Comments Add Comment

मृत भेटिएका बैण्ड मास्टरको हत्या भएको परिवारको दावी

१४ असार, वीरगञ्ज । वीरगन्जको घण्टाघरदेखि दक्षिण पूर्वपट्टकिो गल्लीमा असार ११ गते मृत अवस्थामा फेला परेका बैण्ड मास्टर भिखारी रामको हत्या भएको आफन्तले दावी गरेका छन् ।

वीरगन्ज गहवा निवासी भिखारीका छोरा लालबाबु रामले बिहीबार वीरगन्जमा पत्रकार सम्मेलन गरी बुवाकोे हत्या भएको दावी गरेका हुन् ।

पशुपति बैण्डका मास्टरसमेत रहेका भिखारी असार १० गते राति ९ बजे पान खान घरबाट निस्केको परिवारजनको भनाइ छ ।

उनी राति घर नफर्केपछि खोजी गर्दा नेपाल टेलिकमको मुल गेटदेखि पछाडि इनर बाइसपास जाने बाटोको गल्लीमा बिहान करिब ७ बजे मृत अवस्थामा फेला परेका थिए ।

घटना भएको ५ दिन वितिसक्दासमेत प्रहरीले घटनाबारे प्रभावकारी अनुसन्धान गर्न नसकेको र दोषी पत्ता लगाउन नसकेको अरोप लालबाबुको छ । ‘मेरो बुवाको हत्या भएको छ, ५ दिन वितिसकेको छ, मैले न्याय पाउन सकेको छैन,’ उनले भने, ‘मेरो बुवाको हत्यारालाई चाँडो भन्दा चाँडो पक्राउ गरी कारबाही होस ।’ तर, प्रहरीका अनुसार भिखारीले त्यस दिन मादक पदार्थ सेवन गरेर श्रीमतीसँग झगडा गरेर रातको समयमा घरबाट निस्केका थिए ।

पर्साका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रेवती ढकालले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए । ‘तत्काल भन्ने वित्तिकै कुनैपनि घटनाको अनुसन्धान हुँदैन, केही समय लाग्छ । आत्तिनु हुँदैन ,’ उनले भने , ‘पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ, छिमेकीको घरमा रहेको सिसिटिभी फुटेज पनि क्लियर देखिएन, हामी गम्भीर ढंगले अनुसन्धान गरिरहेका छौं ।’

अनुसन्धानबाट हत्या नै भएको प्रमाण भेटिए अपराधीलाई कुनैपनि हालतमा नछोडिनेमा ढुक्क हुन प्रहरी उपरीक्षक ढकालले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment