+
+

प्रदेशसभामा ‘वक्तृत्वकला’: सबै सांसदको ‘दिल छ पोखरामा’

प्रदेशको राजधानी पोखरा निर्विवाद, नामबारे सत्तारुढ दल नै अलमलमा

अमृत सुवेदी अमृत सुवेदी
२०७५ असार १७ गते २०:४४

मबिना कसैकसैलाई मुस्किल छ पोखरामा
म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा

प्रमोद खरेलको आवाजमा रहेको शितल गिरीले यो गजल अहिले पनि उत्तिकै चर्चित छ । गजलले पोखराप्रतिको प्रेम झल्काएको छ । प्रदेश ४ काु प्रदेशसभा बैठकमा पनि सांसदले गजलले भनेजस्तै पोखरामै ‘दिल’ राखेका छन् ।

प्रदेशसभामा आइतबार राजधानीबारे छलफल भएको थियो । छलफलमा सांसदहरु यसरी प्रस्तुत भए, मानौं संसदमा वक्तृत्वकला प्रतियोगिता चलिरहेको छ र सांसदलाई जतिसक्दो धेरै पोखराको वर्णन तथा आयामबारे बोलेर धेरै नम्बर ल्याउनु छ ।

छलफलमा सहभागी १८ सांसद मध्ये कसैले गीतमार्फत पोखराप्रति समर्थन जनाए भने कसैले कवि र कविता सम्झे त कसैले पोखराको प्रकृतिमाथि शब्द खर्चिए । नयाँ शक्तिका सांसद हरिशरण आचार्यले ‘म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा’ गजलले भनेजस्तै आफू प्रदेश राजधानी पोखरा राख्ने कुरामा सहमत रहेको बताए ।

नेकपाका सांसद मायानाथ अधिकारीले भौगोलिक, प्रशासनिक भौतिक पूर्वाधार र सुविधाका सबै हिसाबले पोखरा प्रदेश राजधानीका रुपमा एकल प्रस्ताव आएको बताए । पोखरा राजधानीका रुपमा स्वीकार गरिसकेको नवलपुरका कांग्रेस सांसद विष्णु लामिछानेको भनाइ छ । ‘प्रदेश बन्ने बेलामै पोखरा अस्थायी राजधानीका रुपमा घोषणा गरियो । त्यतिबेलादेखि नै प्रदेशको व्यापारिक केन्द्रसमेत रहेको पोखरालाई स्थायी राजधानी हुने सर्वमान्य भइसकेको थियो’ उनले भने ।

नेकपाका सांसद धनञ्जय दवाडीले सिंगो देशकै नेतृत्व गर्ने गरी पोखरा निर्विवाद राजधानी भएको बताए ।

धेरैले कविता र गीत लेखिसकेको पोखरा सबै कुराले प्रदेशको राजधानी बनेको कांग्रेस सांसद ललितकुमारी गुरुङको भनाइ थियो । यस्तै नेकपाका सांसद राजीव पहारीले पोखरा अकबरे सुन भएकाले कसी लगाउनु नपर्ने बताए । ‘पोखराबारे कविता लेख्न थाले रात जान्छ । पोखराबारे बोल्न थाले २ दिन बित्छ’ पहारीले भने, ‘पोखरा निर्विकल्प प्रदेशको राजधानी हो तर यसलाई जोगाउनुपर्छ ।’

नेकपा सांसद दीपक कोइरालाले पोखरा निर्विवाद राजधानीका रुपमा आएको बताए । ‘निर्विकल्प केही पनि हुँदैन । हरेक कुराको विकल्प हुन्छ,’ उनले भने, ‘राजधानी पोखरा तोक्दै गर्दा स्याटेलाइट सहर कसरी निर्माण गर्ने भन्ने सोच्नुपर्छ ।’

पोखराबारे भविश्यको चिन्ता

सुन्दर नगरी भनिएपनि भौतिक पूर्वाधार र बढ्दो जनसंख्याले पोखरा अस्तव्यस्त भइसकेको छ । पोखरामा सडकमा ट्राफिक जामले हैरान पार्न थालिसकेको छ ।

प्रदेशको राजधानी तोक्दै गर्दा अब पोखरालाई कसरी व्यवस्थित गर्नेतर्फ बहस गर्नुभन्दा अधिकांश सांसदले पोखराको वर्णन नै गरेर रमाए । केही सांसदले भने पोखराबारे बेलैमा नसोच्ने हो भने भोलिको परिणाम दुःखद् आउनेतिर संकेत गरे ।

