Comments Add Comment

काठमाडौंका मल्टिप्लेक्समा ‘सञ्जु’ रिलिज अनिश्चित

बलिउड फिल्म सञ्जु भोलि शुक्रबारबाट विश्वव्यापी रिलिज हुँदैछ । काठमाडौंका मल्टिप्लेक्समा भने फिल्मको रिलिज अनिश्चित बनेको छ ।

सो फिल्मको नेपालमा वितरण अधिकार लिएको सीजीजीके सिनेप्लेक्स प्रालि (चौधरी ग्रुप र गोपिकृष्ण मुभिजले मिलेर खोलेको कम्पनी) र मल्टिप्लेक्सहरुबीच कुरा नमिल्दा प्रदर्शन अनिश्चित बनेको हो । सीजीजीकेले फिल्म प्रदर्शनका लागि नयाँ शर्तहरु अघि सारेपछि विवाद सुरु भएको थियो ।

मल्टिप्लेक्सहरुले साताको एक दिन सहुलियतमा टिकट विक्री गर्ने गरेका छन् । त्यसैले वितरकहरुले सो दिनको सेयर हिस्सा कम पाउने गर्छन् । तर सीजीजीकेले सञ्जुका हकमा सहुलियत दिन अस्वीकार गरेको छ । पटकपटक वार्ता भए पनि यसमा अहिलेसम्म कुरा मिल्न सकेको छैन ।

क्यूएफएक्सका सीइओ रोसन अडिगाले भोली काठमाडौंका मल्टिप्लेक्सहरु -राइजिङ मलमा बाहेक) मा सञ्जु रिलिज नहुने बताए ।

‘हामीले भोलीका लागि सेड्यूल निकालिसकेका छौं, सञ्जु यसमा समावेश छैन,’ उनले भने । वितरक कम्पनीले आफ्नो अडान नछोडेसम्म फिल्म प्रदर्शन नगर्ने उनको भनाइ छ ।

गोपिकृष्ण मुभिजका निरक पौडेलले भने केही मल्टिप्लेक्सहरुमा बाहेक सञ्जु रिलिज हुने दावी गरेका छन् ।

‘हामी छलफलका क्रममा नै छौं, सञ्जुको रिलिज रोकिदैन,’ उनले भने । उनले मल्टिप्लेक्ससँग सहुलियत टिकटको विषयमा चाँडै टुंगोमा पुग्ने उल्लेख गरे ।

यसअघि रेस ३ को रिलिज गर्ने बेलामा पनि सीजीजीकेले लफडा गर्न खोजेको थियो । तर, पछि पुरानै शर्तका आधारमा प्रदर्शन गरियो । रेस ३ ले नेपालमा कमजोर व्यापार गरेपछि उक्त कम्पनी छट्पटाएको छ । त्यसैले सञ्जुबाट त्यसको क्षतिपूर्ति गर्ने दाउमा छ ।

बलिउड अभिनेता सञ्जय दत्तको जीवनमा आधारित सञ्जुमा रणवीर कपुरले मुख्य भूमिका निभाएका छन् । नेपालकी अभिनेत्री मनिषा कोइराला सो फिल्ममा सञ्जयकी आमाको भूमिकामा छिन् । फिल्मको ट्रेलरले निकै चर्चा पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment