Comments Add Comment

ठूलो अवसरनजिक स्वीडेन र स्वीट्जरल्याण्ड : कसले मार्ला बाजी ?


काठमाडौं । विश्वकपमा स्वीडेन र स्वीट्जरल्याण्डको अघि यसपटक ठूलो अवसर छ । क्वार्टरफाइनलमा पुग्ने यो भन्दा राम्रो अवसर दुवैका लागि सायदै आउला । अन्तिम १६ को खेलमा स्वीडेन र स्वीट्जरल्याण्ड मंगलबार राति पौने ८ बजे खेल्दै छन् ।

१२ औं पटक विश्वकप खेलिरहेको स्वीडेन सन् १९९४ मा तेस्रो भएपछि क्वार्टरफाइनलमा पनि पुगेको छैन । त्यसअघि सन् १९५८ मा दोस्रो भएको स्वीडेन १९५० मा तेस्रो र १९३८ मा चौथो भएको थियो ।

११ औं पटक विश्वकप खेलिरहेको स्वीट्जरल्याण्ड १९५४ पछि क्वार्टरफाइनलमा पुग्न सकेको छैन । त्यसअघि १९३४ र १९३८ मा पनि स्वीट्जरल्याण्ड क्वार्टरफाइनलमा पुगेको थियो ।

स्वीडेन र स्वीट्जरल्याण्ड यसपटक लयमा पनि देखिएका छन् । समूह ‘ई’ को उपविजेता बनेको स्वीट्जरल्याण्डले ब्राजिलसँग १-१ को बराबरी, सर्बियासँग २-१ को जित र कोस्टारिकासँग २-२ को बराबरी खेलेको थियो ।

यस्तै समूह चरणमा दक्षिण कोरियालाई १-० ले हराएको स्वीडेन जर्मनीसँग २-१ ले हारेको थियो भने अन्तिम खेलमा मेक्सिकोलाई ३-० ले हराएर समूह ‘एफ’ को विजेता बन्दै अन्तिम १६ मा आएको थियो ।

स्वीडेन समूह चरणमै खेलाएका खेलाडीलाई स्वीट्जरल्याण्डविरुद्ध सुरुवाती ११ मा खेलाउने तयारीमा छ । तर, मिडफिल्डर सेबास्टियन लार्सन एक खेलको प्रतिबन्धमा रहेकाले उनको स्थानमा ओस्कार हिलेजमार्क अथवा गुस्तभ भेन्सनलाई खेलाइने छ ।

स्वीट्जरल्याण्डका फाबियन स्चर र कप्तान स्टेफन लिच्ट्सटेनर दुवै खेलाडी एक खेलको प्रतिबन्धमा रहेका छन् । उनीहरुको स्थानमा माइकल लाङ र जाहोन डेजुरुलाई खेलाइने तयराी छ ।

प्रमुख प्रतियोगितामा स्वीडेन र स्वीट्जरल्याण्डबीच पहिलोपटक भेट भएको हो । अन्तिम पटक सन् २००२ मा भएको मैत्रीपूर्ण खेल भने १-१ को बराबरीमा सकिएको थियो ।

विश्वकपमा यो स्वीडेनको ५० औं खेल हो । यसअघि १८ खेलमा जित, १३ खेल बराबरी र १८ खेल नै हारेको स्वीडेन धेरै खेल खेलेर विश्वकप नजित्ने टिममा मेक्सिकोभन्दा पछि रहेको छ ।

सन् १९५४ पछि विश्वकप नकआउट चरणमा स्वीट्जरल्याण्डले गोल गर्न सकेको छैन । त्यतिबेला क्वार्टरफाइनलमाम स्वीट्जरल्याण्ड अष्ट्रियासँग ७-५ ले हारेको थियो । त्यसपछि सन् १९५४, २००६ र २०१४ मा अन्तिम १६ मा पुगेको स्वीट्जरल्याण्डले गोल नै गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment