+
+

कनकमणि दीक्षितको अर्गानिक कम्पनीमा बिजुली चोरी, सुरक्षागार्ड समातिए

पत्रकार दीक्षित भन्छन्- मलाई अफसोच छ !

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १८ गते १०:४५
विद्युत प्राधिकरणले बरामद गरेको विद्युतीय उपकरण र मिटर

१८ असार, काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका-१ मथुरापाटीस्थित अर्गानिक हिमालय कम्पनीले बिजुली चोरेर प्रयोग गरेको फेला परेको छ । सो कम्पनी र जग्गा पत्रकार कनकमणि दीक्षितले सिंगापुरमा बस्ने विदेशी नागरिकसँग ६ महिना अगाडि किनेका हुन् ।

सुरक्षाकर्मीसहित आइतबार खटिएको नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रकोे टोलीले अनुगमन गर्दा प्राधिकरणको वितरण प्रणालीबाट डाइरेक्ट हुकिङ गरी बिजुली प्रयोग भएको फेला पारेको हो ।

टोलीले कम्पनीका सुरक्षागार्ड र त्यहाँ प्रयोगमा रहेका विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्रमुख रविन्द्रकुमार यादवका अनुसार त्यहाँ होटल सन्चालित थियो । सो होटलले ०६४ सालमा गाह्रस्थतर्फका ग्राहकले प्रयोग गर्ने सिंगल फेजको मिटर जडान गरेको थियो । तर, कम क्षमताको लोड लिएर चोरीमार्फत धेरै विद्युत खपत गर्ने विद्युतीय उपकरण प्रयोग गरिरहेको फेला परेको छ ।

‘मिटर जडान गरेपछि अहिलेसम्म १३ हजार युनिट मात्रै विजुली प्रयोग गरेको देखिन्छ, जुन ज्यादै अस्वाभाविक छ’, उनले भने, ‘त्यहाँ रहेको विद्युतीय उपकरण हेर्दा महिनामै १३ हजार युनिट खर्च हुन्छ, विजुली चोरी गरेर प्रयोग गरिरहेको पत्ता लगाएका छौं ।’

उनले सोमबार विस्तृत मूल्यांकनपछि जरिवानासहितको महसुल निर्धारण हुने जानकारी दिए ।

धनी को हो ?

अर्गानिक हिमालय कम्पनीबाट ६ महिना अगाडि एकजना नागरिक अगुवाले ५० रोपनी जग्गा किनेका थिए । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्रमुख रविन्द्रकुमार यादवले भने, ‘स्थानीयबासीले होटल पत्रकार कनकमणि दीक्षितको हो भनेका छन् । प्रहरी नियन्त्रणमा रहेका सुरक्षा गार्डले पनि त्यही भन्छन् । वास्तविकता के हो हामी पत्ता लगाउँदै छौं ।’

उनका अनुसार होटलभित्रका तीनवटा घर बन्द रहेकाले त्यसलाई खोलेर हेर्न बाँकी छ । त्यसपछि थप कुरा पत्ता लाग्ने उनले अनुमान गरे ।

के भन्छन् कनकमणि ?

बरिष्ठ पत्रकार कनकमणि दीक्षितले आफू बस्ने प्रयोजनका लागि करिब ६ महिना अगाडि विदेशी नागरिकबाट दुईवटा घडेरी किनेको स्वीकार गरे ।

तर, त्यहाँ चोरी गरेर बिजुली प्रयोग भइरहेको जानकारी भने आफूले भर्खरै मात्र पाएको उनले बताए । यसबाट आफूलाई अफसोच लागेको उनले अनलाइनखबरसँग बताए ।

मलाई अफसोच छः दीक्षित

अग्लो डाँडोमा बस्नलाई राम्रो हुने भनेर मैले ६ महिनाअघि विदेशी नागरिकबाट किनेको हुँ । त्यो व्यक्ति अहिले सिंगापुरमा बस्छ । त्यो जग्गामा कम्पनीका केही घरहरु छन् । तर, लामो समयदेखि बन्द भएकाले त्यहाँ मर्मतको काम भइरहेको थियो । म कहिलेकाहिँ महिनामा एक-दुई पटक मात्रै त्यहाँ जान्थें ।

मैले किनेपछि मिटरको अप्लाई गर्‍यौं । त्यो नआउन्जेल त्यहाँ बिजुलीको जुन मिटर प्रयोग भइरहेको छ त्यसैलाई प्रयोग गर्ने भनेर सहमति भएको थियो । तर, त्यहाँ त्यस्तो भइरहेको रहेछ, पहिले थाहा भएन । यो कुरामा मलाई अफसोच छ ।

म्यानेजरद्वारा गल्ती स्वीकार

कनकमणिले किनेको जग्गा र त्यसभित्रको भवन गोविन्द घिमिरेले हेर्दै आएका छन् । उनले बिजुली चोरी भएको स्वीकार गरे । ‘अग्लो डाँडामा भएकाले पानी लिफ्टिङ गर्नुपर्छ । त्यहाँ काम गर्नेहरुले हुकिङ गरेर मोटर चलाएका रहेछन् । जे भयो गल्ती भयो,’ उनले अनलाइनखबरसँग भने ।

आइतबार दिउँसो विद्युत प्राधिकरण र प्रहरीको टोलीले छापा मार्दा घिमिरे त्यहाँ थिएनन् । विद्युत प्राधिकरणका अधिकारीहरुले टेलिफोन गर्दा पनि उनले नउठाएको स्रोतले बतायो ।

यसअघि वडाअध्यक्ष पक्राउ परेका थिए

यसअघि काभ्रेमै विद्युत चोरी गर्ने मन्डनदेउपुरका वडाध्यक्ष पक्राउ परेका थिए । उनी जरिवानासहितको महशुल तिरेर रिहा भएका थिए ।

केही दिनअघि गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, गृहसचिव प्रेमकुमार राई, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललगायतको बैठकले विद्युत चोरी नियन्त्रणलाई परिणाममुखीरुपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो ।

यही आधारमा प्रत्येक जिल्ला प्रशासन कार्यालय र प्राधिकरणका शाखा कार्यालयले समन्वय गरी संयुक्तरुपमा चुहावट नियन्त्रणको कार्यायोजना बनाएर काम गरिरहेका छन् ।

प्राधिकरणले विद्युत चोरी नगर्न तथा मिटर जडान गर्न आग्रह गर्दै माइकिङ गर्ने, प्रशासनको सहयोगमा हुकिङ हुने क्षेत्रमा अपरेसन सञ्चालन गर्ने लगायतका काम अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?