कांग्रेस सांसद कुमार खड्काले पोखरा प्रदेश ४ को राजधानी बनाउँदै गर्दा विनासको सम्भावनाप्रति पनि सजग हुनुपर्ने बताए । बसाइँसराइँले पोखरा आउने क्रम बढिरहेको, अन्तराष्ट्रिय विमानस्थल बनिरहेको र प्रदेशको राजधानी बनाइसकेपछि छाटो समयमा जनसंख्या दुई गुणा बढ्ने सम्भावना रहेको उनको भनाइ थियो ।

‘के पोखरा हाम्रो आवश्यकताको, स्वार्थ र महत्वकांक्षाको भार थेग्न सक्छ त भन्ने प्रश्नको बहस गर्न आजको दिन सबैभन्दा उपयुक्त हो’ सांसद खड्काले भने, ‘ट्रेन चलाउने अवस्था छैन, जलयात्राका लागि ठूला नदीहरु छैनन । ओभरहेड रोड बनाएर जान सक्ने पोखराको भूगोल सकारात्मक छैन । त्यसैले सडकको विकल्प छैन । तर, सडकले अहिलेकै जनसंख्यालाई पनि थेग्न सकेको छैन ।’

पोखरालाई एसियाको दोस्रो ढाका बनाउन खोजिरहेको त छैनौं भन्ने प्रश्नको जवाफ चाहिएको उनले बताए ।

सांसद राजीव पहारीले पोखरा आउँदा खल्तीमा मास्क बोक्नुपर्ने अवस्था आउन नहुने बताए । सबै संरचनालाई पोखरामै खुम्च्याउने र व्यवस्थित ढंगले व्यवस्थापन नगर्ने हो भने त्यसको परिणाम घातक हुने उनको भनाइ थियो ।

सांसद विन्दुकुमार थापाले पोखरासँगै आसपासका शहरलाई पनि स्याटेलाइट सिटीको रुपमा विकास गरेर लैजानुपर्नेमा जोड दिए । तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ लगायतका ठाउँका व्यक्तिले पनि अन्य ठाउँमा जाँदा घर सोध्यो भने पोखरा भन्ने गरी काम गर्नु पर्ने उनले बताए ।

नयाँ शक्तिका सांसद हरिशरण आचार्यले हिजोको केन्दि्रय शासनकै उपधारणा पोखराले गर्न नहुने बताउँछन् । ‘पोखराको बाउन्ड्री कति हो, पोखरा भनेको के हो ? ‘ सांसद आचार्यले भने, ‘यसबारे स्पष्ट हुन जरुरी छ ।’

प्रदेश नामबारे सत्तारुढमै दोधार

प्रदेशसभाले भोलि सोमबार राजधानीबारे निर्णय गर्नेछ । प्रदेशको राजधानी पोखरा तोकिने पक्का छ ।

तर, नाम भने अझै टुंगो लाग्न सकिसकेको छैन । नामका विषयमा सत्तारुढ दलमै एकमत हुन सकेको छैन । यसबारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी -नेकपा) प्रदेश ४ को संसदीय दलको बैठक बसेपनि नामबारे धारणा एक बनाउन सकेन ।

नेकपाभित्रै प्रदेशको नाम गण्डकी कि गण्डकी तमुवान राख्ने भन्ने विषयमै दुई मत छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको नामबारे विस्तारै छलफल गरेर अघि बढ्नुपर्ने बताएका थिए । उनले गण्डकी वा तमुवान-मगराँत जुन नाममा भए पनि सर्वसम्मत रुपमा अगाडि बढ्नुपर्ने बताएको एक सांसदले जानकारी दिए ।

तत्कालीन माओवादीका नेताहरु भने गण्डकीसँगै तमुवानलाई पनि जोडेर लैजानुपर्ने पक्षमा छन् । मुख्यमन्त्री पनि यसप्रति लचिलो रहेको एक सांसदले बताए ।

तत्कालीन एमालेका सबैजसो सांसदले प्रदेशको नाम गण्डकी हुनुपर्ने भनाइ राखेका थिए । अर्थमन्त्री किरण गुरुङ ‘गण्डकी’ शब्द नै गुरुङ र मगरबाट आएको भएकाले यही उपयुक्त हुने बताउँछन् । ‘तमुवान भन्ने शब्द केही समय अघिमात्रै आएको हो । भाषिक र सांस्कृतिक रुपमा पनि गण्डकी उपयुक्त हो’ उनले भने ।

प्रदेशको राजधानी र नामांकनबारे सुझाव दिन गठन भएको समितिले भनगण्डकी, तमुवान-मगराँत, गोरखा र धौलागिरि लगायत नाम सिफारिस गरेको छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?