+
+

बादलमाथि बाबुरामको निशाना- ‘पूर्वकमरेड’ले आफ्नो खाल्डो आफैं खने !

विरोध प्रदर्शन गर्ने स्थान तोकिदिएकोप्रति असन्तुष्ट

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १६ गते १६:४५


१६ असार, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकामा विरोध प्रदर्शनस्थल तोक्ने सरकारको निर्णयप्रति विरोध जनाएका छन् ।

गृहमन्त्रालयले हालै काठमाडौं, ललितपुर र भक्तपुरमा विरोध प्रदर्शन गर्ने स्थान तोकिदिएर त्यसभन्दा बाहिर विरोध प्रदर्शन गरे कारवाही गर्ने चेतावनी दिएको थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले आफ्ना पूर्व सहकर्मी एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’प्रति संकेत गर्दै दुस्साहसपूर्ण निर्णय गरेको र आफ्नो खाल्डो आफैं खनेको टिप्पणी गरेका छन् ।

शनिबार बिहान ट्वीटरमा उनले नाम उल्लेख नगरी लेखेका छन्, ‘समाजवाद भनेको अझ उन्नत लोकतन्त्र होस् लोकतन्त्रको थप विस्तारीकरण र सवलीकरण हो । विरोध गर्ने र सत्ताविरूद्ध विद्रोह गर्ने अधिकार नै मार्क्सवादको गुदी कुरा हो । हाम्रा पूर्वकमरेडहरूले सत्तामा पुग्ने वित्तिकै विरोध गर्ने ठाउँ र तरिका तोक्ने दुस्साहस गरेर किन आफ्नो खाल्डो आफै खन्दैछन् ?’

सरकारले माइतीघर मण्डलामा गत वैशाख १६ गतेदेखि नै प्रदर्शन गर्न रोक लगाएको छ । काठमाडौंमा प्रदर्शन र सभाका लागि खुलामञ्च, तीनकुनेको खाली जग्गा, स्वयम्भू, पेप्सीकोलाको खेलमैदान, लैनचौर खेलमैदान र गौशाला सिफलचौर तोकिएको छ ।

यसैगरी ललितपुरमा च्यासलको खेलमैदान, गोदावरी बसपार्क नजिकको खाली ठाउँ, भैंसेपाटीको छ्यासीकोटको खाली ठाउँ, बज्रबाराही, लुभुको ससमुचौर, धोविघाट नजिकैको मलपोखरीको खुला ठाउँलाई प्रदर्शन र सभास्थल तोकिएको छ ।

भक्तपुरमा भने सल्लाघारीको नेपाल ट्रष्टको खाली जग्गामा मात्र विरोध प्रदर्शन र सभा गर्न पाइने छ ।

यो निर्णय आउँदो साउन १ गतेदेखि लागू हुने र अटेर गर्नेलाई कानुनअनुसार कारवाही गर्ने चेतावनी गृहमन्त्रालयले दिएको छ ।

यो पनि पढ्नुहोस्

अब माइतीघर मण्डलामा प्रदर्शन गर्न नपाइने, सरकारले तोक्यो ७ ठाउँ

ललितपुर र भक्तपुरमा पनि तोकियो विरोध प्रदर्शनस्थल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?