमा पनि राखिएको थियो । तर, उनी बस्न नमानेपछि हाल अग्नि सापकोटालाई राखिएको छ ।

स्रोतका अनुसार हितमान नेकपाको स्थायी समितिमा नपारिएको भन्दै नेतृत्वसँग असन्तुष्ट छन् । आफू सँगैका नेताहरु सबै स्थायी समितिमा परे पनि आफूलाई नराखिएको उनको गुनासो छ । नेतृत्वसँग रुष्ट भएका उनले पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने बताउने गरेको उनी निकट नेताहरु बताउँछन् ।

एकता प्रक्रियामा नेताहरुको व्यवस्थापन गर्न नसक्दा तत्कालीन माओवादीमा धेरै नेताहरु असन्तुष्ट छन् । प्रदेश र तल्ला कमिटीहरुमा एकता टुंगो लाग्दासम्म असन्तुष्टहरुको संख्या झन् बढ्ने अनुमान गरिएको छ ।

को हुन् हितमान ?

बाग्लुङ पुर्ख्यौली घर भएका हितमान अखिल क्रान्तिकारीको पूर्वअध्यक्ष हुन् । शान्ति प्रक्रियापछि नेवाः राज्य (काठमाडौं उपत्यका)को जिम्मेवारी सम्हालेका शाक्य पहिलो संविधानसभा निर्वाचनबाट सभासदसमेत बनेका थिए ।

पार्टी बिभाजनपछि उनी मोहन वैद्य नेतृत्वको माओवादीमा गएका थिए । तर, पछि रामबहादुर थापा ‘बादल’ नेतृत्वको समूहसँगै पुनः प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएका थिए ।

प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी मिलेर चुनाव लड्दा पनि काठमाडौं क्षेत्रनम्बर १० बाट उनी पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment