Comments Add Comment

प्रितिमायालार्इ यूएर्इबाट नेपाल फर्किन ट्रान्सफास्टको आर्थिक सहयोग

१५ असार, यूएई । घरेलु कामदारका रुपमा यूएईमा काम गर्न नसकेर दूतावासको सम्पर्कमा आएकी फुलपिङकोट-७ सिन्धुपाल्चोककी एक युवतीलाई नेपाल फर्किन ट्रान्सफास्ट मनी ट्रान्सफरले आर्थिक सहयोग गरेको छ ।

१० महिनाअघि यूएईको एक घरमा काम गर्न आएकी प्रितिमाया लामालाई हवाई टिकट र अन्य प्रशासनिक खर्च गरेर १२ सय दिराम सहयोग उपलब्ध गराएको ट्रान्सफास्ट मनि ट्रान्सफरका जिसिसी जनसम्पर्क म्यानेजर बद्री कट्वालले जानकारी दिएका छन् ।

रोजगारदाताको मानसिक यातना सहन नसकी लामा अबुधाबिको मुसाफामा रहेको आफूले काम गरिरहेको घरबाट भागेर एक महिनाअघि नेपाली दूतावास अबुधाबीमा आएकी नेपाली दूतावासका श्रम सहचारी मोतीलाल भुसालले बताए ।

उमेर छ्दै पैसा कमाउने र परिवारलाई खुसी राख्ने आशा बोकेर यूएई छिरेकी लामाले सोचेभन्दा विपरीत अधिक मानसिक यातना सहन नसकेर भागेको बताइन् ।

एकभन्दा बढी घरमा काम गर्नुपर्ने, मानवीय व्यवहार नगर्ने, तलव पनि कमकम गर्दै दिन थालेपछि साथीहरूको सुझावका आधारमा नेपाली दूतावासको शरणमा आएको लामाले बताइन् ।

लामाका अनुसार दैनिक रुपमा १८/२० घण्टा काम गर्न उनलाई शरिरले साथ नदिएपछि उनले भाग्ने निधो गरेकी हुन ।

घरबाट भागेपछि उनी सिधै दूतावास आइपुगिन र एकमहिनादेखि दूतावासकै शरणमा बसेकी थिइन् । यसरी समस्यामा परेका नेपालीहरुलाई नेपाली दूतावासले विभिन्न दाताहरुको सहयोगमा नेपाल फिर्ता पठाइरहेको छ ।

यसै क्रममा लामालाई यूएईमा रहेका रेमिट्यान्सकर्मीहरुको समूह रेमिट्यान्स सरोकार समूहका प्रतिनिधि तथा ट्रान्सफास्ट मनि ट्रान्सफर कम्पनिका रिलेशनशिप म्यानेजर बद्री कटुवालले उक्त खबर नेपाली दूतावासबाट थाहा पाएपछी उनले दूतावासमा सम्पर्क गरी आफ्नो कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रम अनुरुप सहयोग गरिएको जानकारी दिएका छन् ।

भगौडा केस परेकोले गर्दा उनको केही जरिवाना दस्तुर रहेको तथा नेपाल पठाउन टिकट र खर्चको आवश्यकता रहेको बुझेपछि ट्रान्सफास्ट कम्पनीले उनको जरिवाना तिर्न तथा नेपाल फर्काउनको लागि टिकटका लागि आवश्यक रकम असार १४ गते दूतावासमै उक्त रकम हस्तान्तरण गरेको छ ।

उनलाई नेपाल फर्काउनका लागि दूतावासले आवस्यक प्रक्रिया पूरा गरिरहेको र केही दिनमै लामा नेपाल फर्किने नेपाली दूतावासका श्रम काउन्सिलर भेषबहादुर थापाले जानकारी दिएका छन् ।

यूएईमा भिजिट भिसामा आएर धेरै नेपालीहरु बिचल्लीमा पर्ने गरेका छन् भने अर्को ठूलो समस्याको रूपमा घरेलु कामदारहरुलाई लिन सकिन्छ ।

यी विविध समस्याहरुको समाधानमा एनआरएनए यूएई र केही जिल्ला समाजहरुले सक्रियता देखाइरहेका छन् भने पछिल्लो समयमा रेमिट्यान्स सरोकार समूह र यसमा आवद्ध प्रतिनिधिहरुले सामाजिक जागरण र मानवीय सहयोगमा सक्रियता देखाएको छ ।

यो समूहले हुण्डीको विपक्षमा आवाज उठाउने र वैधानिक तरिकाले युएईका मान्यता प्राप्त एक्सचेञ्ज कम्पनीहरुबाट नेपालमा पैसा पठाउन प्रेरित गर्दछ ।

ट्रान्सफास्ट मनी ट्रान्सफर र यसका प्रतिनिधि कट्वाल पनि रेमिट्यान्स सरोकार समूहका सक्रिय प्रतिनिधि हुन् ।

यूएईमा हवाई टिकटको अभावमा अन्योलमा रहेकी लामालाई रेमिट्यान्स सरोकार समुहको समन्वयमा सहयोग उपलब्ध भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment