Comments Add Comment

नेपाली आशा भरोसा सबै हिलैमा डुब्यो है ! नेताज्यु, हिलैमा डुब्यो है !

जोरपाटी सडकको हिलोमा कविता वाचन !

१५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा भनेका थिए- भानुजयन्तीका बेला म चन्द्रागिरीको डाँडामा पुगेर कविता लेख्नेछु ! तर, प्रधानमन्त्रीले कविता लेख्नुअगावै शुक्रबार जोरपाटीका स्थानीय वासिन्दाले सरकारलाई व्यंग्य गर्दै हिले सडकमा कविता सुनाएका छन् ।

बौद्ध-जोरपाटी-दक्षिणढोका-थली-साँखु सडक खण्डको अवस्थालाई व्यङग्य गर्दै स्थानीयले सडकमै रोपाईं तथा कवि गोष्ठी गरेका हुन् ।

सडक चौडा बनाउने काम शुरु भएको दुई वर्ष हुँदासमेत निर्माण पूरा हुन नसकेको भन्दै दबाव दिन स्थानीयले व्यङग्यात्मक रोपाईं र कवि गोष्ठी गरेका हुन् ।

यस सडकखण्डको दुरावस्थाका कारण दैनिक ओहोर दोहोर गर्ने नागरिकहरु र स्थानीय प्रताडित भइरहँदासमेत सरोकारवाला कसैले न्यूनतम मानवीय संवेदनशीलतालाई ख्याल नगरेको स्थानीयको आरोप छ ।  सहभागीहरूले कविता तथा गीतमार्फत उनीहरुले जनप्रतिनिधि तथा प्रशासनविरुद्ध कडा आक्रोश पोखेका थिए ।

अभिनव साहित्य समाज, सुरभी साहित्य प्रतिष्ठान, घुम्ती कवि गोष्ठी, तरेली साहित्य प्रतिष्ठान लगायतको संयुक्त आयोजनामा काय्रक्रम भएको थियो । कार्यक्रममा अभिनव साहित्य समाजका अध्यक्ष बेदमणि घिमिरेले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।

कार्यक्रममा साहित्यकार पूर्णप्रसाद पन्त, ओमप्रसाद कोइराला, डा.सुबास प्याकुरेल, बाजुराम पौडेल, लगायत अन्य कविले कविता र गीतमार्फत हिलाम्मे सडकमाथि व्यंग्य गरेका थिए ।

सामाजिक अभियन्ता कुमार राज सुवेदीले चाबहिल, बौद्ध, जोरपाटी ,साँखु सुन्दरीजल सडकको अति दूररावस्थाको बिषयमा नागरिक दवाब अभियान संचालन गरिएको बताए । पीडित जनताको धैर्यताको बाँध पनि फुट्नै लागिसकेको अवस्थामा चाँडो सडक निर्माण गर्नको लागि दबाबका अन्य कार्यक्रम ल्याउने समेत सुवेदीले बताए । वर्षौं बितिसक्दा पनि सडक निर्माण नगरी राज्यले जनतामाथि ठूलो अपराध गरेको उनकोको भनाइ थियो ।

कार्यक्रममा कविहरुले सडकको दुरावस्थाबारे सरकार र नेताहरुमाथि व्यंग्य गरेका थिए ।

कवि पूर्णप्रसाद पन्तले यस्तो कविता सुनाए-

असार १५ शुक्र नै बार भेट हुनुरहेछ
नेताज्यु ! भेट हुनुरहेछ ।
रोपाई गर्ने ठाउँ त आज सडक जुरेछ
नेताज्यू ! सडक जुरेछ

सडकमा नै धानको बिऊ रोपाई गरौंला
पाकेको धान नेताजीलाई अर्पण गरौंला

सडकचाहिँ सागर बन्दा चिन्ता ख्वै नेतामा
पर्दैन हिँड्न उडेर पुग्छन् विश्वको कुनामा

बिरामी बोक्ने बाहन अनि पानीका ट्यांकर
पखेटा हाली उडाऊ माथि जहाज सम्झेर

सक्षम बन्यो नेपाल पनि विकास खातिर
तैरँदै छ है जहाज आज हिलोमा लौ हेर

चिप्लो छ कुरो, गर्दैनौ काम, के काम तिम्रो खोई ?
नेपाली आशा भरोसा सबै हिलैमा डुब्यो है !
नेताज्यु ! हिलैमा डुब्यो है !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment