Comments Add Comment

मौलाकालिकामा मर्निङ वाक गर्नेदेखि भारतीय पर्यटकसम्म

वर्षमा ५ लाखले गर्छन् भ्रमण

१९, असार, चितवन । पछिल्लो समयमा नवलपुरको मौलाकालिका मन्दिरमा भक्तजन बढ्दै गएका छन् । गैंडाकोट नगरपालिकामा पर्ने यो मन्दिरमा पछिल्ला बर्षहरुमा देशका विभिन्न भागबाट भक्तजनहरु गाडी रिर्जभ नै गरी आउने क्रम बढेको छ ।

मौलाकालिका मन्दिरप्रतिको जनविश्वास र चितवन र नवलपुर आएकाहरुले गर्ने प्रचारका कारण हरेक बर्ष भक्तजनहरु बढ्दै गएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाले जानकारी दिए । रमणीय र शान्त डाँडाको टुप्पोमा रहेको मन्दिरबाट देखिने मनमोहक दृश्यले पटकपटक भक्तजनहरुलाई तानिरहेको छ ।

सातामा करिब १५ हजारले मन्दिरको दर्शन गर्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सापकोटा बताउँछन् । उनले एक वर्षमा पाँचलाख धर्मावलम्बीले मन्दिरको दर्शन गरेको बताए । विशेषतः शनिबार र बिदाका दिन मन्दिरमा तीर्थालुको घुइँचो लाग्ने गरेको छ । हरेक बिहान ‘मर्निङ वाक’ गर्नेहरूको ठूलै भीड मन्दिरमा हुने गरेको छ ।

धार्मिक पर्यटकीय क्षेत्ररुपमा विकास हुँदै गइरहेको मन्दिरमा केबलकार सञ्चालनका लागि पहल थालिएको छ । नवलपुरको शाश्वत धाम, मौलाकालिका र देवघाटलाई जोडेर एकीकृत रुपमा पर्यटन भिर्‍याउने पहल समेत थालिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सापकोटाले बताए ।

नवलपरासी, चितवन, मकवानपुर, धादिङ, तनहुँलगायतका जिल्ला र भारतबाट धेरै भक्तजन आएका सापकोटाले बताए । मन्दिर आउने पर्यटकमध्ये पाँच प्रतिशत पर्यटक भारतीय रहेका छन् । मन्दिरमा ‘मर्निङ वाक’ गर्ने देखि मन्दिर दर्शन गर्ने तीर्थालुको दैनिकजसो भीड नै लाग्ने गर्छ ।

पूर्वपश्चिम राजमार्गमा पश्चिम बुटवलतर्फ नारायणी नदीको पुल पार गर्ने बित्तिकै नवलपुर जिल्ला सुरु हुन्छ । ५०० मिटर अगाडि बढेपछि दायाँ जाने पिच सडक छ । त्यो बाटो छिचोल्दै करिब दुई किलोमिटर पर पुगेपछि सवारी साधनले विश्राम पाउँछ । फेदीदेखि करिब एक हजार ७०० खुडि्कला ४० मिनेट उकालो चढेपछि मौलाकालिका मन्दिरमा पुगिन्छ ।

उकालोमा ढुंगे सिँढी लगाइएको छ । बाटोमा गणेश मन्दिर, सालको जंगल र ठाउँ-ठाँउमा चौतारी छन् । उकालो चढ्दा लागेको थकाइ शिलत चांतारीका ढुंगामा बसेर सुस्ताउँदा मेटिने गर्दछ । कोलाहल र भीडभाडबाट एकैछिन भए पनि फरक खालको प्राकृतिक दृश्यावलोकन र आनन्द यहाँ मिल्छ । बाटोमा जाँदा प्यास लागे पानी पिउन धारा छन् । चारैतर्फको मनमोहक दृश्यले उकालो चढेको पत्तै पाइँदैन भने थकान आफैं कम हुन्छ ।

तनहुँको दमौलीबाट आएका राजु खड्काले मन्दिरमा आएपछि छुट्टै आनन्द र शान्तिको महसुस भएको अनुभव सुनाए । उनले मौलाकालिकाबाट देखिने पवित्र देवघाट धाम, कलकल बगेकी नारायणी, सुन्दर नारायणगढ बजार र अर्कोतर्फ गैंडाकोटका सुन्दर फाँटले सबैको मन लोभ्याउने बताए ।

२०५३ सालमा बनेको मन्दिरको १५ सय ७५ देखिको इतिहास छ । गैडाकोट नगरपालिका १ मा अवस्थित यो मन्दिर पाल्पाका राजा मुकुन्द सेनले बनाएका हुन् । १९९० सालको भूकम्पले पुरानो मन्दिर ध्वस्त भएपछि प्यागोडा शैलीमा फेरि बनाइएको हो ।

करिब पाँच सय वर्षपहिले पाल्पा राज्यका बेलाको सैनिक टुकुटीले मौला राखेर शक्तिपीठको पूजा गर्ने भएकाले मन्दिरको नाम मौलाकालिका राखिएको मन्दिरका प्रमुख सल्लाहकार तथा पूर्वडीआईजी ज्ञानेन्द्रविक्रम महत बताउँछन् । मन्दिरमा सफा मनले पूजा गरे मनको इच्छा पूरा हुने जनविश्वास रहेको उनले बताए । करिब २० वर्षयता मात्रै मन्दिरमा भौतिक संरचनाको विकास गरेर पर्यटक भिर्‍याउन थालिएको महतको भनाइ छ ।

मन्दिरमा बासको पनि व्यवस्था

मौलाकालिका मन्दिरमा गएर रात विताउने समेत व्यवस्था गरिएको छ । मन्दिरमा जाने र बस्न चाहने जो कोहीलाई पनि निशुल्क भोजनसहित सुत्ने व्यवस्था मिलाइएको छ । मन्दिरको तल्लो भागमा आकर्षक कोठाहरु निर्माण गरिएका छन् । हलको समेत व्यवस्था छ । सानातिना बैठक र भेलाहरु यहाँ गर्न सकिने अध्यक्ष सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment